पहिलो संविधानसभा निर्वाचनअघिसम्म काठमाडौं ४ ‘वामपन्थी गढ’ थियो । ०४६ को राजनीतिक परिवर्तनपछि यो क्षेत्र निकै चर्चामा रह्यो । ०४८ को आमनिर्वाचनमा यही क्षेत्रका केही भाग समेटिएको क्षेत्रबाट तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई एमालेका तत्कालीन महासचिव मदन भण्डारीले पराजित गरेपछि यो क्षेत्रको चर्चा चुलिएको थियो । त्यसअघि जनपक्षीय उम्मेदवार पद्मरत्न तुलाधर र राष्ट्रिय पञ्चायत निर्वाचनमा विद्रोही नानीमैया दाहाल विजयी भएका थिए ।
०५० मा दासढुंगा दुर्घटनामा मदन भण्डारीको निधन भएपछि उनकी पत्नी विद्यादेवी भण्डारीले उपनिर्वाचन र त्यसपछिका निर्वाचन जित्दै वामपन्थी पकड कायम राखेको क्षेत्र हो यो । विद्याले उपनिर्वाचनमा कांग्रेसका भट्टराई र ०५१ को मध्यावधि निर्वाचनमा कांग्रेसकै पूर्वसभामुख दमननाथ ढुंगानालाई पनि पराजित गरिन् । ०५६ को निर्वाचनसमेत कांग्रेसकी अम्बिका बस्नेतलाई पराजित गर्दै भण्डारीले ह्याट्रिक गरेकी थिइन् ।
०६४ मा काठमाडौंमा सातबाट १० वटा निर्वाचन क्षेत्र भयो । काठमाडौंका तत्कालीन विष्णु बुढानीलकण्ठ, चपली भद्रकाली, खड्का भद्रकाली, चुनीखेल, महांकाल, काठमाडौं महानगरपालिकाका ७, ८ लगायत केही वडा समेटेर काठमाडौं ४ बन्यो । त्यसयता यो क्षेत्रमा कांग्रेसले निर्वाचन जित्दै आएको छ ।०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने विद्यालाई हराउँदै कांग्रेसकी सुप्रभा घिमिरेले वामपन्थी गढ तोडिन् । त्यसपछिका हरेक निर्वाचनमा कांग्रेसले जित्दै आएको छ । ०७०, ०७४ र ०७९ मा कांग्रेसका गगन थापा यो क्षेत्रबाट निर्वाचित भए । तत्कालीन संस्थापन पक्षबेगर नै कांग्रेसको विशेष महाधिवेशन गरेर सभापति बनेका थापाले यसपटक काठमाडौं ४ छाडेका छन् । ह्याट्रिक गरेका सभापति थापा यसपटक सर्लाही ४ पुगेका छन् भने कांग्रेसले ३३ वर्षीय सचिन तिमल्सिनालाई चुनावी मैदानमा उतारेको छ ।
सचिन गगनकै उत्तरदाधिकारीका रूपमा मतदाताको घरदैलोमा पुगेका छन् । उनी गगनकै राजनीतिक स्कुलिङमा हुर्किएका हुन् । उनले गगनलाई सघाउँदै आएका थिए । ०७९ को निर्वाचनमा गगनको क्षेत्रमा रास्वपाले अन्तिम समयमा उम्मेदवारी नै दिएको थिएन । सचिनसँग एमालेका चिरपरिचित प्रतिस्पर्धी छन् । एमालेको गत ११औँ महाधिवेशनबाट सचिवमा निर्वाचित राजन भट्टराई तेस्रो प्रयासमा संसद् छिर्ने रणनीतिमा छन् । भट्टराईले यसपटक निर्वाचन लड्न चाहेका थिएनन् । त्यही कारण अन्य क्षेत्रको उम्मेदवार टुंगो लाग्दा पनि एमालेले यस क्षेत्रको उम्मेदवार टुंग्याएको थिएन । अन्ततः भट्टराई लगातार तेस्रोपटक उम्मेदवार बने । विगत दुईपटक भट्टराई निकटतम प्रतिद्वन्द्वी भए । यसपटक विगतमा पराजित गर्ने उम्मेदवार गगन थापा नभएको र बलियो संगठन भएकाले निर्वाचन जित्नेमा उनी आशावादी छन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट इन्द्र भुसाल प्रतिस्पर्धामा छन् । उनी विद्यार्थी नेताका रूपमा परिचित थिए । पशुपति क्याम्पसको स्ववियुमा समेत उनी निर्वाचित भएका थिए । जनताको समस्या नजिकबाट बुझेको र पूरा गर्ने दृढ इच्छाशक्तिका कारण निर्वाचन जित्ने उनको विश्वास छ ।