चुनावको दिन हेलिकोप्टरमार्फत १५ उडान

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण
  • कांग्रेस सभापति गगन थापा, रास्वपाका वरिष्ठ नेता बालेन शाह र नेकपा संयोजक प्रचण्डसहित कम्तीमा ६० यात्रुले उडान गरे 
  • निर्वाचन आयोगको अनुमति लिएर उम्मेदवार र पर्यटकका सातवटा चार्टर्ड र आठवटा उद्धार उडान 

बिहीबार चुनावका दिन निर्वाचन आयोगको अनुमति लिएर १५ वटा हेली उडान भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसमध्ये आठवटा उद्धार र सातवटा चार्टर्ड उडान भएको प्राधिकरणको तथ्यांक छ । चार्टर्ड उडानमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह, कांग्रेस सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ओहोरदोहोर गरेका छन् भने तीनवटा पर्यटककेन्द्रित सटल उडान भएको उल्लेख छ ।

निर्वाचनको दिन बेसक्याम्प हेली, हेली एभरेस्ट, माउन्टेन हेली, अल्टिच्युड एयर, एयर डाइनेस्टी, सिम्रिक एयर र कैलाश हेली रहेका छन् । यी हेलिकोप्टरले काठमाडौंबाट भोजपुर, सर्लाही, रुकुम पूर्व, ओखलढुंगा, पोखरा, पेरिचे, चुकुङलगायत स्थानमा उडान गरेका हुन् ।

बेसक्याम्पमा हेलीले तीनवटा रेस्क्यु उडान गरेको प्राधिकरणले जनाएको छ । ती उडानमा काठमाडौं–वीरगन्ज–काठमाडौं, काठमाडौं–ह्याम्स अस्पताल–बुटवल–ह्याम्स–काठमाडौं तथा काठमाडौं–ह्याम्स अस्पताल–मणिपाल अस्पताल–ह्याम्स–काठमाडौं रुट प्रयोग गरिएको छ । यी सबै उडानमा पाँच–पाँचजना यात्रु थिए ।

हेली एभरेस्टले दुई उडान गरेको छ । यसमध्ये एउटा चार्टर्ड उडान काठमाडौं–चन्द्रगढी एयरपोर्ट (भद्रपुर)–जनकपुर–काठमाडौं क्षेत्रमा पाँचजना यात्रु थिए । यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका झापा ५ मा उम्मेदवार बालेन्द्र शाहसहित पाँचजना यात्रु सवार थिए । हेली एभरेस्टको अर्को रेस्क्यु उडान विराटनगर–भोजपुर–मेडिसिटी अस्पताल–विराटनगर रुटमा दुईजना यात्रु थिए । 

माउन्टेन हेलीले सर्लाही क्षेत्रतर्फ दुई यात्रु बोकेर एक चार्टर्ड उडान गरेको छ । जसमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही ४ का उम्मेदवार थिए । अल्टिच्युड एयरले काठमाडौं–भरतपुर–रुकुम पूर्व–पोखरा–काठमाडौं रुटमा पाँच यात्रुसहित एक चार्टर्ड उडान गरेको विवरण छ । उक्त उडानमा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यात्रा गरेका थिए । उनले चितवनकी उम्मेदवार रेनु दाहालको निर्वाचन क्षेत्र अवलोकन गरी आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्नसमेत हेलिकोप्टर प्रयोग गरेका थिए । 

त्यस्तै, एयर डाइनेस्टीले अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा दुईपटक ‘सटल’ चार्टर्ड उडान गरी आठ यात्रु बोकेको छ । सिम्रिक एयरले तीन उडान गरेको छ । तीमध्ये दुई चार्टर्ड उडान अन्नपूर्ण क्षेत्रतर्फ भएका छन् भने एउटा रेस्क्यु उडान विराटनगर–मणिपाल अस्पताल रुटमा भएको छ ।

कैलाश हेलीले पनि चार उडान गरेको छ । तीमध्ये एक चार्टर्ड उडान पेरिचे क्षेत्रमा भएको छ । त्यस्तै, ओखलढुंगा, चुकुङ र मेडिसिटी अस्पतालसँग सम्बन्धित तीन रेस्क्यु उडान गरिएको विवरणमा उल्लेख छ । प्राधिकरणका अनुसार चुनावको दिन भएको हेलिकोप्टर उडानमार्फत कम्तीमा ६० जना यात्रुले सेवा लिएका छन् । निर्वाचनको दिन भएकाले नियमित उडान सीमित रहे पनि आपत्कालीन उद्धार र चार्टर्ड उडान भने जारी रहेको प्राधिकरणले जानकारी दिएको छ ।

सुझावित समाचार