नेपाल राष्ट्र बैंकले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाहेकका दिन परेका सार्वजनिक बिदामा बैंकिङ सेवा सञ्चालन गर्न पत्राचार गरेको छ ।
आमनिर्वाचनका सम्बन्धमा मन्त्रिपरिषद्द्वारा फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा भएको थियो । तथा ०८२ फागुन १८ गते हिमाली र पहाडी जिल्लालगायतका ५६ जिल्लामा तथा ०८२ फागुन १९ गते तराईका २१ जिल्लामा होली पर्व तथा फागुपूर्णिमाको सार्वजनिक बिदा थियो ।
उक्त सार्वजनिक बिदा अवधिमा बैंकिङ सेवा प्रवाह सञ्चालन गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरेका हुन् । मुलुकभरका मतदाताले एकैपटक मतदान गर्ने दिन (०८२ फागुन २१ गते)बाहेकको सो सार्वजनिक बिदा अवधिमा बैंकिङ सेवा प्रवाह र सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरूद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला गर्ने व्यवस्था मिलाउनुपर्नेछ । निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाद्वारा राजनीतिक दल तथा उम्मेदवारहरूको नगद वा चेक वा अन्य विनिमय साधनको दाखिला, भुक्तानीलगायतका बैंकिङ सेवा पनि सञ्चालनमा ल्याउन उल्लेख छ ।