यो निर्वाचनमा पुराना दललाई नयाँले चुनौती दिइरहेका छन् । रास्वपाबाट पुकार बम र उज्यालो नेपाल पार्टीबाट झनकबहादुर अधिकारी उम्मेदवार छन् । विवेकशील अभियानमार्फत राजनीतिमा आएका बम अघिल्लो निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवार थिए । यसअघि उनी तीनपटक उम्मेदवार बनिसकेका छन् । तर, हालसम्म सफल हुन सकेका छैनन् । बम ०६४ मा कुकुर चिह्न लिएर काठमाडौं ८ बाट निर्वाचन लडेका थिए । ०७४ को निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार बनेका उनी ०७९ को निर्वाचनमा क्षेत्रमा भने काठमाडौं १ मा उम्मेदवार भएका थिए । त्यसबेला उनले तेस्रो मत प्राप्त गरे ।
राप्रपाले यो क्षेत्रमा अभियन्ता सुरेन्द्रराज भण्डारीलाई उठाएको छ । उनले जनसरोकारका विषयमा बहस–पैरवी गर्दै आएका छन् । यस क्षेत्रमा १८ वटा दल र १० जना स्वतन्त्र उम्मेदवार छन् । जसमा दुई महिला छन् । मंगोल नेसनल अर्गनाइजेसनबाट सीता तामाङ र माओवादीबाट करिश्मा खरेल छिन् ।कांग्रेसबाट सचिन तिमल्सिना, एमालेबाट राजन भट्टराई, नेकपाबाट इन्द्रकुमार भुसाल, रास्वपाबाट पुकार बम, राप्रपाबाट सुरेन्द्रराज भण्डारी, उज्यालो नेपाल पार्टीबाट झनकबहादुर अधिकारी, राष्ट्रिय जनमोर्चाबाट छविबहादुर खनाल, नेमकिपाबाट आशालाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीबाट चेतबहादुर आले, मंगोल नेसनल अर्गनाइजेसनबाट सीता तामाङ, मितेरी पार्टी नेपालबाट प्रेमकुमार राई, नेपालका लागि नेपाली पार्टीबाट श्यामकुमार भट्टराई खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दत्त बुढा, युनाइटेड नेपाल डेमोक्र्याट पार्टीबाट मुस्कान पौडेल, जय मातृभूमि पार्टीबाट राजन पुरी, श्रम संस्कृति पार्टीबाट वरुण अमात्य, माओवादीबाट करिश्मा खरेल र जनादेश पार्टीबाट केम्स सिंह उम्मेदवार छन् ।
स्वतन्त्र उम्मेदवारमा मदनदेव आचार्य, पूजन गजुरेल, अर्चनशमशेर राणा, विनोदबाबु प्रधान, दीपेन्द्रकुमार काफ्ले, केदारबहादुर कार्की, मनोज अधिकारी, आशिष श्रेष्ठ, सञ्जीव दर्जी र देवराज पौडेल छन् । ३३ मतदानस्थल र ८८ मतदान केन्द्र छन् भने ७६ हजार १४१ मतदाता छन् । मतदाताको अपेक्षा खानेपानी समस्या समाधान, बाढी, ढल र फोहोरमैला व्यवस्थापन, सडकको स्तरोन्नति, कपन क्षेत्रमा हुने डुबानको समस्या समाधान, पार्किङ व्यवस्थापनलगायत छन् । मतदाताले सुशासन र रोजगारीको अपेक्षा पनि गरेका छन् ।
यो क्षेत्रको स्थानीय तहमा एमाले बलियो छ । वितगमा स्थानीय तहमा एमाले बलियो हुँदा पनि कांग्रेसका थापा संसद्को निर्वाचनमा विजयी हुँदै आएका थिए । यसपटक गगन नभएकाले जित्ने अपेक्षा राजनको छ । काठमाडौं ४ मा महानगरपालिकाका १, ७, ८ र ३० तथा बुढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२, १३ नम्बर वडा समेटिएका छन् । ७६ हजारभन्दा बढी मतदाता रहेको यो क्षेत्रमा पर्ने १२ मध्ये नौवटा वडा एमालेले जितेको छ । तीनवटा वडा मात्र कांग्रेसले जितेको छ । एमालेले काठमाडौं महानगरपालिकाको १ वडा जितेको छ भने कांग्रेसले ७, ८ र ३० जितेको छ । बुढानीलकण्ठमा मेयर र उपमेयर नै एमालेले जितेको छ । ०७९ को निर्वाचनमा प्रदेशतर्फ कांग्रेसले (१) र एमालेले (२) जितेको छ ।
के भन्छन् प्रमुख दलका उम्मेदवार ?
