नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न दलहरूका कस्ता छन् योजना ?

अधिकांश दलले उच्चपदस्थको सम्पत्ति छानबिन, भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताको वाचा गर्दै देशलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने घोषणा गरेका छन्, तर कार्यान्वयनमा आशंका

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

२१ फागुनमा हुने निर्वाचनमा होमिएका मुख्य दलले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने योजनालाई आफ्ना घोषणापत्रमा प्राथमिकतामा दिएका छन् । तर, दलहरूका विगतका अभ्यास र नजिरले उनीहरूका घोषणापत्रअनुसार काम हुनेमा सरोकारवाला विश्वस्त देखिँदैनन् । नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा परेको एक वर्ष बितिसकेको छ ।

‘ग्रे लिस्ट’बाट बाहिर निस्कन सरकारले गरेको तयारी पर्याप्त नभएको भन्दै सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाले सजग गराउँदै आएको छ । २१ फागुनको निर्वाचनपछि बन्ने नयाँ सरकारले ‘ग्रे लिस्ट’बाट बाहिर निस्कन विशेष पहल गर्नुपर्ने देखिन्छ । दलहरूले आफ्ना घोषणापत्रमा ‘ग्रे लिस्ट’बाट बाहिरिने विषयलाई प्राथमिकता दिएको विषय सकारात्मक भए पनि विश्वस्त हुने अवस्था नरहेको अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले बताए । ग्रे लिस्टबाट कहिलेसम्म र कसरी निस्कने भन्ने स्पष्ट खाका नदेखिएका कारण घोषणापत्र विश्वसनीय नदेखिएको उनको भनाइ छ । ‘विगत तीन–चार चुनावका घोषणापत्रमा भ्रष्टाचारमा शून्य सहनशीलता भनिएका छन्, तर भ्रष्टाचार झन्–झन् बढेको छ,’ उनले भने, ‘घोषणा र भाषणभन्दा पनि कार्यशैली र व्यवहार महत्वपूर्ण हो ।’ 

सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी मापदण्ड तय गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले गत वर्ष ९ फागुनमा नेपाललाई ग्रे लिस्टमा राखेको थियो । ग्रे लिस्टमा राखिएको दुई वर्षभित्र समेत प्रणालीगत सुधार नगरे नेपाल कालोसूचीमै पर्नेछ । 

तत्कालीन सरकारले एक वर्षभित्र ग्रे लिस्टबाट बाहिर आउने लक्ष्य लिएको थियो । तर, एफएटिएफको पछिल्लो समीक्षाले नेपालले सुधारका कार्य अघि बढाएको भए पनि त्यो पर्याप्त नभएको भन्दै नेपाललाई ग्रे लिस्टमै राखेको हो । नयाँ सरकारले ग्रे लिस्टबाट बाहिर आउन एफएटिएफले सुझाएका मुख्य सात सुधार गर्नुपर्नेछ । दलहरूका घोषणापत्रले पनि ती काम गर्ने घोषणा गरेको देखिन्छ । 

सबै मुख्य दलले उच्चपदस्थको सम्पत्ति छानबिन गर्ने, अवैध सम्पत्ति जफत गर्ने, सार्वजनिक पदमा जानुपूर्व सम्पत्ति घोषणा गर्नुपर्ने व्यवस्था गर्नेजस्ता विषयलाई प्राथमिकताका साथ आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् । दलहरूले सुशासन र पारदर्शिताको नारा राखेका छन्, भ्रष्टचार तथा अनियमितता रोक्ने घोषणा गरेका छन् । नियम–कानुन सुधार र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने उद्घोष गरेका छन् ।

सारमा ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने उपाय यिनै हुन् । दलहरूले सुशासन तथा पारदर्शिता कायम गर्दै भ्रष्टाचार रोक्न सके ग्रे लिस्टबाट बाहिर निस्कन सकिने जानकार बताउँछन् । आफ्नो घोषणापत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘ग्रे लिस्ट’लाई समेटेका छन् । रास्वपा, जसपालगायत दलले भने सम्पत्ति छानबिन तथा अवैध सम्पत्ति जफत, भ्रष्टाचारको अन्त्य, सुशासन र पारदर्शिताको विषयमा उल्लेख गरेको भए पनि सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट बाहिर निस्कने विषयमा मौन छन् । 

