म असल, अरू सबै खराब भन्ने मनोवृत्तिले देशलाई द्वन्द्वमा लैजान्छ : गगन थापा

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूबाहेक सबै खराब भन्ने मनोवृत्तिले देशलाई फेरि द्वन्द्वमा लैजाने बताएका छन्।

शुक्रबार बुटवलमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले लोकतन्त्र चमत्कार गर्ने पद्धति नभएकाले मान्छेको राक्षसीकरण वा देवत्वकरण गर्न नहुनेमा जोड दिए।

‘यहाँ कुनै एउटा व्यक्ति आएर चमत्कार गर्ने होइन। तपाईंले मलाई प्रधानमन्त्री बनाउनुभयो, मैले प्रधानमन्त्री भएर चमत्कार गर्ने, कसैले चमत्कार गर्दैन । कसैले चमत्कार गर्न पनि सक्दैन । डेमोक्रेसी भनेको व्यक्तिले चमत्कार गर्ने पद्धति नै होइन। यहाँ हामीले मानिसलाई देउता किन बनाउँछौँ ? वा मान्छेलाई राक्षस किन बनाउँछौँ ?’ उनले प्रश्न गरे।

लोकतन्त्रमा नेताले हरेक व्यक्तिभित्रको असल चाहनालाई बाहिर ल्याएर एक–आपसमा जोड्नुपर्ने प्रस्ट पार्दै थापाले भने, ‘त्यसैले कांग्रेसले भनेको छ एक्लै गर्ने होइन। कांग्रेस टिम नेपालको अवधारणासहित आएको छ। यो टिम नेपाल भनेको ६ हजार ७४३ वडाको वडाध्यक्ष पनि हो, ७५३ पालिका पनि हो।’

प्रधानमन्त्री एक्लैले गरेर गाउँगाउँसम्म विकास नपुग्ने सभापति थापाले स्पष्ट पारे। दलका घोषणापत्रमा लेखिएका काम गर्न दर्जनौँ ठाउँमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्दै थापाले भने, ‘अनि त्यो संविधान संशोधन गर्न राष्ट्रिय सभा चाहिँदैन ? एमाले, माओवादी, रास्वपा चाहिँदैन ? म एक्लै चलाउँछु, म असल बाँकी रहेका सबै खराब भन्ने मनोवृत्तिले देशलाई फेरि अर्को द्वन्द्वमा लैजान्छ। दुर्घटनामा लिएर जान्छ।’

सुझावित समाचार