सचिन तिमल्सिना, कांग्रेस
दुईवटा मुख्य एजेन्डा लिएर चुनाव लडिरहेको छु । पहिलो, सुशासन र दोस्रो, रोजगारी । सुशासनको सन्दर्भमा कांग्रेस रूपान्तरित र पुस्तान्तरणको प्रक्रियाबाट अघि बढिरहेको छ । नयाँ विधान निर्माण गरेका छौँ । इगभर्नेन्सको प्रयोगमार्फत भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने तथा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने विषयमा दृढतापूर्वक उभिनेछु । अझै ३९ वटा कानुन निर्माण हुन बाँकी छन् । ती कानुन निर्माणका लागि सक्रिय पहल गर्नेछु । रोजगारीतर्फ विशेष गरी सूचना प्रविधि (आइटी), कृषि र पर्यटन क्षेत्रमार्फत रोजगारी सिर्जना गर्ने मेरो योजना छ । शिक्षालाई सिपसँग जोड्ने र स्वास्थ्यलाई स्वास्थ्य बिमासँग आबद्ध गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दिशामा काम गर्नेछु । म केवल युवा मात्र होइन, तयार युवा हुँ । लामो समयसम्म उत्कृष्ट प्रदर्शन गर्ने विधायकसँग बसेर काम गरेको अनुभव छ । साथै, नयाँ प्रविधिसँग परिचित छु र प्रविधिले विश्वलाई कुन दिशामा अघि बढाइरहेको छ भन्ने विषयमा अध्ययन गरेको छु ।
इन्द्रकुमार भुसाल, नेकपा
मुख्य काम कानुन निर्माण नै हो । देशका साथै क्षेत्रीय मुद्दा सम्बोधन गर्न आवश्यक कानुन निर्माणका लागि पहल गर्नेछु । बुढानिलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न पहल गर्ने, सडक मर्मतसम्भार र विस्तार, ट्राफिक समस्या समाधान, फोहोर व्यवस्थापन, सांस्कृतिक सहरका रूपमा विकास गर्ने मेरा एजेन्डा हुन् । सडकमा पैदलमार्ग र ट्राफिक लाइटको व्यवस्थापन गर्ने, बजार क्षेत्रमा पार्किङस्थलको व्यवस्था गर्ने, नपुगेका ठाउँमा खानेपानी सुविधा पुर्याउने, कौसीखेतीलाई प्रोत्साहन गर्ने, सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने, विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रमका लागि नीति बनाउन पहल गर्ने र निजी विद्यालयको चर्को शुल्क नियन्त्रण गरी सबैको पहुँचमा पुर्याउने योजना छ ।
पशुपतिनाथ र बौद्धनाथ परिक्रमा पदमार्ग निर्माण गर्ने, कपन डुबान र खहरेको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न पहल गर्ने, धोबीखोला जल शुद्धीकरण योजना निर्माण गर्न पहल गर्ने र अव्यवस्थित ढलको व्यवस्थापन गर्नेछु । बुढानीलकण्ठ मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्नका लागि विशेष पहल गर्ने, पशुपति गुठीलगायतका स्थानीय गुठीका जग्गालाई व्यवस्थित गर्ने, स्थानीय मौलिक कला, संस्कृतिको संरक्षण गर्नेछु ।
राजन भट्टराई, एमाले
