कपिलवस्तुमा फागु पूर्णिमा र निर्वाचन शान्तिपूर्ण बनाउन सर्वदलीय सहमति

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा आगामी फागु पूर्णिमा तथा फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सर्वदलीय/सर्वपक्षीय छलफल तथा अन्तर्क्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ।

जनार्दन गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवाला पक्षहरूको सहभागिता रहेको थियो।

बैठकमा फागु पूर्णिमाको अवसरमा हुन सक्ने भिडभाड व्यवस्थापन, सामाजिक सद्भाव कायम राख्ने उपाय, तथा फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, सुरक्षित र मर्यादित ढंगले सम्पन्न गराउने विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गौतमले फागु पूर्णिमा हाम्रो सांस्कृतिक पर्व भएकाले यसलाई सभ्य र मर्यादित रूपमा मनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए। साथै, आगामी निर्वाचनलाई पूर्ण रूपमा भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रशासन प्रतिबद्ध रहेको उल्लेख गरे।

उनले यस कार्यका लागि राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारमाध्यम तथा सम्पूर्ण नागरिकको सहकार्य अपरिहार्य रहेको बताए। निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै उनले कुनै पनि प्रकारका उच्छृंखल गतिविधि, अफवाह फैलाउने कार्य वा कानुनविपरीतका गतिविधिमा संलग्न नहुन सबैलाई अनुरोध गरे।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले आवश्यक सुरक्षा रणनीति तयार गरिएको जानकारी दिँदै संवेदनशील स्थानहरूको पहिचान गरी निगरानी बढाइने तथा आकस्मिक अवस्था व्यवस्थापनका लागि तयारी अवस्थामा रहने बताएका थिए।

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले पनि प्रशासनसँग समन्वय गर्दै निर्वाचनलाई सफल, निष्पक्ष र शान्तिपूर्ण बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले फागु पूर्णिमा तथा निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न सबै नागरिकलाई जिम्मेवार र सचेत रहन अपिल गरेको छ।

सुझावित समाचार