सरकारी अध्ययन कार्यदलका सदस्य नै फर्जी उद्धारमा संलग्न

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

पर्यटक क्षेत्रको सुधारका लागि गठन भएको अध्ययन कार्यदलका सदस्य नै पर्यटकको फर्जी उद्धारका नाममा ठगीमा संलग्न रहेको खुलेको छ। नेपाल विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह फर्जी उद्धारमा संलग्न रहेको भन्दै सिआइबीले पक्राउ गरेको हो। 

सिंह पूर्वन्यायाधीश अनिल सिन्हाको नेतृत्वमा गत वर्ष सरकारले गठन गरेको नागरिक उड्डयन क्षेत्र अध्ययन कार्यदलका सदस्य हुन्। संयोजक सिन्हा हाल पर्यटनमन्त्री छन्। नागरिक उड्डयन क्षेत्रको विज्ञका आधारमा सिंह सो सरकारी कार्यदलमा मन्त्रिपरिषदबाट सदस्य  नियुक्त भएका थिए। 

फर्जी उद्धारमा संलग्न रहेको आरोपमा यसअघि पक्राउ परेका आरोपीको बयानका आधारमा सिंहलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । ‘पक्राउ परेकाहरूले सिंहले नै आफूहरूलाई यसरी ठगी गर्न सिकाएको बयान दिएका छन्,’ सिआइबीका एक अधिकारीले भने, ‘यस सम्बन्धमा विगतमा उनले विभिन्न व्यक्तिहरूसँग गरेको कुराकानीको अडियोसमेत फेला पारेका छौँ ।’ उनीमाथि यस प्रकरणमा संलग्न सरकारी अधिकारी तथा थप उच्चपदस्थको संलग्नता खुल्न सक्ने सिआइबी अधिकारी बताउँछन् । 

सिआइबीले मंगलबार सिंहसहित रोयल होलिडेज एडभेन्चर एन्ड ट्राभलका सञ्चालक सन्दीप तिवारीलाई पनि पक्राउ गरेको छ। यस प्रकरणमा यसअघि सातजना पक्राउ परिसकेका छन्। सिआइबीले माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल, एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्स प्रालिका सुवास केसी र मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी, मास्टर हिमालय ट्रेक्सका विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अपरेसन म्यानेजर विवेक थपलिया र श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको हो। 

नेपालमा आएर पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक बिरामी भएको भन्दै फर्जी उद्धारका नाममा बिमा रकम ठगी हुँदै आएको छ। जसले नेपालको पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमै बदनाम भएपछि प्रहरीले छानबिन थालेको हो। 

विगतमा पनि सरकारले यससम्बन्धी छानबिन गरी विभिन्न कम्पनीलाई कारबाहीको सिफारिस गरेको थियो। ठगीमा मुछिएका कम्पनीका सञ्चालकको दबाबमा छानबिन हुन सकेको थिएन । यसपटक सिआइबीले संगठित अपराधको कसुरमा समेत विस्तृत अनुसन्धान गरिरहेको छ। 
 

सुझावित समाचार