रोल्पाको लिबाङमा शनिबार आयोजित नेपाली कम्युनिस्ट पार्टीको चुनावी सभाबाट फर्किंदै गरेको बस दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार १३ जनाको अवस्था मध्यम रहेको र जसमध्ये ५ जनालाई बुटवल सिटी अस्पतालमा रेफर गरिएको छ।
सुनील स्मृति गाउँपालिका–३, मिझिङ उपल्लो गाउँमा ना ५ ख १२३१ नम्बरको बस घुम्तीमा दुर्घटनामा परेको हो । सोही गाउँपालिका- १, घोडागाउँनिवासी नरेश केसीले चलाएको उक्त बस क्षमताभन्दा धेरै सवार भएका कारण ब्रेक फेल भई अनियन्त्रित भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अन्य घाइतेहरूको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बुझिएको छ ।