खाँदबारीमा बरामद अखाद्य वस्तु नष्ट

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

संखुवासभाको खाँदबारी नगरपालिकाले नगर क्षेत्रभित्र अनुगमन गरी बरामद गरेका अखाद्य वस्तुहरू नष्ट गरेको छ। एक साताअघि बरामद भएको अखाद्य वस्तुहरू बुधबार एक कार्यक्रमबिच नष्ट गरिएको हो।

गत माघ २५ गतेदेखि फागुन १ गतेसम्म खाँदबारी नगर क्षेत्रभित्रका वडा नम्बर १, ३, ७ र ९ को खाँदबारी, नयाँ बजार, मानेभञ्जाङ र तुम्लिङटार बजार क्षेत्रको अनुगमन गरिएको थियो। अनुगमनको क्रममा नगर क्षेत्रभित्रबाट ३० हजार ८३० रुपैयाँबराबरका २६३ वटा पेयपदार्थ र खाद्य सामानहरू बराबद गरिएको नगरपालिकाको राजस्व शाखाका विमल बानियाँले बताए। 

नगरपालिकाले बरामद गरेका सामानहरू सरोकारवाला निकाय, सम्बन्धित व्यापारी र डिलर तथा सप्लायर्सलाई बोलाएर सबैको अगाडी नष्ट गरिएको हो। खाँदबारी नगरपालिकाको अगुवाइमा सरोकारवाला निकायहरु जिल्ला प्रशासन कार्यालय, संखुवासभा उद्योग वाणिज्य संघ, नेपाल प्रहरी र पत्रकार महासंघलगायतको सहभागितामा बजार अनुगमन गरिएको थियो।

खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले मानिसहरुको स्वास्थ्यसँग खेलबाड गर्ने र प्रत्यक्ष असर गर्ने पेयपदार्थ म्याद नाघेको पाइएकाले खुद्रा व्यापारी र डिलर सप्लायर्सलाई सजग रहन आग्रह गरेकी थिइन्। उनले आगामी दिनहरूमा पनि बजार अनुगमन गर्दा यस्तो भेटिए कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएकी छिन्।

पछिल्लो समयमा सदरमुकाम खाँदबारी, तुम्लिङटार, चैनपुरलगायतका बजारमा सरोकारवाला निकायहरूले अनुगमन गर्दै आएका छन्।

सुझावित समाचार