आयोजक भारतले दुईपटकको विजेता वेस्ट इन्डिजमाथि पाँच विकेटको जित निकाली १०औँ आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ । साबिक विजेतासमेत रहेको भारत सुपर ८ अन्तर्गत समूह १ को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । यस समूहमा दक्षिण अफ्रिका विजेता रह्यो । समूह १ मा भारत र वेस्ट इन्डिजबिचको विजेता अगाडि बढ्ने समीकरण थियो । भारतले चार बलअघि जित निकाल्यो । भारतले तीन खेलबाट ४ अंक तथा वेस्ट इन्डिजले समान खेलबाट २ अंक जोडेको छ ।
अब भारतले फाइनल प्रवेश खेलमा समूह २ को विजेता इंग्ल्यान्डविरुद्ध ५ मार्चमा प्रतिस्पर्धा गर्नेछ । दक्षिण अफ्रिका र न्युजिल्यान्डबिचको सेमिफाइनल ४ मार्चमा हुनेछ । कोलकाताको इडेन गार्डेन रंगशालामा टस हारेको वेस्ट इन्डिजले पहिलो ब्याटिङ गरी २० ओभरमा चार विकेट गुमाएर १९५ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा भारतले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा १९९ रन जोड्यो । भारतले टी–२० विश्वकपमा अहिलेसम्मकै ठुलो लक्ष्य पछ्याएको हो ।
भारतको जितमा सन्जु सामसनले नटआउट ९७ रनको योगदान दिए । उनले ५० बलमा १२ चौका र चार छक्का प्रहार गरे । टी–२० विश्वकपमा भारतका लागि एकै खेलमा सर्वाधिक रन बनाउने सन्जु बनेका छन् । यसअघि विराट कोहलीले पाकिस्तानविरुद्ध सन् २०२२ को विश्वकपमा ८२ रन बनाएका थिए । सन्जु र शिवम दुबेले छैटौँ विकेटका लागि ६ बलमा २० रनको साझेदारी गरेका थिए ।
सन्जुले रोमारियो सेफर्डले फ्याँकेको १९.१ ओभरमा छक्का र १९.२ ओभरमा चौका प्रहार गरी भारतलाई पाँचौँपटक विश्वकपको सेमिफाइनलमा पु¥याए । लक्ष्य पछ्याएको इनिङ्समा अभिषेक शर्मा र ईशान किसनले समान १० रन बनाए । भारतले दुई विकेट गुमाउँदा स्कोर बोर्डमा ४१÷२ को योगफल बनाएको थियो । सन्जु र सूर्यकुमार यादवले तेस्रो विकेटका लागि ३५ बलमा ५८ रनको साझेदारी गर्दै टोलीलाई १०.२ ओभरमा ९९/३ को स्थितिमा राखे ।
सूर्यकुमारले १६ बलमा समान एक चौका र छक्का प्रहार गरी १८ रन जोडे । त्यसपछि सन्जुले तिलक बर्मासँग चौथो विकेटका लागि २६ बलमा ४२ रन जोडेका थिए । सन्जुले हार्दिक पान्ड्यासँग पाँचौँ विकेटका लागि २२ बलमा ३८ रन बनाए । तिकलले १५ बलमा चार चौका र एक छक्का प्रहार गरी २७ रन बटुले । पान्ड्याले १४ बलमा दुई चौकाको सहयोगमा १७ रन जोडेका थिए । वेस्ट इन्डिजले १२ अतिरिक्त रन दिएको थियो ।
भारतविरुद्ध आक्रामक वेस्ट इन्डिज
पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिज आक्रामक रूपमा प्रस्तुत भएको थियो । ओपनर साई होप र रोस्टन चेजले ओपनिङ सम्हालेका थिए । दुवैले वेस्ट इन्डिजलाई ८.५ ओभरमा ६८ रनको योगफल बनाए । कप्तान होपले ३३ बलमा एक छक्का र तीन चौका प्रहार गरी ३२ रनको योगदान दिए । दोस्रा ओपनर रोस्टनले सिमरोन हेटमेयरसँग दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे । दुवैले ११.३ ओभरमा वेस्ट इन्डिजलाई १०२/२ को बलियो स्थितिमा राखे ।
हेटमेयरले भारतीय बलरलाई दबाबमा राख्दै उत्कृष्ट स्ट्रोक लगाएका थिए । उनले १२ बलमा दुई छक्का र एक चौका प्रहार गरी २७ रनको योगदान दिए । जसप्रीत बुमराहले ११.३ ओभरमा हेटमेयर तथा ११.५ ओभरमा रोस्टनको विकेट लिँदै वेस्ट इन्डिजमाथि दबाब बनाए । रोस्टनले २५ बलमा पाँच चौका र एक छक्का प्रहार गरी सर्वाधिक ४० रनको योगदान दिए । वेस्ट इन्डिजले एकै ओभरमा महत्वपूर्ण विकेट गुमाए पनि रनरेट भने यथावत् राखेको थियो ।
रोभमान पावेल र जासन होल्डरले पाँचौँ विकेटका लागि ७६ रन जोडेका थिए । दुवै भारतको डेथ ओभर बलिङमा सानदार स्ट्रोक लगाएका थिए । पावेलले १९ बलमा दुई छक्का र तीन चौका प्रहार गरी ३४ रन जोडे । होल्डरले २२ बलमा तीन छक्का र दुई चौका प्रहार गरी ३७ रन जोडे । भारतले ११ अतिरिक्त रन दिएको थियो । होल्डर र पावेलले ३५ बलमा साझेदारी गरेका थिए । वेस्ट इन्डिजले मध्य ओभरमा चार विकेट गुमाएर १०४ रन जोडेको थियो । वेस्ट इन्डिजले आफ्नो इनिङ्समा १४ चौका र १० छक्का प्रहार गरेको थियो । भारतको बलिङमा सबैभन्दा खर्चिलो अश्रदीप सिंह रहे । उनले चार ओभरमा ४३ रन खर्चेका थिए । उनी विकेटविहीन भए । बुमराहले चार ओभरमा ३६ रन खर्चेर दुई विकेट लिए । वरुण चक्रवर्थीले एक विकेट लिन ४० रन खर्चेका थिए ।