- भाषा हराउनु भनेको संवादको माध्यम हराउनु मात्र होइन, समुदायको पहिचान, परम्परा, ज्ञान, सोच्ने तरिका, इतिहास पनि हराउँदै जानु हो
प्रविधिको विकाससँगै मानिसको दैनिक जीवनमा धेरै सहजता थपिएको छ । अन्य पक्षसँगै प्रविधिले मातृभाषा संरक्षण र विकासमा पनि केही हदसम्म टेवा पुर्याएको छ । गुगल ट्रान्सलेटले करिब एक हजार भाषा अनुवाद गर्छ । जसमध्ये नेपाली भाषासँगै नेपाल भाषा, मैथिलीलाई पनि गुगलले अनुवाद गर्छ । नेपालका यी भाषाहरूपछि तामाङ भाषाले भने प्रक्रिया पूरा गर्दै छ ।
तामाङ भाषा वैशाखसम्म गुगल अनुवादमा जाँदै छ । यसका लागि एक लाख वाक्य लक्षित गरिएकोमा काठमाडौं विश्वविद्यालयको प्राविधिक टोलीले तयार गरेको वेबसाइटमा ५० हजार तामाङ शब्दहरूले प्रवेश पाइसकेको छ । गुगल रिसर्चका लागि ‘गुगल त्रैभाषिक मिसिन अनुवाद परियोजना’को प्रारम्भिक उद्घाटन पुस ११ गते गरिएको थियो । तामाङ–नेपाली–अंग्रेजी भाषाहरू बिचको अन्तरअनुवादका लागि यो परियोजना सक्रिय छ ।
नेपालका करिब १४ लाखभन्दा बढीले बोल्ने तामाङ भाषा गुगल अनुवाद सेवामा प्रवेश पाएमा तामाङ भाषा विश्व भाषा मञ्चमा उपलब्ध हुने भाषाविद्हरूले बताएका छन् । हालसम्म नेपाली भाषाका अतिरिक्त मैथिली (सन् २०२२) र नेपाल भाषा (सन् २०२४)ले गुगलमा प्रवेश पाइसकेको छ । तामाङ भाषा गुगलमा प्रवेशसँगै विश्वका जुनसुकै स्थानमा बसोवास गरिरहेका व्यक्तिले तामाङ–नेपाली, नेपाली–तामाङ, तामाङ–अंग्रेजी र अंग्रेजी–तामाङ अन्तरअनुवाद गर्न सक्नेछन् ।
मातृभाषाले बालबालिकाको सिकाइ, क्षमता, आत्मविश्वासजस्ता कुरालाई बलियो बनाउँछ । प्रविधिको दुनियाँमा मातृभाषा प्रवेश गर्दा कमजोर हुन्छ वा बलियो ?, प्रविधिले भाषा बोल्न प्रेरित गर्छ वा गर्दैन ?, मातृभाषाको विकास र संरक्षणमा यसले सकारात्मक प्रभाव पार्छ कि नकारात्मक ? नेपालको सन्दर्भमा यस्ता प्रश्न भने वेलावेला उठ्ने गरेका छन् ।
२०७८ को जनगणनाअनुसार नेपालमा १२४ वटा भाषा छन् । सबैभन्दा धेरै नेपाली मातृभाषी एक करोड ३० लाख ८४ हजार ४५७ (४४.८६ प्रतिशत) छन् । त्यसैगरी, दोस्रोमा मैथिली (११.०५ प्रतिशत), तेस्रोमा भोजपुरी (६.२४ प्रतिशत), चौथोमा थारू (५.८८ प्रतिशत) र पाँचौँमा तामाङ (४.८८ प्रतिशत) बोल्नेको संख्या रहेको छ । भाषा आयोगको रिपोर्ट (२०७८) अनुसार कुसुन्डा, दुरा, बाराम, लुङ्खिम, तिलुङ, सुरेल, राउटे, राजी, बोटे, काइके, छन्त्याल, हायुजस्ता १२ भाषा लोपोन्मुख छन् ।
उतारचढाव
