नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर–जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेलसेवा तीन दिनका लागि पूर्ण रूपमा बन्द गर्ने भएको छ।
कम्पनीको केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्ति–सुरक्षा प्रत्याभूति गर्ने उद्देश्यले १९ फागुनदेखि २१ फागुनसम्म भंगाहा–जनकपुर–जयनगर खण्डमा सञ्चालित रेलसेवा बन्द रहनेछ।
साथै, २२ फागुन (शुक्रबार)देखि साबिकबमोजिम नियमित रेलसेवा सञ्चालनमा आउने सूचनामा उल्लेख गरिएको छ।
यसैबिच, निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले धनुषाका भारतसँग जोडिएका सबै सीमानाका तीन दिनका लागि बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनाअनुसार निर्वाचनलाई लक्षित गर्दै १८ देखि २१ फागुन राति १२ बजेसम्म जिल्लाका सम्पूर्ण सीमानाका बन्द रहनेछन्। मतदान अवधिभर आवतजावतमा नियन्त्रण गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सीमा बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।
अत्यावश्यक सेवाबाहेक सीमा पार आवागमन पूर्ण रूपमा रोक लगाइने जनाइएको छ। निर्वाचन प्रक्रिया भयरहित र निष्पक्ष बनाउन सुरक्षा निकायसँग समन्वय गरी सीमा क्षेत्रमा निगरानी कडा पारिने सूचनामा उल्लेख छ।