श्रीलंकाले १०औँ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउन नसकेपछि मुख्य प्रशिक्षक सनथ जयसुर्याले राजीनामा दिएका छन् । सुपर ८ अन्तर्गत समूह २ मा सबै खेल गुमाएपछि श्रीलंकाको विश्वकप यात्रा समाप्त भएको हो । समूहको अन्तिम खेलमा पाकिस्तानसँग पराजित भएपछि श्रीलंका समूह २ मा अंकविहीन भएको थियो । मुख्य प्रशिक्षकका रूपमा जयसुर्याले विश्वकपपछि नै पद छाड्ने श्रीलंकाली क्रिकेट बोर्डलाई जानकारी गराइसकेका थिए ।
‘प्रशिक्षकबाट बाहिर रहने सही समय हो,’ श्रीलंकाका पूर्वकप्तानसमेत रहेका जयसुर्याले भने, ‘मैले दुई महिनाअघि नै बोर्डलाई भनेको थिएँ, विश्वकपपछि यात्रा हुन सक्दैन ।’ श्रीलंका र इंग्ल्यान्डबिचको सिरिजका क्रममै उनले विश्वकपसम्म टोली हेर्ने मनसाय बनाइसकेका थिए । ‘विश्वकपपछि प्रशिक्षणमा नरहने बोर्डका केही पदाधिकारीलाई जानकारी गराएको थिएँ, तर सकेसम्म टोलीलाई सेमिफाइनलसम्म पु¥याउने लक्ष्य राखेको थिएँ जसमा असफल भएँ,’ उनले भने, ‘विश्वकपमा श्रीलंकालाई सुरुमा सेमिफाइनल स्थान दिलाउने योजना थियो । त्यसपछि उपाधितिर थियो, तर दुवै लक्ष्यमा असफल भएँ ।’
जुनसम्मको सम्झौता
श्रीलंकाली क्रिकेट बोर्डले जयसुर्यासँग आगामी जुनसम्म सम्झौता गरेको थियो । सम्झौताअगाडि नै राजीनामा दिएपछि बोर्डले स्वीकृत गरेको छैन । आगमी १३ मार्चमा श्रीलंका र अफगानिस्तानबिच एकदिवसीय सिरिज छ । बोर्डले जयसुर्यालाई आगामी सिरिजसम्म टोलीको जिम्मेवारी लिनुपर्ने भनेको छ । तर, विश्वकपको असफलतापछि नैतिकताका आधारमा पदबाट राजीनामा दिनु उत्तम भएको उनले बताए ।
‘मेरो सम्झौता जुनसम्म हो, अहिलेसम्म आगामी सिरिजबारे बोर्डबाट केही जानकारी आएको छैन,’ जयसुर्याले भने, ‘तत्काल फ्रेस हुन मन लागेको छ । केही समय खेलाडी र प्रशिक्षणबाट टाढा रहेर परिवारलाई समय दिनुपर्छ ।’ नयाँ प्रशिक्षक नआउँदासम्म बोर्डको निर्णयको प्रतीक्षा गर्ने उनले जनाए ।
‘तत्कालै नयाँ प्रशिक्षक नआएको अवस्थामा आगामी सिरिजका लागि पुनर्विचार गर्नेछु,’ उनले भने, ‘यदि प्रशिक्षक चयन भएको अवस्थामा मेरो राजीनामा तत्काल लागू भएको बुझ्नेछु ।’
दुई वर्ष प्रशिक्षण
सन् २०२४ को नवौँ टी–२० विश्वकपमा श्रीलंकाको प्रदर्शन खराब भएपछि बोर्डले अनुभवीलाई टोलीको जिम्मेवारी दिने निर्णय गरेको थियो । श्रीलंकाली टोलीका सर्वकालीन उत्कृष्ट बायाँहाते ब्याट्सम्यान तथा स्पिनर जयसुर्या नै पहिलो विकल्पका रूपमा रहे । सन् २०२४ को अगस्टमा श्रीलंका र भारतबिचको एकदिवसीय सिरिजका दौरान बोर्डले जयसुर्यालाई मुख्य प्रशिक्षक बनाएको थियो । भारतमाथि श्रीलंकाले २७ वर्षपछि एकदिवसीय सिरिज जित्दा उनको प्रशंसा भएको थियो । सुरुवाती चरणमा उनले टोलीलाई एकपछि अर्को सफलता दिलाए ।
ओभल टेस्टमा श्रीलंकाले न्युजिल्यान्डलाई २–० ले हरायो । जुन अर्को ऐतिहासिक सफलता रह्यो । ‘यस अवधिमा श्रीलंकाली टोलीलाई एक उचाइमा पु¥याएँ । विश्वकपबाहेक अन्य सिरिजको नतिजा हे¥यौँ भने श्रीलंकाले ऐतिहासिक प्रदर्शन गरेको थियो,’ जयसुर्याले भने, ‘च्याम्पियन्स ट्रफीमा तयारी नपुगेजस्तो लाग्छ ।’ उनको प्रशिक्षणको समयमा श्रीलंका आइसिसी टेस्ट वरीयताको छैटौँबाट चौथो स्थानमा पुगेको थियो ।
‘हामीले एकदविसीयदेखि टेस्ट सिरिजमा राम्रो खेल्यौँ । यस क्रममा सबैले मिहिनेत गरेका छन्,’ उनले भने, ‘यद्यपि, मसँग प्रशिक्षणको अनुभव नभए पनि खेलाडीको साथ पाएँ ।’ जयसुर्याले लामो समयसम्म श्रीलंकाली टोलीसँगै कार्य गरेको अनुभव छ । उनले बोर्ड सदस्यदेखि प्रमुख छनोटकर्तासम्म भूमिमा निर्वाह गरेका थिए । उनी फरक दुई समयमा प्रमुख छनोटकर्ताका रूपमा थिए । ‘बोर्ड र टोलीभित्र फरक–फरक भूमिका निर्वाह गरेको अनुभव मैदानमा खेलाडीसँग बाँढेँ,’ जयसुर्याले भने, ‘जति समय मैले श्रीलंकाली टोलीलाई दिएँ, त्यो सबै स्मरणमा रहनेछ ।’