पर्यटन बोर्डले मतदानका दिन निःशुल्क सटल बस सेवा सञ्चालन गर्ने

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

नेपाल पर्यटन बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सहज आवागमनका लागि मतदानका दिन (२१ फागुन) निःशुल्क सटल बस सेवा सञ्चालन गर्ने भएको छ । बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुलाई लक्षित गरी विमानस्थलदेखि काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय होटेल तथा मुख्य स्थानसम्म सटल बस सेवा उपलब्ध गराइने भएको हो । उक्त सेवा बिहान पाँच बजेदेखि साँझ सात बजेसम्म सञ्चालन हुनेछ ।

निर्वाचनका दिन सवारी सञ्चालनमा सम्भावित असहजतालाई मध्यनजर गर्दै पर्यटक तथा हवाई यात्रुको आवागमन सहज बनाउन सेवा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । सटल बस सेवा तोकिएका मार्गमार्फत नियमित रूपमा आवतजावत गर्नेछ । पहिलो मार्गअन्तर्गत नेपाल वायुसेवा निगम, न्युरोड, कान्तिपथ, ठमेल, लैनचौर, मल्ल होटेल, नयाँबजार, शंकर होटेल, र्याडिसन, दरबारमार्ग, याक एन्ड यती, नागपोखरी, गौशाला हुँदै द्वारिका होटेलमार्फत विमानस्थलसम्म सेवा सञ्चालन हुनेछ । यस मार्गको समन्वय रामबहादुर नगरकोटीले गर्नेछन् भने बा.१प १३७८ नम्बरको बसमार्फत सेवा उपलब्ध हुनेछ ।

दोस्रो मार्ग महाराजगन्ज चोक, नारायणथान, धुम्बाराहीस्थित रामाडा होटेल, चाबहिल, बौद्धस्थित हायात रिजेन्सी, जोरपाटी हुँदै गौशाला भएर विमानस्थलसम्म सञ्चालन हुनेछ । बा.१प १३२० नम्बरको बस परिचालन गरिने यस मार्गका सम्पर्क व्यक्ति पवन गिरी रहेका छन् ।तेस्रो मार्ग कुपण्डोल, हिमालयन होटेल, त्रिपुरेश्वर, कलंकी, सोल्टी, एकान्तकुना, सातदोबाटो, ग्वार्कोस्थित रोयल टुलिप, तीनकुने, नयाँ बानेश्वर हुँदै एभरेस्ट होटेलमार्फत विमानस्थलसम्म सञ्चालन गरिनेछ । यस मार्गको समन्वय सुरज खड्गुले गर्नेछन् भने बा.१प १०८१ नम्बरको बस परिचालन हुनेछ ।बोर्डका निमित्त निर्देशक सुनील शर्माले निर्वाचनका दिन यात्रुलाई समयमै विमानस्थल पुग्न तथा गन्तव्यसम्म सुरक्षित रूपमा आवतजावतका लागि सटल बस सेवा सञ्चालन हुने बताए ।

सुझावित समाचार