पछिल्लो समयमा सडक दुर्घटना बढेको देखिन्छ, सामान्यतः दुर्घटना किन हुन्छ ?
दुर्घटना हुनुका पछाडि मुख्यतः सडक पूर्वाधार र यातायातका साधनको अवस्था जिम्मेवार हुन्छन् । पहाडी भूबनोटमा बनेका हाम्रा अधिकांश सडकमा अत्यधिक घुम्ती हुन्छन् । त्यस्ता घुम्ती सवारीचालकका लागि चुनौतीपूर्ण हुन सक्छन् । फेरि दुर्घटना हुनुमा सवारीसाधनको ‘साइज’, त्यसको अवस्था आदि पनि जिम्मेवार हुन्छन् । साथमा तिनले बोक्ने ‘लोड’ले यसमा भूमिका खेलिरहेको हुन्छ । हाम्रो देशको भूबनोट र त्यहाँ पाइने फरक–फरक हावापानीका कारण गर्मी मौसममा तराई, मधेशबाट आएका सवारीचालक शीतल पहाडी हावापानीमा पुग्दा निदाउन सक्छन् । चिसो हावापानीबाट न्यानो हावापानीमा पुग्दा पनि त्यस्तै अवस्था हुन सक्छ । सवारीसाधनको तीव्र गति, जथाभावी गरिने ओभरटेकिङको अवस्थामा सजाय भएन भने थप लापरबाही हुन सक्छ र दुर्घटना बढ्छ ।
पटक–पटक भइरहेको ठुलो जनधनको क्षतिबाट पनि हामी किन चेत्दैनौँ ?
प्रायः दुर्घटनापछि आयोग बनाएर अध्ययन गरिन्छ । यस्तो अध्ययन सामान्यतः दुई उद्देश्यले गरिन्छ, पहिलो, बिमा प्रयोजनका लागि । आयोग बनाएर औपचारिक प्रतिवेदन तयार गरेपछि बिमा रकम प्राप्त गर्न सजिलो हुन्छ । अर्को, दुर्घटनाका कारण पहिचान गरेर समाधान खोज्ने उद्देश्यले पनि अध्ययन गरिन्छ । प्रतिवेदन तयार पनि गरिन्छ । तर, कार्यान्वयनमा भने जहिल्यै उदासीनता देखाइन्छ । यसबाट पनि हामीले खासै नचेतेकै देखिन्छ ।
दुर्घटना न्यूनीकरणका लागि के गर्नुपर्ला त ?
सडक सुरक्षा नियमनका लागि ट्राफिक जनशक्ति निकै न्यून छ । ट्राफिक प्रहरीमा जनशक्ति थप गर्नुपर्छ । सामान्यतः सडक निर्माण गरिसकेपछि इन्जिनियरले ‘रोड सेफ्टी अडिट’ गरेर प्रतिवेदन बुझाउँछन् । त्यसअनुसार सडकको अवस्थामा सुधार गरिनुपर्छ । सवारीसाधनलाई ‘कन्डिसन’मा राख्न नियमनमा कडाइ गरिनुपर्छ ।