परराष्ट्र मन्त्रालयले इरानमाथि इजरायली हमलापछि शनिवार मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले विशेष गरी इरान र इजरायलमा बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै इजरायल र इरानमा रहेका नेपालीहरूलाई सम्बन्धित देशका आधिकारिक निकायले जारी गरेका सुरक्षा निर्देशन तथा परामर्शहरू कडाइका साथ पालना गर्न अनुरोध गरेको हो।
सूचनामा सकेसम्म घरभित्रै बस्न, अत्यन्त सतर्क रहन, आवश्यक सावधानी अपनाउन तथा आफ्नो बसोबास क्षेत्रका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन सुझाव दिइएको छ। साथै, सम्बन्धित देशका निकायबाट पूर्वस्वीकृति नलिई अनावश्यक यात्रा नगर्न पनि आग्रह गरिएको छ।
परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई काठमाडौंस्थित मन्त्रालय, तेल अविवस्थित नेपाली राजदूतावास र दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरेको छ। इजरायल वा इरान भ्रमण गर्ने योजना बनाएका नेपाली नागरिकलाई हालको अवस्था सामान्य नहुँदासम्म यात्रा स्थगित गर्न पनि परराष्ट्रको सूचनामा उल्लेख गरिएको छ।
अन्य मध्यपूर्वी देशहरूमा बसोबास तथा कार्यरत नेपाली नागरिकलाई पनि त्यहाँका सम्बन्धित निकायले जारी गरेका सुरक्षा सल्लाह पालना गर्दै विकसित घटनाक्रमबारे निरन्तर जानकारी राख्न परराष्ट्रले आग्रह गरेको छ।