झापामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला निर्वाचन कार्यालय झापाले जिल्लाभर ६५ प्रतिशत मत खसेको जनाएको छ। झापा ५ मा भने सबैभन्दा धेरै ७० प्रतिशत मत खसेको अनुमान गरिएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए।
यो निर्वाचन क्षेत्रमा प्रधानमन्त्रीका दुई फेस एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहसहित २४ जना चुनावी मैदानमा छन्। झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धामा रहेकाले यो क्षेत्र इलेक्सन इपिसेन्टर बनेको छ।
पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार जनमत परीक्षणका लागि चुनावी मैदानमा छन्। यहाँ तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता थिए।
झापामा शान्तिपूर्ण मतदान सम्पन्न पछि अहिले मुचुल्का उठाउने र मतपेटिका सिलबन्दी गर्ने काम भइरहेको निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले जानकारी दिए।