‘इलेक्सन इपिसेन्टर’ झापामा चुनावी सुरक्षा कडा, नौ हजार सुरक्षाकर्मी परिचालन

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण
‘इलेक्सन इपिसेन्टर’ झापामा चुनावी सुरक्षा कडा, नौ हजार सुरक्षाकर्मी परिचालन

दमकमा चुनावी गस्ती गर्दै सुरक्षाकर्मी । तस्बिर सौजन्य : झापा प्रहरी

  • ढुक्क भएर मतदान गर्न प्रशासनको आग्रह, प्रत्यक्षतर्फको गणना सुरु भएको २४ घण्टाभित्र परिणाम दिने तयारी 

हेभिवेट उम्मेदवारको भिडन्तले इलेक्सन इपिसेन्टर झापामा चुनावी सुरक्षा कडा पारिएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरीसहित नौ हजार सुरक्षाकर्मी परिचालन गरेको छ । 

नेपाल प्रहरीले झापाको सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी झापा र इलामको समन्वय गर्ने गरी प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीसहित ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ । २८५ मतदानस्थल रहेको झापामा ४३ वटा मतदानस्थल समान्य, १४७ संवेदनशील र ९५ वटा अतिसंवेदनशील मतदानस्थल छन् । सुरक्षाका लागि मतदानस्थलमा जाने कर्मचारीसँगै सुरक्षाकर्मी पनि परिचालन गरिसकिएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । नेपाल प्रहरी पहिलो, सशस्त्र दोस्रो र नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा दिनेछ ।

उनका अनुसार तीनै तहका सुरक्षा निकायले संयुक्त गस्ती र पेट्रोलिङ गरिरहेका छन् । झापा निर्वाचन शान्तिपूर्ण हुने प्रजिअ गेलालको दाबी छ । ‘हामी ढुक्क भएर मत खसाल्न आउन नागरिकलाई आग्रह गर्दछौँ,’ उनले भने । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काका अनुसार अन्य समयभन्दा निर्वाचनका समयमा दोब्बर प्रहरी परिचालन गरिएको छ । तीनवटै सुरक्षा निकायले एकीकृत सुरक्षा योजना २०८२ अनुसार काम गरिरहेको उनले बताए । ‘एकीकृत सुरक्षा योजनाअनुसार हामी संयुक्त परिचालन भएका छौँ,’ उनले भने, ‘नियमित संख्याभन्दा दोब्बर बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । पर्याप्त मात्रामा थप सुरक्षाकर्मी खटाइएको छ । झापाको सुरक्षा व्यवस्था पर्याप्त छ ।’

झापा ५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ आमनेसामने छन् । एमालेले ओली र रास्वपाले शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिएका छन् । त्यस्तै, झापा २ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना चुनावी मैदानमा छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि झापाबाटै उम्मेदवार छन् ।

मतदानस्थल र केन्द्रमा पुगे कर्मचारी र सामग्री
आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापाका मतदानस्थल र मतदान केन्द्रमा कर्मचारी पुगेका छन् । सोमबार साँझ नै सामग्रीसहित पाँचवटै निर्वाचन क्षेत्रका सबै मतदानस्थल र केन्द्रमा कर्मचारी पुगेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । मंगलबारदेखि मतदान केन्द्रको तयारीमा कर्मचारी जुट्ने जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले बताए ।

पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार जनमत परीक्षणका लागि चुनावी मैदानमा छन् । यहाँ तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता छन् । जसमा ५० हजार २२६ मतदाता थपिएका हुन् । झापामा कुल २८५ मतदानस्थल र ८१५ वटा मतदान केन्द्र छन् । यी मतदानस्थल र केन्द्रमा १० प्रतिशत बढी मतपत्र पुगेका छन् । यसपटकको निर्वाचनमा चार हजार ९४५ स्थायी कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले बताए । यी कर्मचारी स्थानीय तह, प्रदेश र संघमातहतका हुन् । त्यसमा केही शिक्षक पनि रहेको उनले बताए ।

त्यस्तै, २ हजार ४४५ जना स्वयंसेवक खटिएको उनले बताए । उनीहरू सशुल्क कर्मचारी हुन् । स्थायी कर्मचारी आठ दिनका लागि निर्वाचनमा खटिएका हुन् भने स्वयंसेवक तीन दिनका लागि खटिएको प्रमुख नेपालले बताए । ०७९ मा भएको स्थानीय तह निर्वाचनमा झापामा ७० दशमलव ४३ प्रतिशत मत खसेको थियो भने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा ६५ दशमलव ७७ प्रतिशत मत खसेको थियो । यसपटक भने ९० प्रतिशत मत खसाउने तयारीसहित निर्वाचन कार्यालय लागेको प्रमुख नेपालले बताए । ‘यसपटक मतदाता शिक्षा राम्रोसँग सञ्चालन भएको छ । तालिमप्राप्त स्वयंसेवक घरदैलोमा गएर मतदाता शिक्षा सञ्चालन गरेका छन्,’ उनले भने, ‘विद्यालयदेखि विभिन्न कार्यक्रम गरेर जनचेतना फैलाएका कारण यसपटक मत खस्ने संख्या बढ्ने आकलन गरेका छौँ ।’

यसपटक मतदान सम्पन्न भएपछि मत गणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरहेको निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले बताए । ‘भौगोलिक हिसाबले सहज भए पनि झापामा धेरै मतदाता छन् । तसर्थ, धेरै मतपेटिका हुन्छन् । संकलन गर्दा राति १२ बज्ने सम्भावना छ,’ उनले भने, ‘मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर त्यही दिनबाट नै गणना सुरु हुन्छ । मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फ मतपरिणाम सार्वजनिक गर्ने तयारी छ ।’

झापाका पाँचवटै निर्वाचन क्षेत्रको मतगणना सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । यसका लागि आवश्यक तयारी सकिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले बताए । उनका अनुसार मतगणनास्थलमा सिसी क्यामेरा जडानदेखि तारजालीलगायत सम्पूर्ण तयारी सकिएको छ । मतगणनामा तालिमप्राप्त तीन सय कर्मचारी खटिने उनले बताए । यसपटक पाँचभन्दा धेरै स्थानमा मतगणना गरिने तयारी गरिएको उनले बताए ।

सुझावित समाचार