चक्रपथको दोस्रो खण्ड विस्तार कार्यान्वयनको खुल्यो बाटो

चीनलाई सबै प्रकृतिको करमा छुट दिने सरकारको निर्णयसँगै रोकिएको चक्रपथको निर्माण अघि बढ्ने

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण

चक्रपथ दोस्रो खण्ड विस्तार प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । सरकारले काठमाडौं चक्रपथको दोस्रो खण्ड अर्थात् कलंकी–वसुन्धराको निर्माणमा चीनलाई सबै प्रकृतिको करमा छुट दिने निर्णय भएसँगै विस्तार प्रक्रिया अघि बढ्ने बाटो खुलेको हो । मंगलबारको मन्त्रिपरिषद्को बैठकले कर छुट दिने निर्णय गरेको हो । अर्थ मन्त्रालयको सहमति र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा सरकारले यस्तो निर्णय गरेको हो । ‘चीनको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुने कलंकीदेखि वसुन्धरासम्मको काठमाडौं चक्रपथ सुधार आयोजना कार्यान्वयन सम्झौतामा उल्लिखित विषयमा कर छुट दिने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । 

दोस्रो खण्डको निर्माणका लागि छनोट हुने ठेकेदार कम्पनीले यो सुविधा पाउनेछ । निर्माणका क्रममा आवश्यक पर्ने सामानको आयात र आन्तरिक खरिदमा कर छुट दिइनेछ । चिनियाँ अनुदानमै बनेको चक्रपथको विस्तार पनि चीनकै आर्थिक तथा प्राविधिक सहयोगमा हुँदै छ । त्यसमा सरकारले पहिलो खण्ड कोटेश्वर–एकान्तकुना–कलंकीमा जस्तै दोस्रो खण्डको विस्तारमा पनि सबै प्रकृतिको कर छुट दिइने भएको छ । योसँगै अब चक्रपथ निर्माणको थप प्रक्रिया अघि बढ्नेछ । अब नेपाल र चीनबिच ‘कार्यान्वयन सम्झौता’ हुनेछ । नेपालको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवले हस्ताक्षर गर्नेछन् । 

त्यसपछि चीनले परियोजनाको डिपिआर र बिड डकुमेन्ट सडक विभागमा पेस गर्नेछ । विभागले त्यो स्वीकृत गरेपछि चीन आफैँले ठेकेदार कम्पनी छनोट गरेर पठाउनेछ । त्यसपछि नेपालले चीनलाई साइट पनि हस्तान्तरण गर्नुपर्नेछ । त्यसपछि निर्माण कम्पनीले भौतिक निर्माणकै काम सुरु गर्नेछ ।चीनसँग ‘कार्यान्वयन सम्झौता’ गर्नुपर्ने प्रक्रिया पूरा नगर्दा चक्रपथ दोस्रो खण्डको काम रोकिएको थियो । यो प्रक्रिया पूरा नहुँदा चिनियाँ पक्ष काममा आउन सकेको छैन । चीनले तयार गरिसकेको यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि बुझाएको छैन । अब सम्झौता भएपछि चीनले डिपिआर र बिड डकुमेन्ट बुझाउनेछ । 

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने यो परियोजना सात वर्षदेखि अलपत्र थियो । सोही क्रममा पछिल्लोपटक ६ भदौ ०८१ मा ८.२ किलोमिटर लामो उक्त सडक खण्ड विस्तार गर्न चीन र नेपालबिच सम्झौता भएको थियो । त्यसपछि चीनको सिसिसिसी फस्र्ट हाइवे कन्सल्ट्यान्ट्स कम्पनी लिमिटेडले परियोजनाको डिपिआर बनाउने प्रक्रिया अघि बढाएको थियो । यसका लागि उक्त कम्पनी गत वैशाखदेखि फिल्डमा थियो । उक्त कम्पनीले परियोजनाको डिपिआर तयार गरिसकेको छ । कार्यान्वयन सम्झौता गरेपछि डिपिआर बुझाउने चीनको तयारी छ । डिपिआर सडक विभागबाट स्वीकृति भएपछि काम सुरु गर्ने चीनको योजना छ । त्यसका लागि चीन आफैँले छिटो कार्यान्वयन सम्झौता गर्न दबाब दिइरहेको छ । 

चीनकै अनुदानमा सन् १९७७ मा २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो । त्यसलाई चीनकै अनुदानमा विस्तार गर्ने गरी पहिले नै द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार चीनले पहिलो चरणमा चक्रपथको कोटेश्वर–सातदोबाटो–एकान्तकुना–कलंकी खण्डको विस्तार गर्ने काम ०७५ मै सम्पन्न गरिसकेको छ । त्यसलगत्तै दोस्रो खण्ड विस्तार गर्ने गरी २०७५ मै नेपाल र चीनबिच सम्झौता भएको थियो ।  दोस्रो चरणमा कलंकी–धोबीखोला खण्ड (११.६ किलोमिटर) विस्तार गर्ने भनिएको थियो । तर, नारायण गोपाल चोकदेखि धोबीखोलासम्म साइट क्लियरेन्स हुन नसकेपछि चीनले कलंकी–वसुन्धरा खण्ड (८.२ किलोमिटर) मात्रै विस्तार गर्दै छ ।

