वीरगन्ज महानगरपालिका र बहुदरमाई नगरपालिकालाई जोड्ने गण्डक नहरस्थित तिलावे पुल दुई वर्षदेखि जीर्ण अवस्थामा रहँदा सवारीसाधनको आवागमन प्रभावित भएको छ । ग्रामीण भेगका लागि ‘लाइफलाइन’ मानिने उक्त पुल प्रयोग गर्न नपाउँदा स्थानीय किसान, व्यापारी, विद्यार्थी तथा बिरामीहरू प्रत्यक्ष प्रभावित भएका छन् ।
सो पुलबाट चारचक्के तथा ठुला सवारीसाधन दुई वर्षदेखि चल्न सकेको छैन । पुल जीर्ण भई जोखिमपूर्ण बनेपछि सुरक्षाका कारण सवारी आवागमन रोकिए पनि समयमै मर्मत, पुनर्निर्माण वा वैकल्पिक व्यवस्था गर्न कसैले चासो नदेखाएको स्थानीयको गुनासो छ ।
बहुदरमाई नगरपालिकाका स्थानीय अकलेश यादवले पुलको अवस्था पटक–पटक सरकारी निकायले अनुगमन गरे पनि उपलब्धि हासिल हुन नसकेको गुनासो गरे । ‘सम्बन्धित निकायका मानिस आउँछन्, निरीक्षण गरेजस्तो गर्छन् अनि फर्किन्छन्,’ उनले भने, ‘पुल भत्किएको करिब दुई वर्ष हुन लागिसक्यो, तर कहिलेसम्म बन्ने हो भन्ने कुरा यहाँका जनतालाई अहिलेसम्म थाहा छैन ।’
‘करिब एक महिनादेखि पुलको डाइभर्सन निर्माणको काम सुरु भए पनि हाल पैदलयात्री र हलुका सवारीसाधन मात्र आवतजावत गर्न सक्ने अवस्था छ । अन्य चारचक्के र ठुला गाडी गुड्ने कुनै बाटो छैन, जसले गर्दा व्यापार, उपचार र दैनिक कामकाज सबै प्रभावित भएका छन्,’ उनले बताए ।
यात्रु अशोक यादवले पनि पुल जीर्ण भएपछि सधैँ आवागमनमा समस्या भोग्नुपरेको बताए । दीर्घकालीन योजना र नियमित अनुगमनको अभावका कारण पुल पूर्ण रूपमा जीर्ण भई आवागमन बन्द हुन पुगेको उनीहरू बताउँछन् ।
चालू आर्थिक वर्ष ०८२/८३ मा नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, पर्साबाट बोलपत्र आह्वान भएपछि ममता इन्टरप्राइजेज कन्स्ट्रक्सन प्रालि, लोकन्थली– १, भक्तपुरले पुलको डाइभर्सन निर्माणका लागि दुई करोड ४६ लाख ६० हजार रुपैयाँमा ठेक्का सकार गरेको छ । सम्झौताअनुसार निर्माणकार्य ०८२ माघ २३ गते सुरु भई ०८३ जेठ १ गतेभित्र सम्पन्न गर्ने उल्लेख छ । ठेक्का प्राप्त कम्पनीले निर्माणकार्य सुरु गरिसकेको र तोकिएको समयभित्रै डाइभर्सन निर्माण सम्पन्न गर्ने जनाएको छ ।