घन्टी चिह्नमा खसेका सबै मत बदर गर्नुपर्ने विवादले धनुषा १ मा मतगणना रोकियो

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

धनुषा १ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु हुन सकेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएपछि घन्टी चुनाव चिह्नमा खसेको मतलाई लिएर विवाद उत्पन्न भएको हो।

कांग्रेस, एमाले तथा नेकपासहितका दलका प्रतिनिधिहरूले उम्मेदवारी खारेज भइसकेको अवस्थामा घन्टी चिह्नमा खसेका सबै मत बदर गर्नुपर्ने अडान राखेका छन्। तर, रास्वपाले उक्त मत बदर गर्न नमिल्ने भन्दै आपत्ति जनाएको छ। उम्मेदवार साहले भने आयोगाको निर्णयको विरुद्ध सर्वोच्च अदालतमा उजुरी दिएका छन् । 

विवाद बढेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगसँग औपचारिक राय मागेको छ। आयोगबाट स्पष्ट निर्देशन आएपछि मात्रै मतगणना प्रक्रिया सुरु गरिने जनाइएको छ। यसअघि निर्वाचन आयोगले भने उम्मेदवारी खारेज भइसकेको अवस्थामा सो चुनाव चिह्नमा खसेका मत बदर हुने बताइसकेको छ।
 

सुझावित समाचार