नेपालको बहुभाषिक चरित्रलाई सम्बोधन गर्नका लागि धारा २८७ मा भाषा आयोगको व्यवस्था छ । मातृभाषामा शिक्षा लिन पाउने हकलाई स्थापित गरेको छ । धारा ५१ (ग)मा बहुभाषिक नीति अवलम्बन गरिनेछ भनेर बहुभाषिकतालाई आत्मसात् गरेको छ । नेपालको संविधानले देवनागरिक लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा भनेको छ । संविधानका अनुसार नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन् । बागमती प्रदेशले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा कायम गरेको छ ।
युनेस्कोको रिपोर्टअनुसार विश्वमा करिब सात हजार भाषाहरू बोलिन्छन् । हरेक दुई हप्तामा एक भाषा हराउँदै छ । भाषा हराउनु भनेको संवादको माध्यम हराउनु मात्र होइन, समुदायको पहिचान, परम्परा, ज्ञान, सोच्ने तरिका, इतिहास पनि हराउँदै जानु हो । नेपालमा पनि मातृभाषा बोल्नेको संख्यामा उताढचढाव आएको देखिन्छ । नेपालमा बोलिने मुख्य भाषाको तथ्यांकलाई हेर्ने हो भने त्यो प्रस्ट हुन्छ । तथ्यांक कार्यालयको तथ्यांकअनुसार सन् १९८१ ताका बोलिने भाषाको संख्या सन् २०११ मा आइपुग्दा वृद्धि हुन सकेको छैन ।
भाषामा बिस्तारै समस्या आउने
प्रविधिको विकासले मातृभाषा संरक्षणमा र विकासमा टेवा पुग्ने कतिपय मातृभाषी अभियन्ता र भाषाविद्हरू बताउँछन् । भाषाविद् अमृत योञ्जन प्रविधिको विकासले मातृभाषालाई विश्वका जुनसुकै ठाउँमा सहज रूपमा पुर्याउन सकिने र मातृभाषा विकासमा मलजल हुने दाबी गर्छन् । ‘प्रविधिको विकाससँगै मातृभाषा विकास र संरक्षण हुने कुरामा आशावादी छु,’ भाषाविद् योञ्जन भन्छन्, ‘प्रविधिकै कारण अहिले तामाङ भाषा घर, परिवार, गाउँमा नबोले पनि चाहेको वेलामा अनलाइन प्लाटफर्मबाट सिक्न सिकाउन सकिने अवस्थामा पुगेका छौँ ।’ उनका अनुसार तामाङ भाषा वैशाखसम्म गुगल अनुवादमा जाने निश्चित हुनु भनेको मातृभाषामा बोल्न र सिक्न चाहनेहरूका लागि ठुलो अवसर हो ।
‘हामीले विश्वव्यापी प्लाटफर्मको प्रयोग गर्नुपर्छ । संसारको जुनसुकै कुनामा बसेर तामाङ भाषा चाहिएको वेलामा आफ्नै मोबाइलबाट प्रयोग गर्न सक्ने हुनुपर्छ । त्यो हुँदै छ । अहिले सबै ज्ञान अनलाइन प्रणालीमा गएको हुनाले त्यहाँ जानुपर्छ,’ योञ्जन भन्छन् । प्रविधिले भाषालाई मजबुत नै बनाएको सरोकारवालाहरू बताउँछन् । ‘भविष्यमा प्रविधिको भूमिका के हुने ? एआईको भूमिका के हुने ? हाम्रो हातमा रहेन । तर, यी प्लाटफर्मले भाषाको विकासमा टेवा पुर्याउन सक्छ । हात–हातमै पुर्याउने भएकाले यसले फाइदा नै