एमालेले वित्तीय कारोबारमा पारदर्शिता र जवाफदेहिता कायम गरी देशलाई ग्रे लिस्टबाट निकाल्ने र अन्तर्राष्ट्रिय कारोबारमा कालोसूचीमा पर्नबाट रोक्ने घोषणा गरेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को घोषणापत्रमा ‘देशलाई खैरोसूची (ग्रे लिस्ट)बाट निकाल्न समयबद्ध कार्ययोजना कार्यान्वयनमा ल्याइनेछ’ उल्लेख छ । तर, के–के गर्ने भन्ने विषयमा भने नेकपाको घोषणापत्र मौन छ । 

कांग्रेसले ‘ग्रे लिस्ट’बाट मुक्त गर्ने संकल्प गरेको छ । ‘कानुनको संशोधन, संस्थागत सुधार र कार्यान्वयनमा देखिएका समस्याको समाधान गरी एक वर्षभित्र नेपाललाई ‘ग्रे लिस्ट’बाट मुक्त गर्छौँ,’ कांग्रेसको घोषणापत्रमा उल्लेख छ, ‘नेपाललाई अन्तर्राष्ट्रिय ‘ग्रे–लिस्ट’को जोखिमबाट बाहिर निकाल्न र मुलुकको वित्तीय प्रतिष्ठा जोगाउन यसलाई राष्ट्रिय प्राथमिकताको एजेन्डाका रूपमा अगाडि बढाउँछौँ ।’ कांग्रेसले ‘ग्रे लिस्ट’बाट बाहिरने कार्ययोजनासमेत उल्लेख गरेको छ ।

सरकार गठन भएको एक वर्षभित्रै सम्पत्ति शुद्धीकरण निवारणलगायतका कानुनलाई अन्तर्राष्ट्रिय मापदण्डबमोजिम परिमार्जन गरी दृढताका साथ कार्यान्वयन गर्ने, वित्तीय अपराध र अवैध धनलाई वैध बनाउने प्रयासविरुद्ध शून्य सहनशीलताको नीति लिँदै शंकास्पद कारोबारको सूक्ष्म निगरानी गरी अवैध वित्तीय गतिविधिलाई पूर्ण रूपमा नियन्त्रण गर्ने तथा राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई हस्तक्षेपमुक्त, शक्तिशाली र स्रोत–साधनसम्पन्न बनाउने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

राप्रपाले नेपाललाई ग्रे लिस्टबाट मुक्त गर्न वित्तीय पारदर्शिता, मनी लाउन्डरिङ नियन्त्रण, अन्तर्राष्ट्रिय मापदण्डअनुसार नियामक सुधार तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने घोषणा गरेको छ । राप्रपाले ‘अन्तर्राष्ट्रिय आर्थिक मान्यता एवम् देशको परिस्थिति र आवश्यकतालाई दृष्टिगत गर्दै विद्यमान सम्पत्ति शुद्धीकरण ऐनमा सुधार ल्याइने’समेत उल्लेख गरेको छ ।

ग्रे लिस्टबाट बाहिर निकाल्ने आधार भाषण र घोषणा होइन, कार्यशैली र व्यवहार हो
डा. चन्द्रमणि अधिकारी अर्थशास्त्री

ग्रे लिस्टबाट बाहिर आउने मुख्य आधार भनेकै सुशासन र पारदर्शिता हो । यदि देशमा सुशासन छ, पारदर्शिता छ, नियम–कानुन समान र प्रभावकारी कार्यान्वयन हुन्छ भने हामी ग्रे लिस्टबाट सजिलै बाहिर निस्कन सक्छौँ । दलहरूले घोषणापत्रमा लेखेर वा भाषण गरेर सुशासन आउने होइन । कार्यशैली र व्यवहारमा परिवर्तन नहुँदासम्म हामी विभिन्न खाले नकारात्मक लिस्टमा परिरहन्छौँ ।

सरकारले अहिले नगद कारोबारको सीमा १० लाखबाट घटाएर पाँच लाखमा झारेको छ, यो भनेको खुद्रे कुरा हो । संस्थागत सुधार, भ्रष्टाचार न्यूनीकरणलाई बेवास्ता गरेर मसिना कुरामा लागेर जनतालाई च्यापेको छ, यो ठीक होइन । ठुला–ठुला काण्डको छानबिनबाट सुरु गर्नुपर्छ, अनि बल्ल रिजल्ट आउँछ । सुशासनकै लागि यत्रो विद्रोह भएको छ, आगामी दिनमा राजनीतिज्ञ, उच्चपदस्थ र ठुला उद्योगी–व्यवसायीका व्यवहार र कार्यशैलीमा सुधार आउने विश्वास गरौँ ।

सुझावित समाचार