संविधानको रक्षा र स्थिरताका लागि लोकतान्त्रिक शक्तिलाई रोज्न पूर्वराष्ट्रपति यादवको अपिल

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

पूर्वराष्ट्रपति रामवरण यादवले जारी निर्वाचनलाई संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि विवेकपूर्ण मतदान गर्न आग्रह गरेका छन्। लक्ष्मीनियाँ गाउँपालिका– ४ स्थित बिपी कोइराला माध्यमिक विद्यालय, सपही मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान जोगाउन सक्षम र युवाको आकांक्षा सम्बोधन गर्न सक्ने लोकतान्त्रिक शक्तिलाई विजयी गराउनुपर्ने बताएका हुन्।

उनले मूलतः ०८४ मा हुनुपर्ने निर्वाचन विषम परिस्थितिका कारण ०८२ मै हुन लागेको उल्लेख गर्दै वर्तमान परिस्थितिमा मतदाताको भूमिका झनै महत्त्वपूर्ण बनेको धारणा राखे। यादवले  भने, ‘देश विषम अवस्थाबाट गुज्रिरहेको छ। यस्तो वेला शान्तिपूर्ण निर्वाचन सम्पन्न भई स्थिरता सुनिश्चित गर्ने जनमत आउनु आवश्यक छ।’
पूर्वराष्ट्रपति यादवले नेपालको संविधान ऐतिहासिक जनआन्दोलनहरूको उपलब्धि भएको उल्लेख गर्दै वि.सं. ००७, ०४६ र ०६२/६३ का आन्दोलनसँगै मधेश आन्दोलनको योगदान स्मरण गरे। संघीय लोकतान्त्रिक, समावेशी र समानुपातिक चरित्रलाई अझ सुदृढ बनाउन सही नेतृत्व चयन अपरिहार्य रहेको उनको भनाइ थियो।

भदौ २३ र २४ मा भएको ‘जेन–जी विद्रोह’काे प्रसंग उल्लेख गर्दै उनले युवाका मागलाई समयमै सम्बोधन गर्न नसक्दा असन्तोष चर्किएको बताए। यद्यपि, त्यसक्रममा आगजनी र अस्थिरता फैलाउने गतिविधि प्रतिगामी शक्तिबाट भएको आरोप लगाउँदै उनले लोकतन्त्र र संविधानमाथि खतरा उत्पन्न हुन नदिन सचेत रहनुपर्नेमा जोड दिए। पूर्वराष्ट्रपति यादवले अन्ततः निर्वाचन सफल भई देशमा शान्ति, स्थिरता र लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरण हुने विश्वास व्यक्त गरे।

सुझावित समाचार