चितवन–३ मा रास्वपाकी सोबिता ३८ हजारभन्दा बढी मतान्तरले विजयी

रेणु दाहालले २० हजार ६१५ मत ल्याइन्

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम ३८ हजारभन्दा बढी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।
निर्वाचन अधिकृतको कार्यालय चितवनका अनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार रेणु दाहालले २० हजार ६१५ मत ल्याइन् । यससँगै गौतम ३८ हजार ६६२ मतान्तरले विजयी भएकी हुन् ।

अन्य उम्मेदवारमध्ये नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ८ हजार ३४४ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का शंकर थपलियाले ५ हजार ४ मत पाएका छन् ।
यस क्षेत्रको नतिजाले अघिल्लो निर्वाचनको परिणामलाई पूर्ण रूपमा उल्ट्याएको छ । 

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विक्रम पाण्डे ३५ हजार ६० मत ल्याएर विजयी भएका थिए । तर यसपटक सोही पार्टीका उम्मेदवार दीपक थापा मगरले जम्मा १ हजार २२६ मत मात्र प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा विजयी भएको दल राप्रपा यहाँ निकै कमजोर देखिएको छ भने रास्वपाकी गौतमले अत्यधिक मतान्तरसहित जित निकाल्दै चितवन ३ मा रास्वपालाई स्थापित गरेकी छन् । चितवन–३ मा कुल १ लाख ५३ मत खसेको थियो ।
 

सुझावित समाचार