मध्यपूर्वमा भएको द्वन्द्वले नेपालमा चाँदीको माग पुन: बढ्न थालेको छ । यसअघि मूल्यमा उच्च गिरावट आएपछि चाँदीको मागमा शिथिलता आएको थियो । तर, अहिले मध्यपूर्वमा देखिएको द्वन्द्वसँगै चाँदी र सुनको माग बढ्न सुरु गरेको व्यवसायीहरू बताउँछन् ।
गत शनिबार अमेरिका र इजरायल मिलेर इरानमा आक्रमण गरेका थिए । इरानले पनि त्यसको बदलामा युएई, कतार, कुवेतलगायतका देशमा आक्रमण गरेको छ । यो द्वन्द्व अझै लम्बिने संकेत देखिएको छ । यसले विश्व अर्थतन्त्र प्रभावित हुने भएपछि विश्वका लगानीकर्ताले सुरक्षित लगानीका लागि सुनचाँदीजस्ता धातुमा लगानी बढाएका छन् । फलस्वरूप त्यसको मूल्य पनि बढ्न थालेको छ ।
विश्व बजारकै आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण हुन्छ । पछिल्लो परिस्थितिअनुसार मूल्य बढ्ने आशंकामा नाफा कमाउने उद्देश्यसहित नेपालीले सुनचाँदीमा लगानी बढाउन थालेका छन् । त्यसमा पनि चाँदीमा आकर्षण उच्च देखिएको छ । नेपालमा सर्वसाधारणले काँचो चाँदी खरिद गर्न पाउँछन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले चाँदीको माग बढ्न थालेको बताए । ‘मध्यपूर्वमा देखिएको द्वन्द्वले सुनचाँदीको मूल्य पुन: बढ्ने देखिएको छ । त्यसपछि नाफा कमाउने उद्देश्यसहित नेपालीले पनि सुनचाँदीमा लगानी बढाउन थालेका छन् । काँचो सुन त खरिद गर्न पाइँदैन । विभिन्न गरगहनाको नाममा सुनको माग बढ्न थालेको छ,’ उनले भने, ‘सुनभन्दा पनि चाँदीको माग भने उच्च छ । सर्वसाधारणले काँचो चाँदी खरिद गर्न पाउछन् । साथै, मूल्यका आधारमा पनि यसमा अधिकांशको पहुँच पुग्छ ।’ सामान्य अवस्थाको तुलनामा अहिले चाँदीको माग दोब्बरजस्तै भएको उनको भनाइ छ ।
न्युरोडस्थित ह्वाइट फेदर्स इनकर्पाेरेसनका सञ्चालक स्किन्नर रसाइलीले पनि चाँदीको माग बढेको बताए । ‘मध्यपूर्वको द्वन्द्व अहिले विश्व अर्थतन्त्र प्रभावित हुने देखिएको छ । सेयर बजार पनि घट्ने देखिन्छ । त्यसले गर्दा विश्व लगानीकर्ताले सुरक्षित लगानीका रूपमा सुनचाँदीमा लगानी बढाउन थालेका छन् । त्यसले विश्व बजारमै सुनचाँदीको मूल्य बढ्ने देखिएको छ । त्यसपछि नेपालमा पनि यसको मूल्य बढ्छ । पछिल्ला दिनमा सुनचाँदीको मूल्य बढ्न थालेको छ,’ उनले भने, ‘त्यसमा नाफा कमाउने उद्देश्यसहित नेपालीले पनि चाँदीमा लगानी बढाउन थालेका छन् । गत सातासम्म हाम्रो कम्पनीबाट मुस्किलले दैनिक १० केजी चाँदी बिक्री हुने गरेको थियो । तर, आइतबार २० केजीभन्दा बढी चाँदी बिक्री भयो ।’
सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच हजार ६ सय रूपैयाँले बढेको छ । आइतबार सुनको मूल्य तीन लाख २० हजार पाँच सय रुपैयाँ थियो । सोमबार त्यो तीन लाख २६ हजार एक सय रुपैयाँ पुगेको छ । यसैगरी, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला पाँच हजार नौ सय ८५ रहेको चाँदीको मूल्य सोमबार ६ हजार २० रुपैयाँ पुगेको छ । मध्यपूर्वको द्वन्द्वपछि विश्व बजारमा सुनचाँदीको मूल्य बढ्न थालेको छ ।
यसअघि गत १५ माघमा सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदीको मूल्य सात हजार पाँच सय पाँच रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च हो । त्यसपछि सुनको मूल्य घटेर प्रतितोला दुई लाख ९० हजार र चाँदीको मूल्य ४७ सय १० रुपैयाँमा झरेको थियो ।