बर्दघाट लगानी फोरम सम्पन्न : साना उद्योग प्रवर्द्धन गर्न उद्योगीको माग

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

नवलपरासीको बर्दघाटमा साना तथा मझौला उद्योग स्थापना गर्ने गरी औद्योगिक ग्राम विकास गरिनुपर्नेमा उद्योगी–व्यवसायीले जोड दिएका छन् । नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा बर्दघाटमा आयोजित अन्तक्र्रियामा लगानीकर्ताले ‘बर्दघाट एसएमई भिलेज’ नै समुन्नत नवलपरासीको आधार बन्न सक्नेतर्फ ध्यानाकर्षण गराएका हुन् । 

परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले बर्दघाट एसएमई ग्राममार्फत यस क्षेत्रमा साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्न सकिने बताए । उद्योग स्थापना गर्दा लाग्ने लगानीमध्ये एकतिहाइ जग्गामा खर्च गर्नुपर्ने बाध्यता रहेकाले औद्योगिक ग्रामको विकास आवश्यक रहेकोमा उनले जोड दिए । सरकारका पूर्वसचिव अर्जुन पोखरेलले एक पालिका एक औद्योगिक ग्राम अवधारणाअनुसार बर्दघाट एसएमई भिलेज अगाडि बढाइएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले उद्योग ग्रामले औद्योगिकीकरणमा टेवा दिने बताए । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेश, भारतले सफल रूपमा औद्योगिक पार्क सञ्चालन गरिरहेको र उनीहरूको अर्थतन्त्रमा योगदान दिएको उल्लेख गर्दै नेपालले पनि अन्य देशले जस्तै सुविधा दिएर औद्योगिक पार्क–ग्राम सफल बनाइनुपर्ने बताए । यस्तै, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ताले स्थानीयको सहयोगका कारण एक वर्षभित्रै आफूले बर्दघाटमा कजरिया टायल उद्योग स्थापना गर्न सफल भएको बताए । 

बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले साना उद्योगहरूको प्रवर्द्धनका लागि औद्योगिक ग्राम आवश्यक रहेको बताए । उनले स्थानीय उत्पादनसँगै राष्ट्रियस्तरमा स्थापित उद्योगहरूले यस क्षेत्रमा उद्योग स्थापना गर्ने विश्वास व्यक्त गरे । उद्योग व्यापार संघ बर्दघाटका उपाध्यक्ष लीलाहरि पौडेलले बर्दघाटको भौगोलिक पहुँच उद्योग स्थापनाका लागि महत्वपूर्ण रहेको बताए ।

सुझावित समाचार