मध्यपूर्वको उडान प्रतिबन्धको असर : टिकट ‘कन्फर्म’ भएपछि मात्रै विमानस्थल आउन आग्रह

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

मध्यपूर्व क्षेत्रमा जारी उडान प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भइरहेका वेला यात्रुलाई टिकट कन्फर्म गरेर मात्रै विमानस्थल आउन आग्रह गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गतको नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै मध्यपूर्व क्षेत्रमा केही उडान बन्द तथा रद्द भइरहेकाले यात्रुले सावधानी अपनाउनुपर्ने जनाएको हो ।

कार्यालयका अनुसार केही वायुसेवाले मध्यपूर्वका विमानस्थलबाट नेपालसम्म सीधा उडान तथा नेपालबाट त्यही विमानस्थलसम्म मात्रै जाने सीमित उडान सञ्चालन गर्ने तयारी गरेका छन् । यस्ता उडान विशेष गरी मध्यपूर्वमा अलपत्र परेका यात्रुलाई लक्षित गरी सञ्चालन गरिने जनाइएको छ ।

तर, ती उडान तेस्रो मुलुकतर्फ जाने ट्रान्जिट यात्राका लागि भने प्रयोग गर्न नपाइने बताइएको छ । त्यसैले मध्यपूर्वका देशहरूबाट वा ती देश हुँदै तेस्रो मुलुक यात्रा गर्ने यात्रुले सम्बन्धित वायुसेवासँग सम्पर्क गरी आफ्नो बुकिङ कन्फर्म भएपछि मात्रै विमानस्थल आउन कार्यालयले आग्रह गरेको छ । नागरिक उड्डयन कार्यालयले उडानतालिका र यात्रा व्यवस्थापनबारे पछिल्लो जानकारी सम्बन्धित वायुसेवाबाट बुझेर मात्रै यात्रा योजना बनाउन पनि सबै यात्रुलाई अनुरोध गरेको छ ।

रद्द उडानको रकम फिर्ता पाइने
मध्यपूर्वी तनावका कारण रद्द भएकाले प्रभावित यात्रुको टिकटको पूर्ण रकम फिर्ता पाइने भएको छ । हिमालयन एयरलाइन्सले निलम्बित उडानका लागि पूर्ण फिर्ता वा नि:शुल्क पुन: मान्यता सुविधा उपलब्ध गराइएको जनाएको छ । 

मध्यपूर्व गन्तव्यहरू दुबई, दमाम र दोहातर्फका हाम्रा सबै उडान हवाई क्षेत्र बन्द (एयरस्पेस क्लोजर)का कारण अस्थायी रूपमा रद्द भएकाले प्रभावित यात्रुलाई आफ्नो टिकटको पूर्ण रकम फिर्ता वा नि:शुल्क पुन: प्रमाणीकरण गर्ने सुविधा उपलब्ध गराइएको जनाइएको छ । 

पुन: मान्यता गरिएको यात्रा उडान पुन: सञ्चालन भएको मितिबाट ३५ दिनभित्र सम्पन्न गरिसक्नुपर्ने भनिएको छ । एयरलाइन्सले भनेको छ, ‘पूर्ण फिर्ता वा नि:शुल्क पुन: मान्यता प्राप्त गर्नका लागि कृपया एयरलाइन्सको कार्यालय वा सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ ।’

युएईका तीन विमानस्थलबाट सीमित उडान
मध्यपूर्व क्षेत्रमा देखिएको उडान अवरोधका कारण संयुक्त अरब इमिरेट्स (युएई)का केही विमानस्थलबाट हुने उडानतालिका प्रभावित भएको छ । यात्रुलाई आफ्नो उडानको अवस्था बुझेर मात्रै विमानस्थल जान आग्रह गरिएको छ ।आबुधाबीस्थित नेपाली दूतावासले जारी गरेको सूचनाअनुसार हालको उडान अवरोध (फ्लाइट डिसरप्सन)का कारण युएईका तीन विमानस्थलबाट बिहीबार र शुक्रबारका केही उडानको तालिका सार्वजनिक गरिएको छ । जाएद इन्टरनेसनल एयरपोर्ट शुक्रबार बिहान उडान हुने तालिका रहेको छ । दुबई इन्टरनेसनल एयरपोर्टबाट बिहीबार साँझ उडान हुने जानकारी दिइएको छ । 

See More On

सुझावित समाचार