यो क्षेत्रका मतदातासँग मेरो विशेष सम्बन्ध छ । बच्चा अवस्थाबाटै यहीँ हुर्के, बढेँ । म पराजय हुँदा पनि अरू क्षेत्र रोजेर गइनँ । अरू साथीहरू पराजय हुँदा पनि र विजयी हुँदा पनि क्षेत्र परिवर्तन गरेको देखियो । मसँग विकल्प पनि थियो, तर यही क्षेत्रका जनताको साथमा रहेँ । यहाँका नेता तथा कार्यकर्ता र मतदाताको आग्रहमै यसपालि उम्मेदवार बनेको हुँ । पहिला एक्लाएक्लै निर्वाचन लडेको भए विजय प्राप्त गर्ने थिएँ । ०७४ मा विवेकशील साझाले रुख चिह्नलाई अन्तिम समयमा सहयोग गरिदियो । ०७९ मा एमालेविरुद्ध पाँचदलीय गठबन्धन भयो । त्यसका साथै स्वतन्त्र पार्टीले रुखकै समर्थनमा उम्मेदवारी ड्रप गरिदियो । एक्लाएक्लै लड्दा यो क्षेत्रमा हामी बलियो छौँ । अरू मिलेर आउँदा पछाडि पर्यौँ । दलको जित्ने मुख्य आधार भनेको संगठन नै हो । हाम्रो संगठन दरिलो छ, त्यो बलियो जगमा उभिएको छु । भूमिहीनलाई भूमिको व्यवस्था गर्ने, आवश्यक कानुन निर्माण गर्ने, विकास निर्माणका साथै खानेपानी, ढल व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्नेछु । मबाट मतदाताको शिर निहुँर्याउने काम हुनेछैन । देश र जनताको पक्षमा इमानदारिताका साथ काम गर्नेछु ।
पुकार बम, रास्वपा
मेरो उम्मेदवारी विगत २०–३० वर्षदेखि नेपाली समाजमा विद्यमान अव्यवस्था, बेथिति र भ्रष्टाचारविरुद्ध हो । सुशासन र उत्तरदायित्व मेरो मुख्य एजेन्डा हो । सुशासन र समृद्धिको संकल्पसहित चुनावी मैदानमा छु । भ्रष्टाचारविरुद्ध शून्यसहनशीलता अपनाउनेछु । आर्थिक मात्रै नभई नीतिगत भ्रष्टाचारमा पनि कानुन निर्माणको पहल गर्दै नीति र नियतमा स्पष्ट रही सुशासनको प्रत्याभूति गर्नेछु ।
संसद्मा मेरो उपस्थिति, भूमिका र उठाएका मुद्दाको विवरण हरेक तीन महिनामा सार्वजनिक गर्नेछु । बजेट पारदर्शिताका साथै सरकारी सेवाका हुने ढिलासुस्ती अन्त्य गर्न पूर्ण डिजिटलाइजेसन र डेटामा आधारित निर्णय प्रक्रियामा जोड दिनेछु । एकीकृत पूर्वाधार कानुन निर्माणमा पहल गर्नेछु र स्वार्थको द्वन्द्वको अन्त्य गर्ने गरी कानुन निर्माणको पहल गर्नेछु । क्षेत्रगत रूपमा खोला–करिडोर र बाढी नियन्त्रणको काम गर्नेछु । खानेपानी समस्या समाधान गर्नुका साथै अकासे पानी संकलन, सार्वजनिक जग्गा संरक्षण, सुकुमवासी समस्या व्यवस्थापन मेरो प्राथमिकतामा छन् । यसका साथै, शिक्षा, स्वास्थ्य र उद्यमशीलता, पूर्वाधार विकास, संस्कृति र सम्पदा पर्यटन प्रवद्र्धनको एजेन्डा छन् ।
काठमाडौं ४
मतदाता : ७६,१४१
महिला : ३९,५९९
पुरुष : ३६,५४२
मतदानस्थल : ३३
मतदान केन्द्र : ८८
उम्मेदवार : १८ दल र १० स्वतन्त्र, जसमा दुई महिला