सरकारले घरजग्गा कारोबार गर्ने कम्पनीलाई लाइसेन्स वितरण गरे पनि यो व्यवस्था तत्कालका लागि स्थगित भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मालपोत ऐन, २०३४ को दफा २६ ‘क’अनुसार घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाबमोजिम सरकारले २७ असोजमा राजपत्रमा प्रकाशित सूचना गरी महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र प्राकृतिक र कानुनी व्यक्ति वा कानुनी व्यक्तिहरूबिच घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।
लिखत पारित गर्दा महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्रको तीन करोडभन्दा माथिको थैली अंक भएको घरजग्गा कारोबारसम्बन्धी लिखत २५ फागुनदेखि अनिवार्य रूपमा इजाजतपत्रप्राप्त कम्पनी तथा संघ–संस्थामार्फत मात्र गर्ने–गराउने व्यवस्था गरिएको थियो ।
तर, मालपोत नियमावली, २०३६ (आठौँ संशोधन २०८२) को नियम २३ ‘ठ’मा इजाजतपत्रप्राप्त व्यक्तिले सोही नियमावलीको २३ ‘क’बमोजिमको भू–सेवा केन्द्र सञ्चालन गरी भू–सूचना प्रणालीको माध्यमबाट घरजग्गासम्बन्धी कारोबार गर्नुपर्ने कानुनी व्यवस्था छ ।
लाइसेन्स पाएका कम्पनीले भू–सेवा केन्द्रको सञ्चालन अनुमति नलिएसम्मका लागि यो व्यवस्थालाई स्थगित गरिएको हो । ‘भू–सेवा केन्द्र सञ्चालन गरी भू–सूचना प्रणालीका माध्यमबाट घरजग्गासम्बन्धी कारोबार गर्नुपर्ने कानुनी व्यवस्था भएकाले इजाजतपत्रप्राप्त व्यक्तिले भू–सेवा केन्द्र सञ्चालनको अनुमति नलिएसम्म यसअघि गरिएको परिपत्रको व्यवस्था अर्को आदेश नभएसम्म स्थगित गरिएकाले साबिकबमोजिम नै काम–कारबाही गर्न–गराउनुहुन आदेशानुसार अनुरोध छ,’ विभागको सूचनामा उल्लेख छ ।
माघमा खुम्चियो घरजग्गा किनबेच
पुसको तुलनामा माघमा घरजग्गा कारोबार खुम्चिएको छ । पुसमा देशभरका मालपोत कार्यालयबाट एक लाख ६२ हजार आठ सय ७७ वटा घरजग्गा कारोबार भएकोमा माघमा एक लाख ५३ हजार नौ सय २० वटा कारोबार भएको छ । नामसारी सेवा पुसमा ५१ हजार आठ सय ८८ रहेकोमा घटेर माघमा ५० हजार आठ सय ३७ पुगेको छ ।
त्यस्तै, संशोधन पाँच हजार ६ सय ५० बाट घटेर पाँच हजार पाँच सय ५८ कायम भएको छ । हाल साबिक (पुरानो अभिलेख अद्यावधिक) पनि २० हजार ६ सय ५१ बाट घटेर १९ हजार दुई सय ३८ बाट पुगेको छ ।
पुसमा रोक्का चार हजार एक सय ४३ रहेकोमा माघमा तीन हजार नौ सय १६ बाट पुगेको छ । फुकुवा ४० हजार आठ सय ३९ बाट घटेर ३५ हजार एक सय ३१ कायम भएको छ । अपार्टमेन्टको लिखत पारित पुसमा ३२ हजार नौ सय ९३ पुगेकोमा माघमा ३२ हजार पाँच सय ३३ पुगेको छ । जग्गा दर्ता भने २० बाट बढेर २९ पुगेको छ । दाखिल खारेज चार सय ४१ बाट बढेर सात सय ९८ पुगेको छ ।
मोही हक कायम दुई हजार ३५ बाट घटेर एक हजार नौ सय ५४ कायम भएको छ । मोहियानी हक नामसारी दुवै महिनामा एक–एक रहेको छ । मोही लगत कट्टा ८३ बाट घटेर ६२ पुगेको छ । जग्गा बाँडफाँट तीन सय ९४ बाट घटेर तीन सय २६ पुगेको छ ।
