सुदूरपश्चिममा निर्वाचन सुरक्षा : दुई सय ४५ मतदान केन्द्रमा सिसिक्यामेराबाट निगरानी गरिने

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिममा निर्वाचन सुरक्षालाई लक्षित गरेर निर्वाचन क्षेत्रहरूमा सुरक्षा जनशक्ति परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले मातहतका युनिटहरूमा जनशक्ति पठाउन थालेका छन् । निर्वाचनको सुरक्षाका लागि केही मतदानस्थलमा सिसिक्यामेराबाट समेत निगरानी गरिने भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदेशका नौवटै जिल्लामा सात हजार ५८ जना नेपाल प्रहरी परिचालन भएका छन् । यसमध्ये यहाँ अपुग सात सय जनशक्ति केन्द्रबाट माग गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले बताए । नेपाल प्रहरीमातहत १३ हजार ६६९ जना निर्वाचन प्रहरी परिचालन गरिएको उनले बताए ।

‘जिल्ला र मातहतका युनिटहरूमा जनशक्ति पठाउन थालिसकेका छौँ । १० फागुनभित्र सबै जनशक्ति सम्बन्धित ठाउँमा पठाइसक्छौँ,’ प्रहरी वरिष्ठ उपरीक्षक विष्टले भने, ‘सुरक्षा संवेदनशीलताका आधारमा मतदान केन्द्रमा परिचालन हुने जनशक्ति तोकेका छौँ ।’ उनका अनुसार एक निर्वाचनस्थल भएका सामान्य मतदान केन्द्रमा तीनजना प्रहरी र पाँचजना निर्वाचन प्रहरी, संवेदनशील केन्द्रमा तीन प्रहरी र ६ निर्वाचन प्रहरी तथा अतिसंवेदनशील केन्द्रमा तीन प्रहरी र १० जना निर्वाचन प्रहरी खटिँदै छन् ।

थप मतदानस्थलमा प्रतिमतदान केन्द्र दुई–दुईजनाका दरले जनशक्ति खटिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिममा एक हजार १७६ वटा मतदान स्थल र दुई हजार १९९ वटा मतदान केन्द्र निर्धारण गरिएका छन् । तीमध्ये चार सय ८१ स्थललाई सुरक्षाका दृष्टिले अतिसंवेदनशीलको सूचीमा राखिएको प्रवक्ता विष्टले बताए । त्यस्तै, सात सय ५७ वटा स्थललाई संवेदनशील र नौ सय ८६ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखेर सुरक्षा प्रबन्ध गरिएको उनले बताए ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले निर्वाचनको सुरक्षाका लागि चारवटै सुरक्षा निकाले समन्वयमा काम गरिरहेको बताए । एकीकृत सुरक्षा योजना बनाएर कार्यान्वयन गरिएको उल्लेख गर्दै उनले नागरिकले शान्तिपूर्ण रूपमा मतदान गर्न पाउने गरी सुरक्षा व्यवस्था मिलाइएको बताए । अतिसंवेदनशीलसहित चार सय ४५ मतदानस्थलमा नेपाल प्रहरीले सिसिक्यामेराबाट निगरानी गर्ने उनले बताए ।

निर्वाचनका वेला गाउँपालिका र नगरपालिकामा दुई–दुई तथा उपमहानगरमा तीनवटा ‘मोबाइल’ गस्ती टोली पनि परिचालन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको छुट्टै दुईवटा मोबाइल टोली परिचालन हुनेछन् । आकस्मिक अवस्थाका लागि हेलिकोप्टरसमेत तयारी अवस्थामा राख्ने गरी केन्द्रमा कुरा भइरहेको प्रदेश प्रहरी प्रमुख रानाले बताए । मतदानस्थलको पहिलो घेराको सुरक्षामा नेपाल प्रहरी खटिनेछ ।

सुदूरपश्चिममा निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीको करिब तीन हजार सात सय जनशक्ति परिचालन हुँदै छ । सशस्त्र प्रहरीका निमित्त प्रदेश प्रमुख दिग्विजय सुवेदीले सशस्त्र प्रहरीअन्तर्गत एक हजार पाँच सय निर्वाचन प्रहरीसहित पाँच हजार दुई सय जनशक्ति परिचालन गर्न लागिएको बताए । केन्द्रको सुरक्षा नीतिअनुसार प्रत्येक निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकले टोलीको नेतृत्व गर्ने उनको भनाइ छ । एक–दुई दिनभित्र सबै क्षेत्रमा सशस्त्र प्रहरीको जनशक्ति परिचालन भइसक्ने सुवेदीले बताए ।

निर्वाचनलाई मध्यनजर गर्दै आपराधिक घटना हुन नदिन सीमाक्षेत्रमा पनि चेकजाँच र सतर्कता बढाइएको छ । कतिपय ठाउँमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले सीमाक्षेत्रमा चेकजाँच कडा गरिनुका साथै सीमाक्षेत्रमा साबिकभन्दा बढी निगरानी र सतर्कता बढाइएको छ । तराईका दुई जिल्ला कैलालीमा एक सय एक किलोमिटर र कञ्चनपुरमा एक सय २९.५ किलोमिटर खुला सिमाना भारतसँग जोडिएको छ । 

निर्वाचनमा नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा दिनेछ । विमानस्थल, कारागारजस्ता महत्वपूर्ण र संवेदनशील क्षेत्रको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ । सुदूरपश्चिममा रहेका सातवटै जिल्ला कारागार, धनगढी विमानस्थल, नेपाल आयल निगमको प्रादेशिक कार्यालय धनगढीको सुरक्षा ‘कमान्ड’ नेपाली सेनाले लिएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रानाले बताए । जेन–जी आन्दोलनका वेला कारागारबाट भागेका कैदीबन्दीबाट निर्वाचनको सुरक्षामा खतरा नहोस् भनेर पनि सतर्कता अपनाइएको उनले बताए ।

सुझावित समाचार