काभ्रेमा कम्युनिस्टलाई विरासत जोगाउन चुनौती

दुई निर्वाचन क्षेत्रमा ४२ उम्मेदवार चुनावी मैदानमा

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकका दुई क्षेत्रमा दल र स्वतन्त्र गरी ४२ जना उम्मेदवार मैदानमा उत्रेका छन् । काभ्रे १ मा कम्युनिस्टलाई आफ्नो विरासत जोगाउने चुनौती छ । यस क्षेत्रमा कांग्रेसबाट गुणराज मोक्तान, एमालेबाट अमित तामाङ, नेपाली कम्युनिस्ट पार्टीबाट दीनानाथ गौतम र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मधुकुमार चौलागाईं प्रतिस्पर्धामा छन् । 

०७९ मा यो क्षेत्रमा कांग्रेस र माओवादीबिच गठबन्धन थियो । माओवादी उम्मेदवार सूर्यमान दोङ विजयी भएका थिए । उनले ३४ हजार ५१२ मतसहित एमाले उम्मेदवार रेशम लामालाई पराजित गरेका थिए । क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार गोकुल बाँस्कोटा ४५ हजार ३४५ मतका साथ विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईंले ३९ हजार ४८२ मत प्राप्त गरेका थिए । 

एमाले २४ हजार ७९ समानुपातिक मतका साथ पहिलो बनेको थियो । कांग्रेसले २१ हजार ७५५, नेकपा (तत्कालीन माओवादी र एकीकृत समाजवादी) ले १९ हजार ७६४, रास्वपाले नौ हजार ७९४, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार ४२९ र नेकपा मालेले ४३७ समानुपातिक मत ल्याएका थिए ।क्षेत्र नम्बर २ मा ३४ हजार ७०५ समानुपातिक मतका साथ एमाले पहिलो भएको थियो । कांग्रेसले २६ हजार ५५६, रास्वपाले १६ हजार ८२४, नेकपा (तत्कालीन माओवादी र एकीकृत समाजवादी) ले १४ हजार ६९, राप्रपाले तीन हजार ७९२ र नेमकिपाले एक हजार २९१ मत प्राप्त गरेका थिए । 

काभ्रे १ मा एक लाख ६१ हजार एक सय मतदाता छन् । जसअनुसार ९५ वटा मतदानस्थल र १९८ वटा मतदान केन्द्र छन् । नौवटा पालिकामध्ये खानीखोला गाउँपालिकामा १७ हजार २४३, चौँरीदेउराली गाउँपालिकामा १५ हजार ५४५, तेमाल गाउँपालिकामा २२ हजार ९०५, धुलिखेल नगरपालिकामा १३ हजार २६४, नमोबुद्ध नगरपालिकामा १७ हजार ६७६, पनौती नगरपालिकामा २४ हजार २८५, बेथानचोक गाउँपालिकामा १४,८७५, महाभारत गाउँपालिकामा १२ हजार ९२५ जना र रोशी गाउँपालिकामा २४ हजार २९१ जना मतदाता छन् । 

काभ्रे २ मा एक लाख ६५ हजार ५११ मतदाता छन् । सातवटा पालिकामध्ये बनेपा नगरपालिकामा ४० हजार ९१०, पाँचखाल नगरपालिकामा ३२ हजार ४०७, मन्डनदेउपुर नगरपालिकामा ३० हजार ४९४, भुम्लु गाउँपालिकामा १८ हजार १५६, पनौती नगरपालिकामा १६ हजार ४२५, धुलिखेल नगरपालिकामा १४ हजार ६६० र बेथनचोक गाउँपालिकामा १२ हजार ४५९ मतदाता छन् । यो क्षेत्रमा ९४ मतदानस्थल र २०२ वटा मतदान केन्द्र छन् । काभ्रेमा एक लाख ६७ हजार ४९९ पुरुष, एक लाख ५९ हजार ११० महिला र अन्य दुईजनासहित तीन लाख २६ हजार ६११ मतदाता छन् । जिल्लामा १८९ मतदानस्थल र चार सय मतदान केन्द्र छन् । 

यस्तो छ दलहरूको दाबी
तीर्थ लामा, सभापति, कांग्रेस काभ्रे
जेन–जी आन्दोलनको मर्मअनुसार कांग्रेस परिवर्तित भई युवालाई नेतृत्व हस्तान्तरण भएको छ । गुणराज मोक्तान र मधु आचार्य कांग्रेसका अब्बल उम्मेदवार हुन् ।राजन भुर्तेल, अध्यक्ष, एमाले काभ्रे
काभ्रेमा एमालेको माहोल उर्लिएकाले दुवै क्षेत्र जित्छौँ । मतदाताको अपेक्षाअनुरूप एमालेले विकास निर्माणको काम हिजो पनि गर्दै आएको र भोलि पनि गर्ने अपेक्षा मतदातामा छ । देश विध्वंस गर्ने र राष्ट्रियताको पक्षमा उभिने शक्तिहरूबिचको प्रतिस्पर्धा भएकाले हाम्रा उम्मेदवारहरूको जित निश्चित छ । 

भोला अर्याल, संयोजक, नेकपा काभ्रे
जेन–जीको भावनाको प्रतिनिधित्व नेकपाले मात्र गर्न सक्ने भएकाले काभ्रेको दुवै क्षेत्रमा नेकपाका उम्मेदवारले जित्नेछन् । नेपालको राष्ट्रियता जोगाउन पनि नेकपाले जित्नुपर्छ भन्ने आममत छ ।  

प्रवीण ढकाल, सभापति, रास्वपा काभ्रे
पुराना पार्टीहरूसँग मतदाताहरू दिक्क भएकाले रास्वपाका उम्मेदवारले जित्ने निश्चित छ । निर्वाचनको समयमा मतदाता भेट्न गाउँ–गाउँ जाने र जितेपछि फर्केर नजाने प्रवृत्तिलाई चिर्न रास्वपाले जित्नुपर्छ भन्ने छ ।

सुझावित समाचार