नेपालले हङकङसँग दशरथ रंगशालामा खेल्ने

फिफा वरीयतामा २९ स्थान माथि रहेको हङकङविरुद्ध नेपालले १२ चैतमा मैत्रीपूर्ण खेल खेल्ने

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली राष्ट्रिय पुरुष टोलीले चैतमा हङकङविरुद्ध दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार नेपाल र हङकङबिच १२ चैतमा खेल हुने जानकारी गराएको छ । नेपालले यसै वर्ष दोस्रोपटक हङकङसँग खेल्न लागेको हो । फिफा वरीयतामा हङकङ १५३ र नेपाल १८२ स्थानमा छन् । नेपाल गत २३ जेठमा म्याथ्यु रसको प्रशिक्षणमा नेपालले हङकङसँग उसैको मैदानमा प्रतिस्पर्धा गरेको थियो । नेपालले पहिलोपटक हङकङलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । 

५ मंसिर ०८० पछि नेपालले एएफसीको आधिकारिक फुटबल प्रतियोगिता रंगशालामा खेलेको छैन । एएफसीले रंगशालाको अवस्था अन्तर्राष्ट्रियस्तरको नभएको जनाउँदै प्रतियोगिता आयोजना गर्न दिएको छैन । यद्यपि, रंगशालामा भने फिफाको आयोजनामा खेल भएको छ । दुई वर्षदेखि रंगशालामा अन्तर्राष्ट्रिय खेल भएको छैन । यसबाहेक मैत्रीपूर्ण खेल भने भएको छ । गत भदौमा बंगलादेशविरुद्ध दशरथ रंगशालामा खेलेको थियो । जुन खेल गोलरहित बराबरीमा सम्पन्न भयो । दोस्रो खेल जेन–जी आन्दोलनका कारण हुन सकेन । नेपालले एएफसी एसियन कपको तेस्रो चरणको छनोटअघि हङकङसँग प्रतिस्पर्धा हुन लागेको हो । 

 राष्ट्रिय लिगबाट खेलाडी छनोट
एन्फाले हङकङसँगको प्रतिस्पर्धाका लागि खेलाडी छनोट प्रक्रिया अगाडि बढाएको छ । एन्फाले चालू राष्ट्रिय लिग फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई नै प्रारम्भिक चरणमा राख्नेछ । अस्ट्रेलियन प्रशिक्षक म्याथ्यु रसको राजीनामासँगै नेपाली टोली प्रमुख प्रशिक्षकविहीन छ । एन्फाले तत्कालका लागि अन्तरिम प्रशिक्षकका रूपमा हरि खड्कालाई जिम्मेवारी दिएको छ । गत २७ कात्तिकमा बंगलादेशसँग खेल्दा खड्का नै प्रशिक्षक थिए ।  तेस्रो चरणको अन्तिम खेलमा नेपालले लाओसको सामना गर्दै छ । यो खेल १७ चैतमा हुनेछ । नेपाल एएफसी एसियन कपमा नेपाल लगातार पाँच खेलमा पराजित भएको छ । लाओससँग प्रतिस्पर्धा गर्नुअघि नै नेपाल मसूह चरणबाट बाहिरिसकेको छ । नेपाल आफ्नो समूहमा अंकविहीन छ । नेपाल इतिहासमै पहिलोपटक लाओससँग दोस्रो खेलमै पराजित भएको थियो । 

 नेपालको प्रतिद्वन्द्वी कंगो
नेपाली राष्ट्रिय महिला फुटबल टोली अप्रिलमा फिफाको सिरिजमा सहभागी हुनेछ । फिफाले निकालेको ‘ड्र’अनुसार नेपाली महिला टोलीको पहिलो प्रतिद्वन्द्वी नै कंगो रहेको छ । कंगोविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अप्रिलमा हुनेछ । नेपालले १५ अप्रिलमा कंगोसँग खेल्नेछ । सोही दिन घरेलु टोलीले ओसिनिया फुटबल महासंघ (ओएफसी)का १३ राष्ट्रमध्ये एकसँग खेल्नेछ । तीन दिनपछि विजेता टोलीले एक–अर्कासँग खेल्नेछ । सोही दिन हार्ने टोलीबिच पनि प्रतिस्पर्धा हुनेछ । 
गत महिना फिफा सिरिजका आयोजक र समूहको घोषणा भएको थियो । यो पुरुष र महिला राष्ट्रिय टिमका लागि अन्तर्राष्ट्रिय विन्डोमा प्रतिस्पर्धा बढाउनका लागि फिफाको महत्वपूर्ण कदम हो । नोभेम्बर २०२५ मा विस्तारित ढाँचा घोषणा भएसँगै फिफा सिरिज २०२६ मा ४८ राष्ट्रिय टोलीले मार्च र अप्रिलको अन्तर्राष्ट्रिय खेल विन्डोमा १२ समूहका चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

 ११ संघले सिरिज आयोजना गर्ने
फिफामा २११ सदस्य राष्ट्र छन् । ११ फिफा सदस्य राष्ट्रले सिरिज आयोजना गर्नेछन् । नौ पुरुष समूह र तीन महिला समूह छन् । ६ फिफा कन्फेडरेसन (महादेशीय संघ)बाट टोलीहरू सहभागी छन् । पुरुष समूहका आयोजकमा अस्ट्रेलिया, अजरबैजान, इन्डोनेसिया, काजकिस्तान, न्युजिल्यान्ड, प्युटो रिको, वान्डा र उज्वेकिस्तान हुन् । 

सुझावित समाचार