सिराहाको सुखीपुर नगरपालिका ८ स्थित चेक प्वाइन्टबाट नगद र चाँदी ल्याएको प्रमाण हुँदाहुँदै भारतीय युवकलाई सशस्त्र प्रहरीले स्रोत नखुलेको भन्दै जबर्जस्ती पक्राउ गरी फसाउन खोजेको स्थानीय आफन्तले आरोप लगाएका छन् ।
भारत बिहार राज्यको लदनिया थानाअन्तर्गत पर्ने पर्साही सिदपा गाउँका करिब २९ वर्षीय मनोजकुमार साहलाई ९ फागुनको दिउँसो ३ बजेतिर सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प सुखीपुरबाट खटिएका सशस्त्र प्रहरी र निर्वाचन प्रहरीले जबर्जस्ती पक्राउ गरिएको नातामा भिनाजु पर्ने गोपाल महतोले गुनासो गरे।लहानस्थित नेमचन्द सारडा एन्ड सन्स सुन चाँदी पसलमा बन्धकबाट छुटाएको ३७ तोला चाँदी र सुन बिक्री गरेको नेपाली पाँच लाख रुपैयाँ तथा भारतीय मुद्रा नौ हजार रुपैयाँ र भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित साहलाई स्रोत नखुलेको भन्दै पक्राउ गरी सुरक्षा बेस क्याम्प पुर्याएको उनले बताए ।
‘सालोलाई सुरक्षा बेस क्याम्प पुर्याइएको थाहा पाएपछि मसहित स्थानीय व्यवारी अगुवा तथा आफन्तहरु भेट्न गयौं’ उनले भने ‘सुरक्षा बेस क्याम्प प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक विजयकुमार चौधरीलाई नगद पाँच लाख रुपैयाँ ल्याएको स्रोतसहित चाँदीको विषयमा सालोसँगै रहेको आधिकारिक कागजात पनि हेर्यौं, तर छोडेनन्।’ पीडितका अर्का आफन्त शम्भु पूर्वेले सुखीपुरबाट पक्राउ गरिएको व्यक्तिको मुचुल्का भने बरियारपट्टी बोर्डर क्षेत्रमा उठाइएको दाबी गरे। बरामद गरिएको नगद र चाँदीको विषयमा स्थनीय स्थतरमै मुचुल्का नगरी बोर्डर क्षेत्रमा पुर्याएर गरिनु नै शंकास्पद रहेको उनले बताए ।
पीडित मनोजका आफन्त र स्थानीयले सुरक्षा बेस क्याम्पकै अगाडि शुक्रबार अपरान्ह पत्रकार सम्मेलनमार्फत बरामद गरिएका नगद, चाँदी र मोटरसाइकल फिर्तासहित रिहाइ गरिनु पर्ने अन्यथा कानुनी उपचारका लागि अदालत जाने बताए । उपलब्ध प्रमाणका आधारमा निष्पक्ष छानबिन गरी जबर्जस्ती गर्ने प्रहरी विरुद्ध कारबाही गरिनु पर्ने उनीहरुको माग छ ।
कहाँबाट आयो नगद र चाँदी ?
सीमावर्ती गाउँ हुनुका साथै सुखीपुरमा आफ्नी दिदीको विवाह भएकाले मनोजको सुखीपुर, लहान क्षेत्रमा प्रायः आवतजावत हुने गरेको आफन्त बताउँछन् । ‘करिब तीन वर्षअघि सालो मनोजको विवाह हुँदा सासु दुलारीदेवीको करिब दुई तोला सुन र ५७ तोला चाँदीको गहना मेरा बाबु रामप्रकाश साह सुँडीले लहानमा बन्धक राखेर केही रकम निकालि दिनु भएको थियो’ भिनाजु गोपालले सुनाए ।
‘क्यान्सर पीडित ससुरा उमेदलाल साह सुँडीको तीन महिनाअघि निधन भएपछि सालोलाई थप आर्थिक भार परेको थियो’ उनले भने ‘ससुराको उपचारसँगै काजकिररियामा लागेको ऋण तिर्न नसकेपछि बन्धकमै राखेको सुन बिक्री र चाँदी निकालेर घर फर्किंदै थिए’ उनले भने ‘सशस्त्र प्रहरीले स्रोत नखुलेको भन्दै जबर्जस्ती गर्यो ।’
सक्कल काजजात ल्याए फिर्ता हुन्छ : सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वाटर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले निर्वाचन लक्षित चेक जाँचको क्रममा भारतीय नागरिकलाई मोटरसाइकल, नगद र चाँदीसहित नियन्त्रणमा लिइएको बताए । ‘चेकजाँचका लागि मोटरसाइकल रोक्न खोज्दा भाग्न खोजेको भन्ने रिपोर्ट छ’ उनले भने ‘तथापि उनलाई रोकेर नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा कम्मरमा लुकाएको नगद पाँच लाख र चाँदी बरामद भएको हो ।’
तत्काल नगद ल्याएको स्रोत र चाँदी सम्बन्धी कागजात देखाउन नसकेको दावी गर्दै उनले त्यसपछि माडर भन्सारमा बुझाइएको बताए । ‘माडर ल्याएपछि नगदको स्रोत र चाँदी सम्बन्धी सक्कल कागजात ल्याएको भन्ने सुनेको छु’ उनले भने ‘भन्सारमा सक्कल कागजात बुझाएपछि प्रकृया पुर्याएर बरामद गरिएको नगदसहित चाँदी फर्ता हुन्छ ।’