- नेपाली बैंक खातामा एक करोडभन्दा बढी र विदेशी प्लाटफर्ममार्फत ४५ लाख रुपैयाँ जम्मा भएपछि महिला राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारीले थप रकम नपठाउन आग्रह गरेकी छिन्
- एन्फाले उपचारका लागि पाँच लाख रुपैयाँ मात्र उपलब्ध गराउने भनेपछि सावित्राले भावुक हुँदै सोमबार सामाजिक सञ्जालबाट आर्थिक सहयोगको अपिल गरेकी थिइन्
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीको एसिएल शल्यक्रियाका लागि एकै दिन आवश्यक खर्च जुटेको छ । सावित्राले मंगलबार सामाजिक सञ्जालबाट आफ्नो उपचार तथा रिह्याबका दौरान लाग्ने आवास र यातायात खर्च जुटेको जानकारी गराएकी छिन् । ‘२४ घन्टाभित्र नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ५२ हजार न्युजिल्यान्ड डलर (४५ लाख नेपाली रुपैयाँ) जम्मा भइसकेको छ,’ उनले लेखेकी छिन् ।
यसअघि उनको शल्यक्रिया भएकै घुँडाको एसिएलमा हालेको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । सावित्रा फिट भएर मैदानमा फर्कन करिब नौ महिना लाग्छ । ०७८ सालमा मैदान फर्कनुअघि सावित्रा एन्फाकै पहलमा कतारमा शल्यक्रिया गराएकी थिइन् । यसपटक एन्फाबाट सहयोग नपाएको उनको गुनासो थियो । उनले यो पनि कतारमै उपचार गर्ने योजना बनाएकी हुन् । कतारमा उपचार गर्दा न्युजिल्यान्डको क्लबको बिमाले काम नगर्ने भएकाले उनले एन्फाबाट सहयोग खोजेकी थिइन् ।
नेपाली फुटबलकै सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपचारका लागि केवल पाँच लाख मात्र दिन सक्ने भनेपछि सावित्राले भावुक हुँदै सोमबार सामाजिक सञ्जालबाट आर्थिक सहयोगको अपिल गरेकी थिइन् । ‘घुँडाको शल्यक्रियाका लागि करिब ८० हजार अमेरिकी डलर (नेपाली एक करोड १५ लाख हाराहारी) चाहिने भएकाले सहयोगका लागि अपिल गरेकी छु,’ उनले भनेकी थिइन् । सामाजिक सञ्जालमा गरिएको २४ घन्टाभित्र आवश्यक सबै खर्च जुटेको र थप रकम आवश्यक नपर्ने सावित्राले बताएकी छिन् ।
उनले नेपाली बैंक खातामा थप रकम जम्मा नगर्न अनुरोधसमेत गरेकी छिन् । ‘मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ–संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनुहुन अनुरोध गर्दछु,’ उनले लेखेकी छिन् ।
सावित्रा अहिले न्युजिल्यान्डको वेलिङटन क्लबमा आबद्ध छिन् । वेलिङटन न्युजिल्यान्डको क्लब भए पनि अस्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ । ब्रिस्बेन रोअरविरूद्धको खेलका क्रममा विपक्षी टोलीकी गोलरक्षकसँग ठोक्किँदा सावित्रा घाइते भएकी थिइन् । गत पुसको तेस्रो सातादेखि उनी मैदानबाहिर छिन् । सरकार र एन्फाबाट आर्थिक सहयोग नपाउँदा आफू शारीरिक मात्र नभएर मानसिक रूपमै थाकेको बताएकी छिन् । तर, सहयोगीहरूको हात अगाडि बढ्दा आफूलाई छिट्टै मैदानमा फर्कन सक्ने आत्मविश्वास जागेको उनको भनाइ छ ।
‘यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो, तर तपाईंहरूको साथले मलाई फेरि उठ्ने साहस दिएको छ,’ उनले लेखेकी छिन्, ‘म एक्लो छैन भन्ने विश्वास दिएको छ । म दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु । अझ नेपालको जर्सी लगाएर मजबुत भएर फर्कनेछु ।’ यसअघि पनि उनी चोटका कारण एक वर्षपछि मैदान फर्किएकी थिइन् ।
एन्फाविरुद्ध खेलाडीले गरे प्रदर्शन
