नेपाल टेलिकमबाट अब एकैचोटि १० हजार एसएमएस पठाउन सकिने

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण

नेपाल टेलिकमले एकैचोटि १० हजार एसएमएस पठाउन सकिने सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमको सिम प्रयोगकर्ताले एकैपटक १० हजार ग्रुप एसएमएस पठाउन सकिने सुविधा ल्याएको हो । यो सेवा प्रयोग गरेर एकैपटक दुई हजार, पाँच हजार र १० हजारवटासम्म सामूहिक सन्देश पठाउन सकिने कम्पनीले जनाएको छ । 

टेलिकमका अनुसार एउटै सन्देश धेरैजनालाई पठाउनुपर्ने अवस्थामा विभिन्न व्यक्ति वा संस्थाले पहिलेखि नै नेपाल टेलिकमको यो ग्रुप एसएमएस सेवा उपयोग गरिरहेका छन् । यसरी एकैपटक धेरैजनालाई पठाउन सकिने ग्रुप एसएमएस सेवा निकै उपयोगी हुन सक्ने कम्पनीले जनाएको छ । 

यो सेवाअन्तर्गत ग्राहकले एक हजार दुई सय ४३ रुपैयाँमा दुई हजार एसएमएस, ३,१०८ मा पाँच हजार र ६,२१५ मा १० हजार एसएमएस पठाउन सक्नेछन् । 

सेवा प्रयोग गर्न प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ । त्यसपछि मोबाइल, डेस्कटप वा ल्यापटपबाट ग्रुप एसएमएस डट एनटिसी डट नेट डट एनपी लगइन गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सकिनेछ ।

ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउन पहिले आवश्यक नम्बर एक्सेल सिटमार्फत अपलोड गर्नुपर्छ । त्यसपछि एकैपटक धेरैजनालाई सन्देश पठाउन सकिने टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए । 

सुझावित समाचार