चुनावका कारण पेट्रोल खपत दोब्बर

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण
चुनावका कारण पेट्रोल खपत दोब्बर

फोटो : सोमबार राती ८ बजे आयल निगमको थानकोट डिपोबाट पेट्रोलपम्पका लागि तेल लिएर निस्कदै गरेको ट्यांकर । तस्बीर नयाँ पत्रिका

चुनावमा सवारीसाधनको प्रयोग बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको खपत दोब्बर भएको छ । आयल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोट प्रमुख जगदीश यादवका अनुसार सोमबार उपत्यकामा पेट्रोल १३ लाख ३९ हजार लिटर वितरण भएको छ, जुन सामान्य अवधिको तुलनामा दोब्बर हो ।

यादवका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक ६ लाखदेखि सात लाख लिटर पेट्रोल खपत हुने गरेको छ । चुनावका कारण सवारीसाधनको चहलपहल बढेकाले खपत पनि बढेको हो । ‘अहिले उपत्यकामा पेट्रोलको खपत उच्च छ । पेट्रोल पम्पमा जति माग हुन्छ, त्यति नै वितरण भइरहेको छ,’ यादवले भने, ‘मागेजति बजारमा तेल पठाउन निगमलाई कुनै समस्या छैन ।’ उनका अनुसार आइतबार पनि पेट्रोल १६ लाख ५० हजार लिटर वितरण भएको थियो, जुन यो वर्ष कुनै पनि दिन वितरण भएकोमध्ये उच्च परिमाण हो । आइतबार दिउँसोदेखि रातिसम्म उपभोक्ताहरू पेट्रोलपम्पमा लाइन लागेर तेल लिन बाध्य भएका थिए ।

लाइन हटाउन पेट्रोल पम्पलाई जतिसक्दो धेरै तेल उठाउन निगमले सोमबार बिहानै ताकेता गरेको थियो । निगमको थानकोट डिपो पनि बिहान आठ बजे नै खोलेर ट्यांकरमा तेल लोड गर्न थालिएको थियो । डिपो प्रमुख यादवका अनसार सोमबार साँझ सात बजेसम्म कार्यालयभित्र ट्यांकरमा तेल लोड कार्य जारी थियो । अरू बेला दिउँसो तीन बजे नै ट्यांकरमा तेल लोड गर्ने काम सकिन्थ्यो । सोमबार भने उपत्यकाको उच्च माग परिपूर्ति गर्न साँझसम्म डिपो खोलेर तेल वितरण गरिएको यादवले जानकारी दिए ।

आइतबार रातिसम्म उपभोक्ता पम्पमा लाइन लागे पनि सोमबार लाइन हटेको छ । सोमबार निगमका प्रवक्ता मनोज ठाकुर पनि विभिन्न पम्पको निरीक्षण गर्न पुगेका थिए । उनले पनि पेट्रोलपम्पमा लाइन नरहेको बताए । ‘सोमबार दिउँसो म पेट्रोलपम्पको निरीक्षण गर्न निस्किएको थिएँ । कतै पनि लाइन देखिएन,’ उनले भने, ‘यद्यपि, पेट्रोल वितरण भने उच्च परिमाणमा भएको छ ।’ चुनावअगाडि पेट्रोलपम्पमा उपभोक्ताको लाइन बढेपछि निगम अधिकारीले जतिसक्दो धेरै तेल वितरण गर्ने रणनीति लिएका छन् ।

‘देशको जुनसुकै भूभागमा मागेजति तेल दिने सामर्थ्य निगमसँग छ । त्यसैले कुनै पनि उपभोक्ताले लाइन लागेर तेल लिनुपर्दैन,’ प्रवक्ता ठाकुरले भने । चुनावको सुरक्षालाई ध्यान दिएर सवारीसाधनबाहेक ग्यालेन, बोतल वा अन्य सामग्रीमा इन्धन वितरण नगर्न पेट्रोलपम्पलाई कडाइ गरिएको उनको भनाइ छ । काठमाडौं उपत्यकामा डिजेलको माग भने सामान्य घटेको छ । सोमबार सात लाख ५७ हजार किलोलिटर डिजेल वितरण भएको थानकोट डिपो प्रमुख यादवले जानकारी दिए ।

हवाई इन्धनको खपत घट्यो
मध्यपूर्वी देशमा हुने उडान कटौती भएकाले हवाई इन्धनको खपत भने घटेको छ । आयल निगमको सिनामंगलस्थित हवाई इन्धन कार्यालय प्रमुख प्रदिप यादवका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फ दैनिक पाँच लाख लिटर इन्धन खपत हुने गरेकोमा आइतबार तीन लाख ७५ हजार लिटर मात्रै बिक्री भएको छ । ‘मध्यपूर्वको उडान कटौती भएदेखि दैनिक एक लाख हाराहारी खपत घटिरहेको छ,’ उनले भने । डिपोमा कम्तीमा १५ दिनलाई पुग्ने इन्धन मौज्दात रहेको पनि उनले जानकारी दिए । आन्तरिक उडानतर्फ भने दैनिक ८१ हजारदेखि ८६ हजार लिटरसम्म खपत रहेको उनले जानकारी दिए । 

उपत्यकाबाहिर सामान्य वृद्धि

उपत्यकाबाहिर पेट्रोलियम पदार्थको खपतमा सामान्य वृद्धि भएको छ । बाराको अमलेखगन्जस्थित निगमको सबैभन्दा ठुलो डिपोले सोमबार आठ लाख १५ हजार लिटर पेट्रोल र नौ लाख ५० हजार लिटर डिजेल वितरण गरेको छ । अमलेखगन्ज डिपो प्रमुख प्रलयंकर आचार्यका अनुसार उक्त परिमाण सामान्य अवधिको तुलनामा थोरै मात्र बढी हो । ‘आइतबार र सोमबार पेट्रोलको खपत थोरै परिमाणले बढेको छ,’ उनले भने, ‘डिजेलको खपत त घटेको छ ।’ त्यस्तै, लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाका प्रमुख सैलेन्द्र भुसालले पनि माग परिमाण खासै नबढेको बताए ।
‘सोमबार चार लाख २० हजार लिटर पेट्रोल र ६ लाख ५० हजार लिटर डिजेल वितरण भएको छ,’ उनले भने, ‘पेट्रोलको खपत सामान्य अवधिको तुलनामा करिब एक लाख लिटर बढी हो भने डिजेलको खपत समान छ ।’ 

कर्णाली प्रदेशमा पनि माग सामान्य रहेको निगमको सुर्खेतस्थित प्रादेशिक कार्यालय प्रमुख दीपक घिमिरेले जानकारी दिए । ‘यहाँको पहाडी र तराई क्षेत्रमा कतै पनि आपूर्तिमा समस्या छैन । माग पनि बढेको छैन,’ उनले भने, ‘मंगलबार एक लाख ४० हजार लिटर डिजेल र ६० हजार लिटर पेट्रोल वितरण गर्ने कार्यतालिका छ ।’ निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख मनोहर डिसीले पनि सो क्षेत्रमा खपत नबढेको बताए । ‘यहाँ चुनावी चहलपहलका कारण माग परिमाणमा धेरै अन्तर छैन,’ उनले भने, ‘सोमबार एक लाख ८६ हजार लिटर पेट्रोल र दुई लाख ८० हजार लिटर डिजेल वितरण भएको छ, जुन सामान्य अवस्थाकै खपत हो ।’

सुझावित समाचार