एन्फाले सावित्राको उपचार गर्न आर्थिक सहयोग नगरेपछि राष्ट्रिय तथा पूर्वखेलाडीहरूले विरोध प्रदर्शन गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार राष्ट्रिय टोलीमा डिफेन्सिभ मिडफिल्डर रोहित चन्दसहित पूर्वखेलाडी विक्रम लामा, विराज महर्जनलगायतले पम्प्लेट बोकेर विरोध प्रदर्शन गरेका थिए ।खेलाडीहरूले मैदानको सामान्य पारापिटमा बसेर विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शन गरिरहँदा मैदानभित्र भने राष्ट्रिय लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड भिडिरहेका थिए । उनीहरूले खेल खेल्ने खेलाडी नरहे तिमी कसरी रहन्छौ एन्फा ?, एन्फा झुटको खेती कहिलेसम्म?, लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर, सावित्रा भण्डारी नेपाली नै हुन्लगायतका नारा बोकेका पम्प्लेट देखाएर विरोध गरेका हुन् ।
कालोपट्टी बाँधेका खेलाडीलाई एन्फाको रोक
सावित्राको उपचार खर्च उपलब्ध नगराएको विरोधमा कालोपट्टी बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबका खेलाडीले मंगलबार कालोपट्टी बाँधेर खेल्न मैदान उत्रिन लागेका थिए । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)का अफिसियलले उनीहरूलाई रोकेका हुन् । ‘सावित्राको सोलिडारिटीका लागि हामीले कालोपट्टी बाँधेर मैदानमा प्रवेश गर्न खोज्दा एन्फाले रोक लगाएको छ । कालोपट्टी बाँधेर खेल्नु नियमविपरीत हो भन्दै एन्फाले रोक लगाएको हो,’ फ्रेन्ड्स क्लबले जनाएको छ ।
सावित्रा लेख्छिन्–
आज ‘धन्यवाद’ शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घन्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिनँ । आर्थिक रूपमा यहाँहरूले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनुभयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यही ऊर्जाले म आफ्नो शल्यक्रिया र पुनस्र्थापनामा शतप्रतिशत मिहिनेत गर्नेछु । खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन भन्ने मैले फेरि एकपटक हृदयदेखि बुझेको छु । यही नै मेरो वास्तविक कमाइ हो । उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ ।
यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनुहुन अनुरोध गर्दछु । म आबद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया र पुनस्र्थापनाका लागि बिमा रकम निकासा गरी त्यसमा थप सहयोग गरेर उपचारमा सहजीकरण गरिरहेको छ । चाँडै नै शल्यक्रिया मिति पाएर प्रक्रिया अघि बढ्नेमा विश्वस्त छु ।
कांग्रेसले गर्यो पाँच लाख सहयोग
नेपाली कांग्रेसले कप्तान सावित्रा भण्डारीको उपचारका लागि पाँच लाख आर्थिक सहयोग गरेको छ । केन्द्रीय कार्यालयका कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी सावित्राको उपचारका लागि पार्टीले आर्थिक सहयोग गर्ने जानकारी गराएका हुन् । ‘उहाँको उपचारमा सहयोग पुर्याउनु हामी सबैको कर्तव्य हो ।
यसै सन्दर्भमा, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एन्फाका अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धताबमोजिम एन्फाको ग्लोबल आइएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । सभापति थापाले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्याएकी सावित्राप्रति उच्च सम्मान व्यक्त गर्दै पार्टीको तर्फबाट आर्थिक सहयोग गरिएको र यतिवेला हामी सबैले उनलाई साथ दिन जरुरी रहेको विज्ञप्तिमार्फत जनाएका छन् ।
यसैबिच, सावित्राको उपचारका लागि विभिन्न संघ–संस्थाहरूले निःशुल्क सहयोगको घोषणा गरेका छन् । सरोकारवालाले ऐक्यबद्धता जनाइरहँदा भक्तपुर एफसीले पनि उपचारका लागि आवश्यक सम्पूर्ण सहयोग निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । क्लबले सिद्धि मेमोरियल भक्तपुर अस्पतालमार्फत आवश्यक उपचार, परामर्श तथा स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न तयार रहेको जनाएको छ । काठमाडौँ मेडिकल कलेज (केएमसी)ले पनि सावित्राका लागि निःशुल्क उपचार गरिदिने घोषणा गरेको छ ।