 के–के बन्दै छन् दोस्रो खण्डमा ? 
सडक विभागका अनुसार दोस्र्रो खण्डमा चारवटा यात्रु हिँड्ने आकाशे पुल बन्नेछन् । १३ वटा कल्भर्ट, एउटा सानो पुल, एउटा रुट परिवर्तन (चोक), ११ वटा बस स्टप हुनेछन् । 

 परियोजनामा चीन खर्च गर्दै छ १२ अर्ब
परियोजना निर्माणमा चीनले झन्डै १२ अर्ब खर्च गर्नेछ । यद्यपि, यो डिपिआर स्वीकृति भएपछि टुंगो लाग्नेछ । चीनले यसअघि बुझाएको टेक्निकल कन्फर्मेसन’ परियोजनाको लागत ५६ करोड ७१ लाख चिनियाँ युयान (आरएमबी) लागत छ । बुधबारको विनिमय दर (प्रति युयान २१.११ रुपैयाँ) अनुसार यो ११ अर्ब 
९७ करोड २१ लाख रुपैयाँ हो ।

 प्रतिघन्टा ५० किमिको स्पिड
परियोजनाको डिजाइन स्पिड भने प्रतिघण्टा ५० किमि रहेको छ । पहिलो खण्डको डिजाइन पनि यहीअनुसार रहेको छ । 

 विष्णुमतीमा ओभरपास र एक भ्यायडक्ट 
नयाँ बसपार्कसँग जोडिएको विष्णुमती नदीमा पाँच सय ६० मिटर लामो भ्यायडक्ट बनाउने प्रस्ताव गरिएको छ । सम्भवतः नेपालको सडकमा यो नै पहिलो भ्यायडक्ट हुनेछ । यसैगरी, सोही ठाउँमा दायाँबायाँ ओभरपास बनाइनेछ । चक्रपथबाट सीधै बसपार्क छिर्नसमेत प्रयोग गर्ने गरी यी संरचना बनाउने प्रस्ताव छ । 

विष्णुमती खण्डमा बन्दै छ दुई ओभरपास र भ्यायडक्ट 
चीनले १२ अर्ब रुपैयाँ खर्च गर्ने प्रारम्भिक अनुमान

अबको ६ देखि एक वर्षमा निर्माण सुरु हुने र निर्माण सुरु भएको चार वर्षमा काम सम्पन्न हुने बताइएको छ । सडक विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले अब चीनसँग एक महिनामा कार्यान्वयन सम्झौता हुने बताए । ‘मन्त्रिपरिषद्को निर्णयसँगै अब चीनसँग कार्यान्वयन सम्झौता गर्नेछौँ । त्यसपछि चीनले डिपिआर र बिड डकुमेन्ट बुझाउनेछ । विभागबाट त्यो स्वीकृति भएपछि चीनले ठेकेदार कम्पनी छनोट गरेर पठाउनेछ,’ उनले भने, ‘त्यसपछि हामीले साइट हस्तान्तरण गर्नेछौँ । अनि काम सुरु हुनेछ ।’ 

चीनको सहरी सडक स्ट्यान्डर्डमा कस्तो बन्दै छ दोस्रो खण्ड ?
चीनले डिजाइनको प्रारम्भिक अवधारणा अर्थात् ‘टेक्निकल कन्फर्मेसन’ यसअघि नै पठाएको थियो । त्योअनुसार पहिलो खण्डको भन्दा फरक डिजाइनमा दोस्रो खण्डको विस्तार गरिँदै छ । चक्रपथ विस्तारको पहिलो (कलंकी–एकान्तकुना–कलंकी) खण्डमा कुल आठ लेनको सडक छ । त्यसमा बिचमा दुई–दुई लेनको मुख्य सडक र दायाँ–बायाँ दुई–दुई लेनको सर्भिस लेन छ । साथै, मेन लेन र सर्भिस लेनको बिचमा फुटपाथ छ । दोस्रो खण्ड त्योभन्दा फरक बनाउने गरी यसअघि नै डिजाइनको प्रारम्भिक अवधारणा आएको थियो । चीनको सहरी सडकको स्ट्यान्डर्डमा यो परियोजना बनाउने भनिएको छ । दोस्रो खण्डको चौडाइ ६२ मिटर हुनेछ । त्यसमा बिचका ३७.५ मिटरमा मुख्य संरचना बन्नेछन् । 

बिचमा तीन मिटरको सेन्टर मिडियन (बिचमा खाली ठाउँ) राखिनेछ । सोही मिडियनको दायाँबायाँ चार–चार लेनको मुख्य सडक बनाइनेछ । एउटा लेनको चौडाइ ३.५ मिटरको दरमा दुवैतर्फ १४–१४ मिटरको सडक हुनेछ । लेन र डिभाइडर छुट्याउँदा दुवैतर्फ थप ०.५–०.५ मिटर खण्ड प्रयोग हुनेछ । यसैगरी, दुवैतर्फ २.७५–२.७५ मिटरको फुटपाथ बनाइनेछ । फुटपाथको दायाँबायाँ १.१५–१.१५ मिटरको ग्रिन बेल्ट (हरियाली क्षेत्र) बनाइनेछ । हरियाली क्षेत्रपछि दुवै साइटमा ६–६ मिटरको सर्भिस लेन बनाइनेछ । सर्भिस लेनपछि दुवै साइटमा थप पाँच–पाँच फिटको फुटपाथ बनाइनेछ । मेन लेनसँग जोडिएको फुटपाथबाहिरको संरचना कसले बनाउने भन्ने विषयमा सम्झौता हुन बाँकी छ । 

सुझावित समाचार