गर या मरको स्थितिमा भारत र वेस्ट इन्डिज

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

‘गर या मर’को स्थितिबाट वेस्ट इन्डिज र भारत सेमिफाइनल प्रवेशका लागि आज प्रतिस्पर्धा गर्दै छन् । सुपर एटको समूह–१ को निर्णायक खेल कोलकाताको इडेन गार्डेनमा हुनेछ । यो खेलसँगै दुईमध्ये एक टिमले सेमिफाइनल स्थान सुरक्षित गर्नेछन् । हार्ने टिम सुपर एटबाटै बाहिरिनेछ । यो समूहबाट दक्षिण अफ्रिका लगातार जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरिसकेको छ । 

समूहमा भारत र वेस्ट इन्डिज दुवैको समान दुई अंक छ । तालिकामा भारतभन्दा वेस्ट इन्डिजको नेट रनरेट बलियो रहेको छ । दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पछिल्लो खेलमा नौ विकेटले हराएको थियो । 

यो हारपछि वेस्ट इन्डिजले भारतसँगको खेल कुर्नुपरेको हो । यही जितपछि भारतको पनि सम्भावना खुलेको थियो । दक्षिण अफ्रिकाविरुद्ध जित निकालेको अवस्थामा वेस्ट इन्डिज पनि अन्तिम चारमा पुग्ने थियो । वेस्ट इन्डिजले १० वर्षअघि इडेन गार्डेनमा फाइनल जित्दै उपाधि उचालेको थियो । भारत सुपर एटको पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएपछि दबाबमा आएको थियो । दोस्रो खेलमा भने जिम्बावेलाई ७२ रनले हराउँदै सम्भावना बढायो । अभिषेक शर्माले पहिलो तथा हार्दिक पाण्ड्याले प्रतियोगिताकै दोस्रो अर्धशतक बनाएपछि भारत विश्वकपकै सबैभन्दा ठुलो स्कोर बनाउन सफल भएको थियो । भारत यही लय वेस्ट इन्डिजविरुद्ध देखाउन चाहन्छ । भारत यसअघि समूह ‘ए’मा लगातार चार खेल जित्दै सुपर एटमा प्रवेश गरेको थियो । समूह विजेता बन्ने क्रममा अमेरिकालाई २९ रन, नामिबियालाई ९३ रन, पाकिस्तानलाई ६१ रन तथा नेदरल्यान्ड्सलाई १३७ रनले हराएको थियो । वेस्ट इन्डिज पनि समूह ‘सी’को विजेता बन्दै सुपर एटमा प्रवेश गरेको थियो । पहिलो खेलमा स्कटल्यान्डलाई ३५ रन, दोस्रो खेलमा इंग्ल्यान्डलाई ३०, तेस्रो खेलमा नेपाललाई नौ विकेट तथा चौथो खेलमा इटालीलाई ४२ रनले पराजित गरेको थियो । 

बुमराह र हेटमेयरप्रति सबैको नजर 
भारत र वेस्ट इन्डिजबिच खेल हुँदा स्टार खेलाडीहरू जसप्रित बुमराह र सिमरन हेटमेयर सबैको नजरमा पर्नेछन् । बुमराहले यो विश्वकपमा सात विकेट लिइसकेका छन् । उनले पाँच खेलमा १२.८५ औसतमा ५.६२ इकोनोमी राखेका छन् । प्रतियोगितामा वेस्ट इन्डिजका खेलाडीलाई रोक्न बुमराह तयार देखिन्छन् । वेस्ट इन्डिजका हरेक ब्याटर जुनसुकै बलरमाथि हाबी हुने क्षमता राख्छन् । उनीहरूले आफूलाई प्रमाणित पनि गरेका छन् । वेस्ट इन्डिजविरुद्ध भारतले मुख्य हतियार बुमराहलाई बनाउनेछ । 

यता, हेटमायर आक्रामक ब्याटिङ गरिरहेका छन् । उनी हरेक खेलमा विपक्षीविरुद्ध आक्रामक देखिन्छन् । यस विश्वकपमा हेटमायरले दुई अर्धशतकसहित दुई सय २१ रन बनाएका छन् । उनको स्ट्राइक रेट १८२.६४ छ । उनले बनाएको सबै अर्धशतक कम बलमा छन् । त्यसैले पनि हेटमायर इडेन गार्डेनमा सबैको नजरमा पर्नेछन् । भारत र वेस्ट इन्डिज सन् २०१६ पछि पहिलोपटक विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन् । भारतका तिलक बर्मा भन्छन्, ‘हामी वेस्ट इन्डिजविरुद्ध निडर भएर खेल्नेछौँ ।’

See More On

सुझावित समाचार