काठमाडौं ६ र ८ मा रास्वपाले जोगाउला विरासत ?

काठमाडौं ६ मा शिशिरलाई रोक्ने प्रयासमा कांग्रेस र एमाले

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

अघिल्लो निर्वाचनमा काठमाडौं ६ मा विजयी रास्वपालाई यसपटक साख जोगाउने चुनौती छ । रास्वपाले निवर्तमान सांसद शिशिर खनाललाई दोहो¥याएको छ । सांसद निर्वाचित भइसकेपछि उनले केही समय शिक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । उनले लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरेका छन् । नीति निर्माणमा भूमिका खेलिरहेका खनाल पार्टीमा पनि सचिवालय तहकै जिम्मेवारीमा छन् ।

कांग्रेसले कृष्णसबुज बानियाँलाई उम्मेदवार बनाएको छ । कांग्रेस काठमाडौं सभापतिसमेत रहेका उनी पहिलोपटक प्रतिनिधिसभामा उम्मेदवार बनेका हुन् । एमालेले प्रदेश सभाका निवर्तमान सांसद अमन मास्केलाई उम्मेदवार बनाएको छ । उनी ०७९ को निर्वाचनमा काठमाडौं ६ (२) बाट निर्वाचित भएका थिए । उनी बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीसमेत भएका थिए ।

नेपाली कम्युनिस्ट पार्टीले पूर्वविद्यार्थी नेता हिमाल शर्मालाई उम्मेदवार बनाएको छ । पार्टी केन्द्रीय सदस्य शर्मा दोस्रोपटक सांसदका लागि चुनावी मैदानमा छन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी काठमाडौं ६ बाटै उम्मेदवार थिए ।यो क्षेत्रमा १५ दल र पाँच स्वतन्त्र उम्मेदवार छन् । जसमध्ये पाँच महिला छन् । रास्वपाबाट शिशिर खनाल, कांग्रेसबाट कृष्णसबुज बानियाँ, एमालेबाट अमनकुमार मास्के, नेकपाबाट हिमाल शर्मा, राप्रपाबाट उद्धवराज भेटुवाल, उज्यालो नेपाल पार्टीबाट वारिस धरेल, श्रम संस्कृति पार्टीबाट लवली थापा, राष्ट्रिय जनमोर्चाबाट जगतप्रसाद रेग्मी, नेमकिपाबाट इन्द्रकुमारी बज्राचार्य, आजपाबाट सफलता बोगटी, प्रलोपाबाट गिरीराज अर्याल, जय मातृभूमि पार्टीबाट रोमलाल गिरी, माओवादीबाट शुक्रबहादुर लामा र राष्ट्रिय मुक्ति पार्टीबाट इन्दिरा थापा उम्मेदवार छन् । 

काठमाडौं ६ को भौगोलिक विविधता फरक छ । यो क्षेत्र ठमेलदेखि काभ्रेस्थलीसम्म, बागबजारदेखि फुटुङसम्म फैलिएको छ । काठमाडौं महानगरपालिकाका २६, २७ र २८ वडा, तारकेश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १०, ११ र टोखा नगरपालिकाका १, ८, ९, १० र ११ वडा यस क्षेत्रमा समेटिएका छन् । माथिल्लो भेगका साँगला, काभ्रेस्थली, धर्मस्थली र तल्लो भेगका मनमैँजु, नेपालटारलगायत क्षेत्रका साथै कोर सहरी क्षेत्रका आवश्यकता र माग फरक–फरक छन् । पूर्वाधार सुधारदेखि ट्राफिक जामसम्मका समस्या यो क्षेत्रमा छन् । खानेपानी समस्या जटिल रूपमा देखिएको छ । समस्या समाधान गर्ने वाचासहित उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । अर्गानिक तथा व्यावसायिक खेती प्रवद्र्धनको प्रतिबद्धता पनि उम्मेदवारको छ । यो क्षेत्रमा ६७ हजार ७५९ जना मतदाता रहेका छन् भने ३२ मतदानस्थल र ७९ मतदान केन्द्र तोकिएको छ ।

