नयाँ पुस्ताको भावना र चाहनाअनुसार कांग्रेस रूपान्तरण भएको छ : विश्वप्रकाश शर्मा

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ पुस्ताको भावना, सोच र चाहनाअनुसार पार्टी रूपान्तरण भएको बताएका छन्। सोमबार उदयपुरको गाईघाटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले यस्तो धारणा व्यक्त गरेका हुन्।

शर्माले २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ सालको जनआन्दोलनसम्मका महत्वपूर्ण राजनीतिक उपलब्धि कांग्रेसकै नेतृत्वमा प्राप्त भएको स्मरण गर्दै अब पनि कांग्रेसको खाँचो रहेको बताए। उनले भने, ‘२०६२÷०६३ को जनआन्दोलनमार्फत जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्दै देशलाई लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गर्ने नेतृत्वसमेत कांग्रेसले नै लिएको हो।’ उनले अब पनि नयाँ पुस्ताको भावना र चाहनाअनुसार काम गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए।

उपसभापति शर्माले पछिल्लो समय उठिरहेको ‘जेनजी’ पुस्ताको आवाज र अपेक्षालाई पार्टीले गम्भीरतापूर्वक लिएको स्पष्ट पारे। उनले भने, ‘नयाँ पुस्ताको भावना, सोच र चाहनाअनुसार पार्टी रूपान्तरणको प्रक्रियामा अघि बढिरहेको छ। पारदर्शिता, सुशासन र जवाफदेहितामा आधारित भएर काम गर्न कांग्रेस तयार छ।’

उनले देशमा देखिएको भ्रष्टाचार, बेथिति र अव्यवस्थालाई अन्त्य गर्न कांग्रेसले आत्मसमीक्षा गर्दै आफ्नै नेता तथा जनप्रतिनिधिबाट छानबिन प्रक्रिया सुरु गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। सुशासन कायम गर्नु र भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता जिकीर गरे।

शर्माले वर्तमान जटिल राजनीतिक परिस्थितिमा पनि कांग्रेसले जिम्मेवारीपूर्वक नेतृत्व गर्दै देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गरे। उनले भने, ‘देश संकटमा पर्दा कांग्रेसले नै निकास दिएको इतिहास छ, अब पनि त्यो परम्परालाई निरन्तरता दिँदै देशलाई सही दिशामा लैजानेछौँ।’

सुझावित समाचार