निर्वाचनका दिन नियमित उडान हुने

मध्यपूर्वतर्फको अन्तर्राष्ट्रियबाहेक आन्तरिक र अन्य अन्तर्राष्ट्रिय सबै उडान सञ्चालन गरिने

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका दिन मध्यपूर्वतर्फको अन्तर्राष्ट्रियबाहेक आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान नियमित हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गर्दै निर्वाचनका दिन उडान सञ्चालन हुने जानकारी गराएको हो । 

निर्वाचन आयोगले सो दिन सार्वजनिक यातायात भने पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ । त्यस्तै, तोकिएका अत्यावश्यकबाहेक अन्य सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ । तर, हवाई यातायात भने नियमित गरिने भएको हो । 

‘२१ गते बिहीबार निर्वाचनको दिन देशभर सबै प्रकारका आन्तरिक उडान आवश्यकताअनुसार सञ्चालन हुने तथा अन्तर्राष्ट्रिय उडान (मध्यपूर्व गन्तव्यहरूबाहेक) सामान्य रूपमा सञ्चालन हुने छ,’ प्राधिकरणको सूचनमा उल्लेख छ, ‘मध्यपूर्वी गन्तव्यहरूको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीको संशोधित तालिकाबमोजिम सञ्चालन हुनेसमेत जानकारी गराइन्छ ।’ 

पर्यटन बोर्डले हवाई सेवा प्रयोग गर्ने पर्यटकका लागि त्रिभुवन विमानस्थलदेखि विभिन्न होटेलसम्म पुर्याउने र ल्याउनेसम्मको सेवा दिने भएको छ । यसका लागि नि:शुल्क सटल बस सेवा सञ्चालनमा ल्याउने बोर्डले जनाएको छ । बिहान पाँच बजेदेखि साँझ सात बजेसम्म यो सुविधा सञ्चालनमा आउने बोर्डले जानकारी दिएको छ ।

मध्यपूर्वको उडान अझै अनिश्चित
मध्यपूर्वको तनावले नेपालबाट मध्यपूर्व र मध्यपूर्वबाट नेपालमा हुने सबै उडान चार दिनयता रद्द हुँदै आएका छन् । तनाव जारी नै रहेका कारण उडान अझै अनिश्चित देखिएको छ । मंगलबार पनि नेपाल–मध्यपूर्वका ३२ उडान रद्द भएका छन् । काठमाडौंबाट कुवेत, कतार, दुबई र साउदीका विभिन्न सहरमा हुने उडान रद्द भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार नेपालबाट जजिरा, कुवेत, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार र हिमालय एयरलाइन्सको उडान रद्द भएको हो । यद्यपि, चीन, भारत, मलेसियालगायत मध्यपूर्वबाहेकका देशमा भने नियमित उडान भइरहेको छ । आक्रमण जारी भइरहेकै कारण कुवेत, युएई, कतार, इरान, इराक, जोर्डन, इजरायल, लेबनान र बहराइनलगायत देशले आफ्नो आकाशमा उडान रोकेका (एयर स्पेस बन्द गरेका) छन् ।

सुझावित समाचार