काठमाडौं ६ मा गत ०७९ को निर्वाचनमा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो भएको थियो । रास्वपाल े ११ हजार ९९६ मत ल्याएको थियो । समानुपातिकमा दोस्रो भएको एमालेले आठ हजार १९ मत ल्याएको थियो । तेस्रो स्थानमा आएको कांग्रेसले सात हजार ५७७ मत ल्याएको थियो । चौथोमा राप्रपाले चार हजार ६१० र पाँचौँमा नेकपा (तत्कालीन माओवादी) ले एक हजार ८०२ मत ल्याएको थियो ।

 के भन्छन् प्रमुख दलका उम्मेदवार ?
शिशिर खनाल, रास्वपा

राष्ट्रिय रूपमा हामीले एउटा सपना देखेका छौँ, अबको १० वर्षमा नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकका रूपमा रूपान्तरण गर्ने । नीतिगत सुधार गरेर आर्थिक विकासको काम गर्नुपर्नेछ । सुशासन र परिवर्तन अहिलेको आवश्यकता हो । सांसदका रूपमा विधेयकहरूमा काम गर्ने र आफ्नो क्षेत्रको विषयमा संसद्मा आवाज उठाउने हो । अघिल्लोपटक पनि खानेपानी समस्या, शान्ति सुरक्षा, सार्वजनिक जग्गा मिचिएका विषय, सडक निर्माण, सडक सुरक्षा, प्राकृतिक प्रकोपबाट क्षति भएका संरचनाको पुनर्निर्माणको विषय संसद्मा उठाएको थिएँ । अघिल्लोपटकको प्रयासलाई निरन्तरता दिनेछु । अब पनि विकास निर्माणसँग सम्बन्धित विषयमा तत्तत् सरकारी निकायलाई दबाब दिनेछु । 

कृष्णसबुज बानियाँ, कांग्रेस
यो चुनाव व्यक्तिको होइन, यो संरचना बनाउने कि टालटुल गर्ने भन्ने चुनाव हो । म संरचना बनाउन कानुनी सुधारको स्पष्ट योजना लिएर आएको छु । पाँच वर्ष, पाँच ऐन, पाँच संरचनात्मक परिवर्तनको एजेन्डा अघि सारेको छु । सहरी नदी संरक्षण तथा पुनर्जागरण ऐन, कृषक संरक्षण तथा बजार सुनिश्चितता ऐन, नयाँ सहरी वन तथा भूमि प्रयोग सन्तुलन ऐन, डिजिटल सुशासन तथा भ्रष्टाचार नियन्त्रण ऐन र सुरक्षित खानेपानी तथा भू–जल संरक्षण ऐन ल्याउन पहल गर्नेछु । वातावरण संरक्षण ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा संशोधन गरी नदीलाई प्राकृतिक सम्पदाको कानुनी मान्यता दिलाउने सदनमा आवाज उठाउनेछु । कांग्रेस बदलेर देश बदल्ने अभियानमा हामी अघि बढेका छौँ । 

 अमन मास्के, एमाले
सांसदका रूपमा मेरो भूमिका दुई हिसाबको हुनेछ । नीति निर्माणमा सक्रिय हस्तक्षेप र विकासका लागि बजेट सुनिश्चिततामा भूमिका खेल्नेछु । युवा सशक्तीकरणमा जोड दिनेछु । ‘लर्निङ एन्ड अर्निङ’ अवधारणालाई व्यवहारमा लागू गर्नेछु । युवालाई पढ्दै कमाउने वातावरण सिर्जना गर्नेछु । स्किल डेभलपमेन्ट, सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र आउटसोर्सिङ क्षेत्रमा लक्षित तालिम सञ्चालन गरी नेपालमै बसेर अन्तर्राष्ट्रियस्तरका आइटी सेवा प्रदान गर्न सक्ने जनशक्ति तयार पार्न भूमिका खेल्नेछु । युवालाई अवसरका लागि बिदेसिनुपर्ने बाध्यता हटाउन नेपालमै रोजगारी र आम्दानीको आधार तयार गर्नुको विकल्प छैन । पूर्वाधार निर्माणमा जोड दिनेछु । ट्राफिक जाम न्यूनीकरणमा भूमिका खेल्नेछु । खानेपानी समस्यालाई एकीकृत मास्टर प्लान बनाएर समाधान गर्नेछु ।

