रुपन्देहीमा मदिरा बोकेका दुई गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मदिरा बोकेका ती गाडी नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार, करिब १० लाख ७८ हजार मूल्यबराबरका तीन हजार ६९६ पिस मदिरा बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बुटवल उपमहानगरपालिका–८, सुक्खानगरस्थित मैत्रीपथमा दुईवटा गाडीमा अवैध मदिरा रहेको गोप्य सूचना प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले मदिरा बरामद गरेको हो ।
उक्त गाडी बाटोको किनारामा पार्किङ गरिराखेको अवस्थामा थियो । चेकजाँचका क्रममा मदिरा बोकेको गाडीसँग मदिराको बिल बिजक नरहेको यकिन भएको थियो । लु २ च ४९३५ नम्बरको उक्त बोलेरो रहेको ५३ पेटी र लु २ च ५०७८ नम्बरको हात्ती गाडीमा रहेको २४ पेटी मदिरा प्रहरीले चेकजाँचका क्रममा फेला पारेको हो ।
दुईवटा गाडीसहित मदिरा थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाएको छ ।