नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम सवा चार अर्बमा झर्‍यो

मंगलबार, १२ फागुन, २०८२
डिजिटल संस्करण

लगातारजसो ओरालो लागेको नेप्से परिसूचक मंगलबार दोहोरो अंकले सुधार भएको छ। नेप्से २१.६२ अंकले बढेर दुई हजार ६३८.६० विन्दुमा कायम भएको हो।

नेप्से बढे पनि कारोबार रकमको गिरावट भने रोकिएको छैन। आज ३२८ कम्पनीका ९३ लाख ६४ हजार कित्ता सेयर चार अर्ब २३ करोड २४ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। आइतबार साढे ६ अर्बमाथि रहेको कारोबार रकम सोमबार पाँच अर्बमा झरेको थियो।

नेप्से परिसूचकसँगै आज १३ वटै समूहको सूचकमा हरियाली देखिएको छ। होटेल तथा पर्यटन समूह सबैभन्दा धेरै २.०७ प्रतिशतले बढेको छ। विकास बैंक, उत्पादन तथा प्रशोधन, जलविद्युत् र व्यापार समूह एक प्रतिशतभन्दा धेरैले वृद्धि भएका छन्।

आज २१३ कम्पनीको सेयर मूल्य उकालो लाग्दा सालपा विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स र हिमालयन पावर नौ तथा सागर डिस्टिलरी र बन्दीपुर केवलकार आठ प्रतिशतभन्दा धेरैले बढेका छन्।

सबैभन्दा धेरै घटेको नेपाल एसबिआई बैंकको सेयर मूल्यमा ३.५८ प्रतिशतको गिरावट देखिएको छ।

सुझावित समाचार