२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा ५ का उम्मेदवार एमाले अध्यक्ष केपी ओलीले आफैँले नाम फेरेको एक दशकपछि आदिवासी रंगशालालाई सम्झिएका छन् । कमल– ५ मा रहेको आदिवासी रंगशालाको ओलीकै दबाबमा नाम फेर्दै मदन भण्डारी रंगशाला निर्माण गर्ने भनेपछि विवादका कारण यो रंगशाला अलपत्र बनेको थियो । तर, एक दशकपछि ओलीले फेरि आदिवासी रंगशाला सम्झिएका छन् ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन प्रतिस्पर्धा गर्न आएपछि अप्ठ्यारोमा परेका ओलीले आदिवासी जनजाति समुदायलाई रिझाउने प्रयास गर्दै प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । प्रतिबद्धतापत्रमा झापाको कमल गाउँपालिका– ५ मा अलपत्र रहेको आदिवासी रंगशालालाई आधुनिक स्तरको रंगशालाका रूपमा निर्माण सम्पन्न गर्न पहल गर्ने उल्लेख छ । यो रंगशाला एक दशकअघि ओलीकै कारण अलपत्र परेको थियो । एक दशकपछि ओलीले आदिवासी रंगशाला सम्झिएका छन् ।
नाम नै परिवर्तन
एक दशकबिचमा पटक–पटक प्रधानमन्त्री हुँदा पनि ओलीकै निर्वाचन क्षेत्रको यो रंगशाला निर्माण अलपत्र परेको थियो । एमालेसँगको गठबन्धनमा कांग्रेस नेतृत्वको सरकारले आर्थिक वर्ष ०७२/७३ को बजेटमा आदिवासी रंगशालाको नाम परिवर्तन गर्दै मदन भण्डारी रंगशाला नाम राखेपछि विवाद उत्कर्षमा पुग्दा निर्माण अलपत्र बन्यो ।
एमाले अध्यक्ष ओलीकै दबाबमा सरकारले त्यसवेला नाम परिवर्तन गरेको थियो । रंगशालाका लागि सम्याइएको त्यो ठाउँमा ०६७ अघि नौ सयभन्दा बढी अदिवासी जनजाति समुदायको समाधिस्थल थियो।आदिवासी जनजातिको चिहान भत्काउने र त्यहाँ आदिवासी रंगशाला निर्माण गर्ने सहमति भयो । रंगशालासँगै दिवंगत पुर्खाको स्मृतिमा पार्क निर्माण बनाउने सहमति भएपछि आदिवासी जनजाति समुदाय चिहान भत्काउन सहमत भएको थियो। ०६७ मा तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले आदिवासी रंगशालाको नाममा शिलन्यास गरेकी थिइन्। नाम परिवर्तन हुनुअघि पनि आदिवासी रंगशालाको नाममा सरकारले चार करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
लागत बजेट विनियोजन
आदिवासी रंगशालाका नाममा आर्थिक वर्ष ०६७/६८ मा एक करोड रुपैयाँ विनियोजन भएको थियो। आर्थिक वर्ष ०७०/७१ मा डेढ करोड र ०७१/७२ मा ३५ लाख बजेट विनियोजन भएको थियो । त्यसवेला समाधिस्थल हटाएर मैदान सम्याउने, समाधिस्थलको व्यवस्थापन गर्ने, स्मारक निर्माण गर्ने, घेराबार गर्ने र प्यारापिट निर्माणको थालनी भएको थियो । यद्यपि, प्यारापिट निर्माणको काम पूरा हुन नसक्दा अहिले काम नलाग्ने अवस्थामा छ । आर्थिक वर्ष ०७२/७३ को बजेट भाषणमा तत्कालीन सरकारले आदिवासी रंगशालाको नाम परिवर्तन गरेर मदन भण्डारी रंगशालाको नाममा ४० लाख बजेट विनियोजन गरेसँगै विवाद भएको थियो।
त्यसपछि भने रंगशाला निर्माणको काम हुन सकेन । त्यसपछि मदन भण्डारी रंगशालाको नाममा बजेट आए पनि कार्यान्वयन हुन सकेन । तर, ओली सत्ताबाहिर भएर आर्थिक वर्ष ०८०/८१ मा सरकारले एक दशकपछि आदिवासी रंगशालाकै नाममा एक करोड बजेट विनियोजन गरेपछि घेराबाराको काम भएको छ । आर्थिक वर्ष ०८०/८१ को बजेट आउँदा ओली सत्ताबाहिर थिए । त्यसवेला कांग्रेस र माओवादी सत्तागठबन्धनमा थिए । त्यही वेला आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानमा रंगशाला निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसवेला झन्डै एक दशकपछि आदिवासी रंगशालाको नाममा यो बजेट विनियोजन भएको थियो । ओली सत्ताको नेतृत्वमा पुगेपछि चालू आर्थिक वर्षमा आएको बजेटमा पनि आदिवासी रंगशाला समेटिन सकेन ।
पूर्वप्रधानमन्त्री ओली भन्छन्– रंगशाला बनाउन तपाईंहरू सहमत भए रंगशाला बन्छ । अर्बौँको रंगशाला बनाउनु छ, यहाँ उपभोक्ता समिति बनेको छ। उपभोक्ता समिति त फुटबल खेल्ने होला । रंगशाला बनाएपछि फुटबल खेल्न जतिवेला पनि पाइँदैन । केही राजनीतिक दल बनाउन दिन्नौँ भनेर उफ्रने, अनेक समस्या पैदा गर्नेतिर लागे । यो रंगशालाको कुरा मैले उठाएको हो । अरूको कल्पना पनि थिएन । प्रहरीसँग जग्गा पनि मैले लिएको हो।
आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका सदस्य देवी आङ्देम्बे भन्छन्– यसपटकको निर्वाचनमा ओली अप्ठ्यारोमा छन्। आदिवासी जनजाति समुदायको मत फकाउनका लागि प्रतिबद्धतापत्रमा आदिवासी रंगशाला राखेका हुन् । बन्ने भए त उनी पटक–पटक प्रधानमन्त्री हुँदा बन्थ्यो। कांग्रेस, माओवादी सत्तामा पुग्दा बजेट आउँछ, ओली पुगेपछि बजेट काटिन्छ । ओलीको विगतको चरित्र हेर्दा झुक्याउन खोजेको देखिन्छ । अप्ठ्यारो परिस्थिति आएपछि आदिवासी रंगशाला सम्झिएका हुन् ।