हिमाली पहाड छिचोल्दै कठिन यात्रामा मतदान केन्द्र पुग्दै छन् निर्वाचन टोली

याङ्मा मतदान केन्द्रका अधिकृत माधव खड्का भन्छन्– बाटाेमा घरहरु नभएका कारण पार्टीमा बस्नुपर्ने अवस्था छ

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण

ताप्लेजुङकाे उत्तरी हिमाली क्षेत्रका दुर्गम बस्तीहरूमा निर्वाचन टोली पुग्ने र सामग्री पुर्याउने कार्य तीव्र गतिमा अघि बढेको छ। चार हिमाली मतदान केन्द्रमध्ये दुई केन्द्रका कर्मचारी सामग्रीसहित शनिबार साँझ पुगेका छन्। बाँकी दुई टोली क्रमशः आइतबार र सोमबार बिहान मात्र पुग्ने भएका छन् ।

 हिमाली पहाड छिचोल्दै गएको टोली शनिबार साँझसम्म ओलाङ्चुङगोलाका मतदान अधिकृत तथा सिरिजंगा गाउँपालिकाका प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेले ओलाङचुङगोला पुगेको बताए । ओलाङचुङगोला कै याङ्मा जाने टोली शनिबार(आज) भने ओलाङचुङगोलामा बास बसेको छ । भोली आइतबारपनि याङ्मा पुग्न नसिकिने र बाटाेमा घरहरु नभएका कारण पार्टीमा बस्नुपर्ने अवस्था देखिएको याङ्मा मतदान केन्द्रका अधिकृत माधव खड्काले जानकारी दिए ।

ग्याब्लामा खटिएका मतदान अधिकृत तथा मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल गौतमले ग्याब्ला मतदान केन्द्रमा पुगेको बताए । घुन्सा जाने टोली ग्याब्लामा नै बास बसेको र आइतबार बिहान घुन्सा मतदानकेन्द्रमा पुग्ने बताएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक देवेन्द्र मेन्याङ्वो मतदान अधिकृत हुन् । भौगोलिक विकटता, अधिकांश दूरी पैदलै पार गर्नुपर्ने बाध्यता र पछिल्ला दिनमा देखिएको मौसमको बदलीका कारण पानी तथा सम्भावित हिमपातको जोखिमलाई ध्यानमा राख्दै जिल्ला निर्वाचन समन्वय समितिले शुक्रबार बिहानै सदरमुकाम फुङलिङबाट मतदान अधिकृत, कर्मचारी र सुरक्षा टोलीलाई ती चार केन्द्रमा पठाएको थियो ।  

निर्वाचन सम्पन्न भएपछि ती हिमाली केन्द्रका मतपेटिका भने हेलिकोप्टरमार्फत मतगणनास्थल फुङलिङ ल्याइने व्यवस्था गरिएको छ । हिमाली भेगको कठोर मौसम र कठिन भौगोलिक अवस्थाबीच पनि निर्वाचन तयारीलाई समयमै सम्पन्न गराउने लक्ष्यसहित कर्मचारीहरू जोखिमपूर्ण यात्रा गर्दै केन्द्रमा पुगिरहेका छन् । निर्वाचन कार्यालय ताप्लेजुङका प्रमुख धननाराण श्रेष्ठका अनुसार यसपटक जिल्लाभर ८० मतदान स्थल र १२७ मतदान केन्द्र कायम छन् ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार भौगोलिक दुर्गमता र पहुँचका आधारमा २८ मतदानस्थल ‘अति संवेदनशील’, २५ ‘संवेदनशील’ र २७ ‘सामान्य’ सूचीमा वर्गीकृत गरिएका छन् ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदाताको संख्या जिल्लामा ९० हजार तीन सय २७ रहेको छ। जसमा पुरुष ४८ हजार दुई  सय ८५ र महिला ४२ हजार ४२ छन् ।  

सुझावित समाचार