हिमाल शर्मा, नेकपा 
जनजीविका, राष्ट्रियता, सुशासन, समृद्धिदेखि शासकीय सुधारसम्मको एजेन्डा लिएर जनताको बिचमा गएका छौँ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहित संघीयतालाई सुदृढीकरण गर्दै सुशासनयुक्त समृद्ध देश बनाउने एजेन्डा हामीसँग छ । त्यसका साथै युवा नेतृत्व सशक्त बनाउने, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगार सिर्जना र स्थानीय समस्याको व्यावहारिक समाधानजस्ता विषयलाई प्राथमिकतामा राखेका छौँ । जनतासँग प्रत्यक्ष संवाद गरी जनताको जीवनमा वास्तविक सुधार ल्याउन चाहन्छौँ । खानेपानी समस्या समाधान गर्ने, सडक निर्माण र मर्मत, ढल व्यवस्थापनको विषयमा काम गर्नेछु । बाँकी जीवन मुलुकको सामाजिक–आर्थिक रूपान्तरण र समृद्धिका लागि केन्द्रित गर्नेछु । विद्यार्थी राजनीतिक यात्रा र सामाजिक अभियन्ताको अनुभवलाई अब संसद्मा नीति निर्माणमा योगदान गर्न चाहन्छु ।

यो क्षेत्रमा यस्तो छ संसदीय इतिहास
०४८ को निर्वाचनमा वामपन्थी नेतृ सहाना प्रधान निर्वाचित भइन् । पञ्चायती व्यवस्थाविरूद्धको ०४६ को आन्दोलनमा उनी संयुक्त वाम मोर्चाका तर्फबाट कमान्डर थिइन् । ०४८ को निर्वाचनमा वामपन्थी नेतृ सहाना प्रधान निर्वाचित भइन् । पञ्चायती व्यवस्थाविरुद्धको ०४६ को आन्दोलनमा उनी संयुक्त वाममोर्चाका तर्फबाट कमान्डर थिइन् ।

०५१ को मध्यावधि निर्वाचनमा पनि उनै प्रधान निर्वाचित भइन् । त्यतिवेला हाल काठमाडौं ६ मा रहेको झोर, काभ्रेस्थली, साङ्ला, फुटुङ आदि क्षेत्र काठमाडौं ५ थियो । त्यहाँबाट तत्कालीन एमालेका राजेन्द्र श्रेष्ठ निर्वाचित भएका थिए । ०५६ को निर्वाचनमा एमालेकै मंगलसिद्धि मानन्धर निर्वाचित भएका थिए । प्रधान र मानन्धरको निधन भइसकेको छ भने श्रेष्ठ हाल नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिमा छन् ।

०६४ को पहिलो संविधानसभा निर्वाचनअघि काठमाडौंमा सातबाट १० निर्वाचन क्षेत्र भयो । ०६४ को निर्वाचनमा माओवादीका हितमान शाक्य निर्वाचित भए । शाक्यले कांग्रेसका भीमसेनदास प्रधान र एमालेका योगेश भट्टराईलाई पराजित गरेका थिए । ०७० को निर्वाचनमा कांग्रेसका भीमसेनदास प्रधान निर्वाचित भए । ०७४ को निर्वाचनमा पनि प्रधान नै विजयी भए । जतिवेला एमाले र माओवादीको वामगठबन्धन थियो, जुन गठबन्धनले प्रतिनिधिसभामा करिब दुईतिहाइ सिट जितेको थियो । गठबन्धनबाट माओवादीका झक्कु सुवेदी उम्मेदवार थिए । वामगठबन्धनलाई समेत पराजित गरेको कांग्रेस गत ०७९ को निर्वाचनमा भने पहिलोपटक निर्वाचनमा सहभागी भएको रास्वपासँग पराजित भयो । गत निर्वाचनमा रास्वपाका शिशिर खनाल निर्वाचित भएका थिए । एमालेका सर्वेन्द्र खनाल दोस्रो र कांग्रेसका भीमसेनदास प्रधान तेस्रो भएका थिए । 

