धनकुटामा निर्वाचन आचारसंहिता उल्लंघनका दुई दर्जनभन्दा बढी उजुरी परेका छन् । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा उजुरी परेकामध्ये २४ वटा मौखिक र तीनवटा लिखित उजुरी परेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन संयोजक लक्ष्मीप्रसाद रेग्मीले बताए ।
उक्त उजुरीमध्ये लिखित एउटबाहेक सम्पूर्ण फर्स्याेट भएको पनि अनुगमन संयोजक रेग्मीले बताए ।
लिखित उजुरीका आधारमा सम्बन्धित उम्मेदवार तथा दललाई लिखित स्पष्टीकरण माग गरिएको थियो । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार दिनेश राई आठपहरियाविरुद्ध मतदातालाई प्रभावित पार्ने उद्देश्यले टोपी वितरण गरेको आरोपमा उजुरी परेको थियो । उक्त उजुरी नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिले दिएका हुन् ।
त्यस्तै नेकपा एमाले धनकुटाले आफ्ना उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमार्फत गलत फोन नम्बर प्रयोग गरी भिडियो तथा अडियो सामग्री सार्वजनिक गरी व्यक्तिगत गालीगलौज, मानहानि तथा बदनियतपूर्ण टिप्पणी गरिएको भन्दै उजुरी दिएको थियो ।
सोही उजुरीका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवार लाक्पा तामाङलाई लिखित स्पष्टीकरण सोधेको जनाएको छ । अन्य उजुरी भने मौखिक रूपमा नै सचेत गराइएको अनुगमन संयोजक रेग्मीले बताए ।