कामना सेवा विकास बैंकले प्रदान गर्ने एमफिल र स्नातकोत्तर अध्ययरत शोधकर्ता विद्यार्थीलाई अनुसन्धान अनुदान (रिसर्च ग्रान्ट)को म्याद चैत मसान्तसम्म थप गरिएको छ । विभिन्न विश्वविद्यालय तथा विद्यार्थीको अनुरोधमा उक्त म्याद थप गरिएको बैंकले जनाएको हो ।
बैंकले अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका शोधकर्ता विद्यार्थी र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका शोधकर्ता विद्यार्थीलाई शोधकार्यका लागि अनुसन्धान अनुदान प्रदान गर्न लागेको छ ।
आवेदकले कुनै पनि विश्वविद्यालयमा व्यवस्थापन वा अर्थशास्त्रमा मान्यताप्राप्त स्नातकोत्तर वा एमफिलमा भर्ना भएको हुनुपर्नेछ । बैंकिङ र अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा गरिने शोधकार्यका लागि एफफिल गर्दै गरेका दुईजना शोधकर्ता विद्यार्थीलाई जनही एक लाखका दरले अनुदान दिइनेछ । त्यस्तै, व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका चारजना शोधकर्ता विद्यार्थीलाई बैंकिङ, अर्थतन्त्र र सूचना तथा प्रविधिसँग सम्बन्धित विभिन्न क्षेत्रमा गरिने शोधका लागि जनही ५० हजारका दरले अनुसन्धान अनुदान दिइनेछ ।
उक्त अनुदान प्राप्त गर्नका लागि सम्बन्धित कलेजको सिफारिससहित १३ अप्रिल ०२६ (चैत मसान्त)भित्र यस बैंकमा प्रस्तावना पेस गर्नुपर्नेछ । सम्बन्धित विषयका विज्ञसमेत रहेको छनोट समितिले उक्त अनुदान प्राप्त गर्ने विद्यार्थी छनोट गर्नेछ ।
विद्यार्थीले गर्ने शोधकार्य भरपर्दो र प्रमाणित गर्न सकिने तथ्यांकमा आधारित र मौलिक हुनुपर्ने बैंकले जनाएको छ । बैंकले प्रदान गर्ने उक्त अनुदानले एमफिल र स्नातकोत्तर गर्दै गरेका शोधकर्ता विद्यार्थीलाई सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जनाए ।