यही २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरका दुवै क्षेत्रको मतगणना हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा गरिने भएको छ । मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार विद्यालयका दुई ब्लकमा छुट्टाछुट्टै मतगणना गरिनेछ । उनका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को मतगणना ‘ए’ ब्लक (उत्तरतर्फको भवन) मा हुनेछ भने क्षेत्र नम्बर २ को मतगणना ‘बी’ ब्लकमा गरिनेछ ।
उनका अनुसार मतगणनास्थललाई तारजालीले सुरक्षित गरी सिसिटिभी जडान गरिएको छ। दलका प्रतिनिधिलाई तारजालीबाहिर बस्ने व्यवस्था मिलाइएको छ भने मतगणनास्थलमा मोबाइल फोन प्रतिबन्ध गरिएको छ। मतगणनाको समयमा हुन सक्ने अराजक गतिविधि नियन्त्रणका लागि व्यवस्थित पारिएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताइन् । दुवै निर्वाचन क्षेत्रका मतगणनास्थलमा एकैपटक चार ठाउँमा मतगणना गर्न मिल्ने बताइएको छ।
सबै मतदान केन्द्रमा मतदान सम्पन्न भई मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मात्रै मतगणना सुरु गरिने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठको भनाइ छ । निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन गणनास्थलको सुरक्षा तथा अन्य व्यवस्थापनका काम अघि बढाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ।
जिल्लाका आठ केन्द्रका मतपेटिका छिमेकी जिल्लाबाट ढुवानी
मकवानपुरका आठ मतदान केन्द्रमा सिधा सडक पहुँच नभएकाले मतदान सामग्री ढुवानी तथा मतपेटिका संकलनका लागि छिमेकी जिल्लाको सडक प्रयोग गर्नुपर्ने भएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने बकैया गाउँपालिकाका तीन मतदान केन्द्रका मतपेटिका बारा र रौतहट हुँदै ल्याइनेछ । बकैया– १ स्थित सरस्वती माध्यमिक विद्यालय मोरङे र वडा नम्बर– २ को बालविकास निमावि सरस्वती भमराका मतपेटिका रौतहटको चपुर हुँदै ल्याइनेछ ।
यस्तै, बकैया– ६ स्थित राष्ट्रिय कालिका प्राथमिक विद्यालयको मतपेटिका निजगढ, बारा हुँदै ल्याइने निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए।यसैगरी, क्षेत्र नम्बर २ अन्तर्गत पर्ने राक्सिराङ गाउँपालिकाका चार मतदान केन्द्रका मतपेटिका चितवन हुँदै ल्याइनेछ। वडा नम्बर– ६ का राष्ट्रिय माध्यमिक विद्यालय सिलिङे र आयुर्वेद औषधालय सिलाधुनी, वडा नम्बर– ७ का सातकन्या आधारभूत विद्यालय र दाम्राङ प्राथमिक विद्यालय तथा वडा नम्बर– ८ स्थित ठुलो तोड्के माविका मतपेटिका चितवनको राप्ती नगरपालिका–भण्डारा हुँदै मतगणनास्थल ल्याइने व्यवस्था मिलाइएको छ।
अन्य जिल्ला हुँदै मतपेटिका ल्याउनुपर्ने भए पनि मतदानकै दिन गणनास्थलमा पुर्याइने गरी तयारी गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । अन्तरजिल्ला सडक प्रयोग गर्नुपर्ने भएकाले सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित जिल्लाका सुरक्षा निकायसँग समन्वय गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सुरक्षा प्रमुखहरूसँग छलफल गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ । मकवानपुरमा यस निर्वाचनका लागि ३७४ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये १९ मतदानस्थल अतिसंवेदनशील सूचीमा परेका छन्, जसअन्तर्गत २६ मतदान केन्द्र रहेका छन्।
संवेदनशीलताका आधारमा ६० मतदानस्थल संवेदनशील र ८८ मतदानस्थल सामान्य श्रेणीमा वर्गीकृत गरिएको छ । निर्वाचन कार्यालयका अनुसार शान्तिपूर्ण र व्यवस्थित मतदान तथा मतगणनाका लागि सुरक्षा, ढुवानी र व्यवस्थापनतर्फ विशेष तयारी गरिएको छ ।