काठमाडौं ६ 
मतदाता : ६७,७५९
महिला : ३४,९५६
पुरुष : ३२,८०२ 
अन्य : १
मतदानस्थल : ३२
मतदान केन्द्र : ७९
१५ दल र पाँच स्वतन्त्र उम्मेदवार, जसमध्ये पाँच महिला 

काठमाडौं ८ मा विराजलाई  तीन दलको चुनौती

काठमाडौंको कोर सिटी काष्ठमण्डप, हनुमानढोकादेखि विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भू क्षेत्र समेटिएको र नेवार समुदायको बाक्लो बस्तीका रूपमा परिचित काठमाडौं ८ मा चार उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ । ०७९ को निर्वाचन जितेका रास्वपका विराजभक्त श्रेष्ठ दोहोरिएर उम्मेदवार बनेको यो क्षेत्रमा अघिल्लोपटक उनकै प्रतिद्वन्द्वी रहेका सुमन सायमी नेकपाबाट उम्मेदवार छन् ।

कांग्रेसबाट सपना राजभण्डारी र एमालेबाट पूर्वप्रदेश सभा सांसद राजेश शाक्य चुनावी मैदानमा छन् । कांग्रेस र एमालेले पनि पटक–पटक जित्दै आएको क्षेत्र भएका कारण पनि यो निर्वाचनमा श्रेष्ठ, सायमी, भण्डारी र शाक्यबिच नै मुख्य प्रतिस्पर्धा रहेको मतदाताहरू बताउँछन् । चारैजना उम्मेदवारले जितलाई प्रतिष्ठा बनाएर घरदैलो कार्यक्रम अन्तिम चरणमा पुर्याएका छन् । 

०७९ को निर्वाचनमा रास्वपाका विराजभक्त १० हजार ११२ मत ल्याएर निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी हामी नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७९ मत पाएका थिए । अघिल्ला प्रतिद्वन्द्वी सायमी डेढ महिनाअघि नेकपा प्रवेश गरेर फेरि उम्मेदवार बनेका छन् । उनी ०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएका थिए । ०७६ मा तत्कालीन केपी ओली नेतृत्वको सरकारले गुठी विधेयक ल्याउन खोज्दा उनैले नेतृत्व लिएका थिए । 

०७९ को निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादीका साझा उम्मेदवार जीवनराम श्रेष्ठले चार हजार ८८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमालले चार हजार ३८८ र एमालेका शिवसुन्दर राजवैद्यले तीन हजार ८९१ मत प्राप्त गरेका थिए । कांग्रेस उम्मेदवार राजभण्डारी दिवंगत नेता नवीन्द्रराज जोशीकी श्रीमती हुन् । उनै जोशी ०६४ र ०७० को चुनावमा विजयी बनेकाले पनि कांग्रेसले पनि यो क्षेत्रलाई बलियो पकड क्षेत्रकै रूपमा लिने गर्दछ । उनी अघिल्लोपटक समानुपातिक सांसद थिइन् । दिवंगत श्रीमान् जोशीको विरासत जोगाउँदै उनी प्रत्यक्षतर्फबाट सांसद बन्ने दौडमा छिन् । 

उता, एमाले उमेदवार राजेश शाक्य बागमती प्रदेश सभाका पूर्वमन्त्री हुन् । ०७४ को निर्वाचनमा काठमाडौं ८ (१) बाट निर्वाचित शाक्य ०७९ को निर्वाचनमा त्यही क्षेत्रमा प्रदेश सभामा हाम्रो नेपाली पार्टी’का शैलेन्द्रमान बज्राचार्यसँग पराजित भएका थिए । बज्राचार्यले पाँच हजार ४७० ल्याउँदा शाक्यले तीन हजार ७१८ मत मात्रै पाएका थिए । उनी पनि प्रदेश सभाको अघिल्लो हार उल्ट्याउँदै संघीय सांसद बन्ने दौडमा छन् । ०७४ मा काठमाडौं ८ मा एमालेका जीवनराम श्रेष्ठले कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए । एमाले पनि त्यतिवेलाको जित यसपटक फर्काउने गरी अघि बढेको छ । 

