राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब ‘भन्नेभन्दा पनि गर्ने दिन नजिक आएको’ बताएका छन्। सोमबार बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू त्यो खुसीको दिनको प्रतीक्षामा रहेको बताएका हुन्।
लोकतन्त्रको उत्सवका रूपमा निर्वाचनलाई व्याख्या गर्दै उनले शान्तिपूर्ण ढंगले मतदानमा सहभागी भई परिणामलाई स्वीकार गर्न कार्यकर्ता तथा मतदातालाई आग्रह गरे । ‘आउँदो फागुन २१ गते जनताले जे भन्छन्, हामी त्यही स्वीकार गर्न तयार छौँ,’ उनले भने, ‘तर, जनताले रास्वपालाई बहुमत दिन्छन् र आगामी सरकार रास्वपाको बहुमतको सरकार बन्छ भन्ने हाम्रो विश्वास छ।’ सभापति लामिछानेले यसपटकको निर्वाचनलाई ‘मत क्रान्ति’को संज्ञा पनि दिए । उनले भने, ‘मतदान त धेरै गरियो, धेरै दलका धेरै नेता जिताइयो, पार्टी जिताइयो । अब जनता जिताउने दिन हो । यो इतिहास लेख्ने मौका हो, क्यालेन्डरमा गोलो लगाएर राख्ने दिन हो ।’
उनले फागुन २१ गतेको चुनावलाई ‘महाभारत’सँग तुलना गर्दै मतदातालाई स्पष्ट भएर कौरव र पाण्डवमध्ये एकलाई छनोट गर्न आह्वान गरे । ‘अहिलेको चुनाव एउटा महाभारत नै हो । तपाईं कौरव पक्ष कि पाण्डव पक्ष ? हामी को हौँ भनेर हामी भन्दैनौँ, त्यो तपाईंले नै भन्ने हो,’ उनले जनतालाई स्पष्ट हुन आह्वान गरे । सभापति रवि लामिछानेले रास्वपाको सरकार बनेपछि ०४६ सालपछिका सबै भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गरिने दाबी गरे । उनले नबिराएकालाई नडराउन आग्रह गर्दै बिराएकोलाई नछोड्ने चेतावनी दिए । ‘जसले बिराएको छैन, उसले डराउनुपर्दैन,’ उनले भने, ‘जसले बिराएको छ, त्यसलाई हामी छोड्दैनौँ । किनकि सुशासन हाम्रो पहिलो प्राथमिकता हो ।’
आगामी दिनमा शिक्षकहरूलाई राजनीतिक दलको भोट बैंक बन्न नदिने उनले स्पष्ट पारे । उनले रास्वपाको सरकार आएपछि संगठनको नाममा भोट बैंक बनाउने प्रवृत्तिको अन्त्य गरिने दाबी गरे । शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्ने बताउँदै उनले शिक्षानीति विद्यार्थीको हितमा बन्नुपर्नेमा जोड दिए । त्यो जिम्मेवारी रास्वपा सरकारले लिने उको भनाइ थियो ।
यस्तै उनले आफ्नो पार्टीको सरकार बनेपछि किसानलाई मल, बिउ र बजारको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाए । सम्बोधनका क्रममा सभापति लामिछानेले हेटौँडा सिमेन्ट उद्योगको सन्दर्भ उठाउँदै उद्योगहरूलाई राजनीतिक भर्ती केन्द्र बनाइँदा समस्या भएको दाबी गरे । ‘योग्य र क्षमतावान् नेतृत्व आए उद्योग नाफामा जान्छ र त्यो काम रास्वपा सरकारले गर्छ,’ उनले भने ।
मागेर धनी हुने सपना आफूहरूले नदेखेको दाबी गर्दै उनले गरेर खाने देश बनाउनका लागि सिंगो रास्वपा लागिपरेकाे बताए । यसका लागि उनले युवा, महिला र सीमान्तकृत समुदायको प्रतिनिधित्व बोकेको रास्वपाको चुनाव चिह्न घन्टीमा मतदान गर्न आग्रह पनि गरे । कार्यक्रममा रास्वपाका तर्फबाट समानुपातिक उम्मेदवार रमेश प्रसाईं, मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाश गौतम, २ का प्रशान्त गौतमलगायतले रास्वपालाई आगामी निर्वाचनबाट पहिलो पार्टी बनाउन मतदाताहरूसँग आग्रह गरेका थिए ।
सभापति लामिछाने आएकै दिन मकवानपुर सभापति पराजुलीले पार्टी छोडे
राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी नेतृत्वको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन् । चुनावी सभाका लागि पार्टीका केन्द्रीय सभापति रवि लामिछाने हेटौँडा आउने दिन सोमबार जिल्ला सभापति पराजुलीले केन्द्रीय नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले पार्टी मात्रै छोडेनन् उनी रास्वपा परित्याग गरेसँगै आफ्नो पुरानो पार्टी कांग्रेसमै फर्किएका छन् ।
पराजुलीले कांग्रेस सभापति गगन थापाले सर्लाही ४ मा भेटेर रास्वपा परित्याग गरेको र कांग्रेसमै फर्किएको बताएका थिए । सभापति पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर २ का चुनावी संयोजक नीराजन बर्तौला पनि कांग्रेस फर्किएका छन् । गत ०७९ को निर्वाचनमा रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका उनी १२ हजार ५९ मतसहित तेस्रो भएका थिए ।
रास्वपा परित्याग गरेका पराजुलीले वर्तमान नेतृत्वले रास्वपाले स्थापनाकालमा ल्याएको युवा राजनीतिमा र जान्नेलाई छान्ने, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता लत्याएको आरोप लगाएका छन् । ‘पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापनाकालीन मूल्यमान्यता भन्दा धेरै फरक भएको छ,’ उनले भने, ‘विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएपछि बाध्य भएर मैले पार्टी छोड्नुपरेको हो ।’
उनले संगठनमा समर्पित नेता–कार्यकर्ताको उचित मूल्यांकन नभएको, पार्टीमा विधि–विधानविपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएकाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न खडा गरेको पराजुलीको भनाइ छ । यस्तो परिस्थितिमा मौन रहन नसक्ने निष्कर्षसहित पार्टीको साधारण सदस्यबाट समेत अलग हुने निर्णय गरेको उनले बताए ।