राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा ५ का उम्मेदवार बालेन्द्र शाह बालेनले झापा ५ का सुकुमवासी तथा अव्यवस्थित बसोवासीको समस्या सरकार बनेको एक हजार दिनमा समाधान गर्ने वाचा गरेका छन् । रास्वपाको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बालेनले रास्वपाको सरकार बनेको एक सय दिनमा अधिकारसम्पन्न आयोग गठन गर्दै सुकुमवासी समस्या समाधान गर्ने वाचा गरेका हुन् ।
सोमबार जारी वाचापत्रमा भनिएको छ, ‘झापा ५ का भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग र १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकारसम्पन्न आयोगमार्फत समयसीमाभित्र कार्य सम्पन्न गरिनेछ ।’
झापा ५ मा सुकुमवासी समस्या ०४८ को निर्वाचनदेखि नै चुनावी मुद्दा बन्दै आएको छ । भूमि समस्या समाधान आयोग झापाका तथ्यांकअनुसार झापा ५ मात्र ११ हजार ५१२ घर भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीले जग्गाधनी प्रमाणपुर्जाका लागि निवेदन दिएका छन् । जसमा दमक नगरपालिकामा ५६० भूमिहीन दलित, दुई हजार ४७७ भूमिहीन सुकुमवासी, ३ हजार २८५ अव्यवस्थित बसोवासी गरी ६ हजार ३३२ घरले जग्गाधनी प्रमाणपुर्जाका लागि निवेदन दिएका छन् ।
यस्तै, गौरादह नगरपालिकामा ३३१ भूमिहीन दलित, एक हजार १२० भूमिहीन सुकुमवासी र एक हजार २१३ अव्यवस्थित बसोवासी गरी दुई हजार ५६४ जनाले निवेदन दिएको भूमि समस्या समाधान आयोग झापाको तथ्यांकमा उल्लेख छ । कमल गाउँपालिकामा ७८ भूमिहीन दलित, दुई हजार १९० भूमिहीन सुकुमवासी, २३१ अव्यवस्थित बसोवासी गरी ४९९ घरले जग्गाधनी प्रमाणपुर्जाका लागि निवेदन दिएका छन् भने गौरीगन्ज गाउँपालिकामा २३५ भूमिहीन दलित, एक हजार १४६ भूमिहीन सुकुमवासी, ७३६ अव्यवस्थित बसोवासी गरी दुई हजार २१ घरले जग्गाधनी प्रमाणपुर्जाका लागि निवेदन दिएको भूमि समस्या समाधान आयोगले जनाएको छ ।
यस्तै, बालेनको वाचापत्रमा विभिन्न कारणले अधुरा रहेका योजनालाई डेडलाइन समयमा सम्पन्न गर्ने उल्लेख गरिएको छ । दमकमा सरकारले डेढ अर्ब खर्च गरेर निर्माण गरे पनि सञ्चालनमा आउन नसकेको भ्युटावरलाई उच्चतम नागरिक उपगोगिता हुने गरी सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ । यस्तै, दमक– ९ मा ३० करोड लागतमा निर्माण भएर अलपत्र रहेको दमक सभागृह पनि सञ्चालनमा ल्याउने बालेनको वाचा छ । बालेनले विराट बुद्धपार्क निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने वाचा गरेका छन् । १७ अर्बको डिपिआर बनेको यो पार्क एक करोड खर्च गरेपछि एक दशक निर्माण अलपत्र छ ।
यस्तै, पश्चिम–दक्षिणी इलाम र पाँचथरको लाइफलाइन दमक–चिसापानी सडक सम्पन्न गरी सञ्चालनमा ल्याउने वाचा गरेका छन् । तीन दशकदेखि निर्माण थालिएको यो सडक अझै अलपत्र छ । बालेनले कमल– ५ मा अलपत्र रहेको अदिवासी रंगशालालाई आदिवासी जनजातिको सांस्कृतिक र इतिहास झल्कने आदिवासी रंगशाला निर्माण गर्ने वाचा गरेका छन् । यो रंगशाला नाम विवादका कारण डेढ दशकदेखि अलपत्र अवस्थामा छ ।
वाचापत्रका मुख्य बुँदा
० विराट बुद्ध पार्कको निर्माण गरी सञ्चालनमा ल्याउने
० दमक सभागृह र भ्यूटावरलगायतका योजना नागरिक उपयोगिता हुने गरी सञ्चालनमा ल्याउने
० रतुवा खोला, मावा खोला तथा सहायक सोला, सहरेको तटबन्ध निर्माण गरी कटान र डुबान नियन्त्रण गर्ने
०. दमकलाई पूर्वी नेपालको ‘आइटी हब’ को रूपमा विकास गर्न आवश्यक पूर्वाधार र नीतिगत व्यवस्था सुनिश्चित गर्ने
०. कन्काई–रतुवा सिँचाइ योजना विस्तार तथा लिफ्ट
सिँचाइ प्रविधि प्रयोग गरी कृषियोग्य जमिनको उपयोगिता बढाउने
०. प्रत्येक पालिकामा श्रम बैंक अवधारणा लागू गरिने
० गौरादह कृषि क्याम्पसलाई कृषि अनुसन्धान हवका रूपमा विकास गर्ने
० गौरीगञ्ज भन्सारलाई व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गरिने
० दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयाको अस्पतालका रूपमा स्तरोन्नति गरिने
०. झापा–५ को अर्थतन्त्र, पर्यटन र खेलकुद क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने