काठमाडौं १० मा कांग्रेसलाई साख जोगाउने चुनौती

ह्याट्रिक जित निकालेको कांग्रेसलाई एमाले, नेकपा र रास्वपाले दिँदै छन् टक्कर

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

संघीय राजधानी भित्रिने मुख्य नाका काठमाडौं १० मा पर्छ । महानगरपालिकाले नछुने काठमाडौंको एक मात्र निर्वाचन क्षेत्र पनि यही हो । यहाँ कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका र चन्द्रगिरि नगरपालिकाका २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ वडा पर्छन् । कुनै समय वामपन्थी गढ मानिने यो क्षेत्रमा पछिल्लो तीनवटा निर्वाचनमा कांग्रेस विजयी भयो । ०७० मा कांग्रेसका राजन केसीले कम्युनिस्ट गढ भत्काएका थिए । त्यसयता केसी निरन्तर निर्वाचित भए ।

एमाले–माओवादी गठबन्धन हुँदा ०७४ मा समेत केसी निर्वाचित भएका थिए । यो निर्वाचनमा भने केसी उम्मेदवार छैनन् । जेन–जी आन्दोलनपछि केसीले निर्वाचन नलड्ने घोषणा गरेका थिए । कांग्रेसले हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ । उनी कांग्रेसको काठमाडौं जिल्ला सदस्य हुन् । उनी ०५४ को पहिलो स्थानीय निर्वाचनमा कीर्तिपुर १२ को वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी कांग्रेसको विरासत जोगाउने रणनीतिमा छन् ।

एमालेले विनोद श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उनी एमाले केन्द्रीय सदस्य हुन् । एमालेनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को अध्यक्षसमेत बनेका श्रेष्ठ संविधानसभा सदस्यसमेत हुन् । काठमाडौं १० क्षेत्रमा विभाजित भएपछि एमालेले यो क्षेत्र जित्न सकेको छैन ।  नेपाली कम्युनिस्ट पार्टीले रूपा महर्जनलाई उम्मेदवार बनाएको छ । नेकपाकी केन्द्रीय सदस्य महर्जन पनि संविधानसभा सदस्य हुन् । उनी सशस्त्र विद्रोहदेखि नै पार्टीमा सक्रिय छिन् ।

उनी बेपत्ता परिवारकी हुन् । अघिल्लो निर्वाचनमा गठबन्धन भएका कारण तत्कालीन माओवादीले कांग्रेसलाई समर्थन गरेको थियो । महर्जन ०६४ को विरासत फर्काउने रणनीतिमा छिन् । ०६४ मा नेकपा (तत्कालीन माओवादी)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए । रास्वपाले प्रदीप विष्टलाई उम्मेदवार बनाएको छ । उनी रास्वपा काठमाडौं जिल्ला सभापति हुन् । अघिल्लोपटक तेस्रो भएका विष्टलाई नै दोहोर्याएर रास्वपाले टिकट दिएको हो । रास्वपाको लहर आएकाले यसपटक पहिलो हुने लक्ष्यमा छन् । राप्रपाले बलराम थापालाई दोहोर्याएको छ । 

यो क्षेत्रमा ८३ हजार ३०१ जना मतदाता छन् । जसमध्ये महिला ४२ हजार ७१६, पुरुष ४० हजार ५८३ र अन्य दुई छन् । मतदानस्थल ४७ र मतदान केन्द्र ९८ छन् । यो क्षेत्रमा राप्रपाबाट बलराम थापा, उज्यालो नेपाल पार्टीबाट राकेश न्यौपाने, राष्ट्रिय जनमोर्चाबाट अम्बरबहादुर पौडेल, नेमकिपाबाट विन्द्रा महर्जन, मंगोल नेसनल अर्गनाइजेसनबाट राम रुम्बा, जसपा नेपालबाट भागरित साह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट केशवराज अर्याल, जय मातृभूमि पार्टीबाट विक्रम पाण्डे, श्रम संस्कृति पार्टीबाट धनबहादुर श्रेष्ठ, नेकपा माओवादीबाट रामकुमार भोम्जन र समावेशी समाजवादी पार्टीबाट पूर्णचन्द्र पौडेल उम्मेदवार छन् । 

०४८ मा काठमाडौंका तत्कालीन पाँच निर्वाचन क्षेत्रमध्ये एमालेले चारवटामा जितेको थियो । काठमाडौं १ र ५ मा तत्कालीन महासचिव मदन भण्डारी निर्वाचित भएका थिए । काठमाडौं २ मा मात्रै कांग्रेसका दमननाथ ढुंगाना निर्वाचित भएका थिए । अन्य सबै क्षेत्रमा एमाले विजयी भएको थियो । भण्डारीले यो क्षेत्र अर्थात् तत्कालीन ५ छाडेपछि ०४९ मा भएको उपनिर्वाचनमा एमालेकै कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए । ०५१ मा काठमाडौंं पाँचबाट सात निर्वाचन क्षेत्र भयो । सातवटैमा एमालेले जित्यो । काठमाडौं ७ बाट एमालेकै कृष्णगोपाल श्रेष्ठ निर्वाचित भए । ०६४ को पहिलो संविधानसभा निर्र्वाचनमा तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड निर्वाचित भए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रचण्डलाई पराजित गर्दै कांग्रेसका राजेन्द्र केसी (राजन) निर्वाचित भए । 

 काठमाडौं १० 
मतदाता : ८३,३०१ 
महिला : ४२,७१६
पुरुष : ४०,५८३
अन्य : २
मतदानस्थल : ४७
मतदान केन्द्र : ९८ 
दलका १५ र स्वतन्त्र १० उम्मेदवार, जसमध्ये पाँच महिला छन् 
 

सुझावित समाचार