निर्वाचन आयोगका अनुसार यो क्षेत्रमा ५७ हजार ८११ मतदाता छन् । जसमा महिला २९ हजार ८९८ र पुरुष मतदाताको संख्या २७ हजार ९१३ रहेको छ । यो क्षेत्रमा काठमाडौं महानगरपालिका वडा नम्बर १३, १५, १९, २०, २३ र २४ तथा नागार्जुन नगरपालिकाका वडा नं. ४ र ५ पर्दछन् । 

 के भन्छन् उम्मेदवार ?
विराजभक्त श्रेष्ठ, रास्वपा

स्थानीय बासिन्दाले नै हाम्रो टोलमा आइदिनुपर्यो भन्नुहुन्छ । इन्द्रजात्रालगायत स्थानीय सांस्कृतिक कार्यक्रममा सहभागी हुने गरेको छु । स्थानीय मानिसका सांस्कृतिक, धार्मिक र अन्य कार्यक्रममा उहाँहरूसरह नै सरिक हुने गर्छु । म स्थानीयको कुरा सुन्दछु र त्यसलाई सम्बोधन गर्ने प्रयास गर्छु । अघिल्लो कार्यकालमा गरेका कामकै कारण फेरि पनि चुनाव जित्ने कुरामा विश्वस्त छु । 

सुमन सायमी, नेकपा 
मैले आवाजविहीनहरूको आवाजको प्रतिनिधित्व गरेको छु । जनताको दुःखसुखमा साथसाथै छु, जनताको पीडामा बोलेको छु र उहाँहरूको मन जित्दै आएको छु । त्यसैले यिनै कुरा नै मेरो जित्ने आधार हुन् । अघिल्लोपटक सांस्कृतिक सम्पदाका एजेन्डाहरू स्थापित गर्न उम्मेदवारी दिएँ । राजनीतिक हिसाबले एजेन्डाहरूको उठानसँगै जग निर्माण भएको छ । यसपटक पहिलेकै माग समायोजन गर्दै अघि बढेको छु ।

सपना राजभण्डारी, कांग्रेस 
यस क्षेत्रका जनताको सुखदुःख नजिकबाट बुझेको, संस्कृति, रहनसहन बुझेको नेवारकी छोरी हुँ । जनताका समस्यालाई नजिकबाट बुझेको छु । राजनीतिक रूपमा मेरो श्रीमान् पार्टीबाटै दुईपटक विजयी बनिसक्नुभएको विगत र महिला उम्मेदवारसमेत भएका कारण पनि जित्ने आधार बलियो छ । जनताको घरदैलोमा राम्रो रेसपोन्स पाएको छु, त्यसैले चुनाव जित्ने बलियो आधार छ ।

 राजेश शाक्य, एमाले 
भूकम्पमा ढलेको काष्ठमण्डप मेरै नेतृत्वमा निर्माण भएको हो । क्षेत्रको विकास निर्माणदेखि हरेक प्रकारका गतिविधिमा लामो समयदेखि सक्रिय छु । विकास निर्माण होस् या सामाजिक सम्बन्ध सबै हिसाबले पूर्वजनप्रतिनिधिका रूपमा पनि जनतासँग प्रत्यक्ष जोडिँदै आएको छु र हरेक समस्या समाधान गर्ने प्रयास गर्दै आएको छु । त्यसैले मलाई यस क्षेत्रका जनताले सुखदुःखका साथीका रूपमा बुझेका छन् र सही व्यक्तिलाई सही ठाउँमा चुनेर मलाई विजय गराउनुहुनेछ भन्ने कुरामा ढुक्क छु । 

 काठमाडौं ८ 
मतदाता : ५७८११
महिला : २९८९८
पुरुष : २७९१३
मतदानस्थल : २३
मतदान केन्द्र : ६५
उम्मेदवार : २२

सुझावित समाचार