राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै देश अन्धकारमा पार्नेको हिसाब हुने बताएका छन् । चुनावी अभियानका क्रममा ओलीको निर्वाचन क्षेत्रस्थित दमकमा मंगलबार आइपुगेका लामिछानेले प्रतिशोध नहुने, तर हिसाब हुने बताएका हुन् ।
२३ र २४ भदौको जेन–जी आन्दोलनको घटना छानबिन गर्न गठित आयोगले तयार पार्ने प्रतिवेदन अक्षरशः पालना हुने बताए । ‘छानबिन आयोगले काम गरेको छ रे ! त्यसले रिपाेर्ट बुझाउँदै छ रे ! अक्षरशः पालना हुन्छ । प्रतिशोध हुँदैन, हिसाबचाहिँ हुन्छ,’ लामिछानेले भने, ‘वर्षौँसम्म यो देशलाई अन्धकारमा पारेर, राज्यका भित्ताभित्तामा पार्टीका कारिन्दा टाँसेर राज्यलाई कमजोर पार्नेको हिसाबचाहिँ हुन्छ । प्रतिशोध हुँदैन ।’
सभापति लामिछानेले देश बचाउन र बनाउन रास्वपा अगाडि आउने बताए । उनले देशको न्यायका लागि झापा ५ बाट रास्वपा उम्मेदवार बालेन्द्र शाहलाई जिताउँदै इतिहास बनाउन यहाँका मतदातालाई आग्रह गरे । ‘झापा ५ ले यसपटक न्याय गर्नेछ । अन्यायको सिकार त म पनि भएको छु । मेरो चिन्ता गर्नुपर्दैन । तर, देश न्यायका लागि झापा ५ को यसपटकको मतदान इतिहासको एउटा कोसेढुंगा हुनेछ । म त्यो इतिहास बदल्न झापा ५ तयार छ कि छैन हेर्न पनि यहाँ आएको हुँ,’ उनले भने, ‘झापा ५ ले यसपटक इतिहास लेख्नुपर्नेछ । देशलाई न्याय गर्नुपर्नेछ । त्यो विश्वास मैले लिएको छु । देश इतिहासको सबैभन्दा महत्त्वपूर्ण ठाउँमा आएर उभिएको छ । जब–जब जनता जागे तब–तब देश बचेको छ ।’
उनले बालेन्द्रलाई यहाँबाट जिताएर पठाए सम्भवतः विश्वकै कान्छो प्रधानमन्त्री हुने दाबी गरे । ‘यहाँबाट निर्वाचित हुने तपाईंको उम्मेदवारलाई रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ । पार्टी सभापतिको रूपमा मलाई गर्व छ कि यो क्षेत्रबाट निर्वाचित भएर बालेन्द्र शाह सम्भवतः संसारकै कान्छो प्रधानमन्त्रीको रूपमा निर्वाचित भएर जानुहुनेछ,’ उनले भने, ‘कुनै दिन अर्को पुस्ताले इतिहासको पाना पल्टाउँदा २१ फागुनको यो चुनावको नतिजामा तपाईं गर्वका साथ भन्न सक्नुहोस् कि झापा ५ मा इतिहास बदल्न मैले पनि मतदान गरेको हुँ ।’