गर्छ,’ योञ्जन भन्छन् । भाषा आयोगका सदस्य सुरेश किरण पनि प्रविधिको विकाससँगै देखिएका विभिन्न प्लाटफर्मका कारण मातृभाषा बलियो हुन थालेको बताउँछन् । प्रविधिकै कारण हाल गुगलबाट नेपाल भाषामा लेखिएको सामग्री संसारको करिब ६० भाषामा अनुवाद हुन्छ । गुगल अनुवादमा अब नेपाल भाषालाई अक्षरबाट आवाजमा लैजाने गरी समेत तयारी भइरहेको उनले जानकारी दिए । तीन वर्षअघि नेपाल भाषा एकेडेमीले नेवा सांस्कृतिक ज्ञान कोष भनेर इन्साइक्लोपेडिया निकालेको छ । यो इन्साइक्लोपेडिया नेवाः समुदायको भाषा, कला, साहित्यसँग सम्बन्धित भएर पाँच भोल्युममा प्रकाशित गरेको छ । ‘इन्साइक्लोपेडियालाई डिजिटाइज्ड गरेर संसारका ६० भाषामा अनुवाद गर्ने भएको छ । यस्ता काम गर्न सक्नु भनेको प्रविधिको फाइदा हो,’ किरण भन्छन् ।
प्रविधिले अहिले सजिलो बनाए पनि भविष्यमा चुनौतीका चाङ आउन सक्ने सम्भावना किरण देख्छन् । ‘प्रविधिको विकासले भाषाविज्ञहरूमा चिन्ता देखिएको छ,’ उनी भन्छन्,‘गुगल ट्रान्सलेटले नेपाल भाषा अनुवाद त गर्छ । तर, कतै–कतै टोनले पनि फरक पार्छ । भाषामा शब्द मात्र होइन । उच्चारण गर्ने कार्यले फरक पार्छ । प्रविधिले यसलाई घटाउन सकेको छैन । बिस्तारै यो काम पनि होला ।’ उनी भाषासँग सम्बन्धित सबै कुरा अब विज्ञको हातबाट फुत्किएर मेसिनको हातमा गएको दाबी गर्दै यो मुख्य चुनौती भएको बताउँछन् । ‘मातृभाषा मेसिनको हातमा गयो भन्नुको अर्थ मेसिन कुनै कम्पनीले निर्माण गर्छ । त्यसैले भाषाको सबै कुरा कम्पनी र व्यवसायीको हातमा जाने भयो । भोलि यो चिन्ता नेपाल भाषामा पनि देखिन सक्छ । अरू मातृभाषाको हकमा पनि विभिन्न समस्या आउन सक्छ,’ किरणले भने ।
संस्कृतिकर्मी तथा सञ्चारकर्मी रूपा झा विभिन्न अनलाइन प्लाटफर्मले मातृभाषाका लागि केही हदसम्म फाइदा पुर्याए पनि खुसी हुने अवस्था नरहेको बताउँछिन् । ‘प्रविधिले मातृभाषाको विकासमा टेवा पुर्याएजस्तो लाग्दैन । जो प्रविधिमा दखल राख्नुहुन्छ उहाँले प्रयोग गर्न सक्ने भयो । तर, जसलाई अनलाइन प्लाटमर्फ प्रयोग गर्न आउँदैन । जो अशिक्षित छन्, उनीहरूका लागि थप बोझिलो हुने देखिन्छ,’ उनी भन्छिन्, ‘प्रविधिको ज्ञान नभएकाले गुगलले जे गरिदियो त्यही ठिक भन्ने हुनेभयो । त्यसमा अर्थको अनर्थ लाग्न सक्ने अवस्था पनि रहन्छ । त्यसैले प्रविधिको विस्तारसँगै चुनौती पनि थपिएको देखिन्छ ।’ उनका अनुसार एआईको राम्रो प्रयोग गर्न जान्यौँ भने उपयोगी हुन सक्छ, जानेनौँ भने नराम्रो पनि हुन सक्छ ।