निर्वाचन नजिकिँदै जाँदा चितवन पुनः राष्ट्रिय राजनीतिको ‘हटस्पट’ बनेको छ । ०७९ मा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, भरतपुर महानगरपालिकाको मेयरबाट राजीनामा दिएर उम्मेदवार बनेकी नेकपाकी रेनु दाहाल, समाजसेवी एवं कांग्रेस उम्मेदवार मीना खरेल, रास्वपाकी सोविता गौतमलगायतका कारण चितवनको निर्वाचन चर्चाको विषय बनेको हो ।
तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा नयाँ दल रास्वपाले यसअघिको निर्वाचनमा १ र २ गरी दुईवटा क्षेत्र जितेको थियो । उसले यसपटक चितवनमा क्लिन स्विप गर्ने दाबी गर्दै आएको छ । रास्वपाले तीनवटै क्षेत्रमा जित निकाल्ने दाबी गरेपछि अन्य दलले यसपटकको निर्वाचनलाई प्रतिष्ठाको लडाइँका रूपमा लिएका छन् ।
रविविरुद्ध भिड्दै कांग्रेसकी मीना
चितवनमा रास्वपा आफ्नो प्रभाव जोगाउने रणनीतिमा छ । कांग्रेस र एमाले गुमेको आधार क्षेत्र फर्काउने प्रयासमा छन् । यसपटक चितवन २ लाई सबैभन्दा बढी चासोको साथ हेरिएको छ । यो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २३ उम्मेदवार भए पनि रास्वपाका लामिछाने, कांग्रेसकी खरेल, एमालेका अस्मिन घिमिरे र नेकपाका प्रताप गुरुङलाई नै मुख्य प्रतिस्पर्धीको रूपमा हेरिएको छ ।
रास्वपा सभापति लामिछाने अघिल्ला दुई निर्वाचनमा विजयी भएको यही क्षेत्रबाट पुनः मैदानमा छन् । नागरिकतासम्बन्धी विवादका कारण पद गुमाएपछि उपनिर्वाचनमार्फत पुनः निर्वाचित भएका लामिछाने यसपटक ‘सुशासन र विधिको शासन’लाई मुख्य एजेन्डा बनाउँदै मतदातामाझ पुगिरहेका छन् ।लामिछानेले चितवन २ लाई नीलो क्रान्तिको उद्गमस्थलको संज्ञा दिँदै यहीँबाट घन्टी अभियान देशव्यापी भएको र आमूल राजनीतिक परिवर्तनको शंखघोष गरेको बताएका छन् । हालै चितवनका विभिन्न स्थानमा चुनावी कार्यक्रममा सहभागी हुँदै लामिछानेले यसपटकको चुनाव व्यक्ति बदल्ने मात्र नभई प्रणाली सुधारको पक्षमा हुने दाबी पनि गरेका छन् ।
चितवन २ मा कांग्रेसले सामाजिक अभियन्ता मीनाकुमारी खरेललाई उम्मेदवार बनाएको छ । महिला तथा बालअधिकार क्षेत्रमा सक्रिय खरेललाई कांग्रेसले ‘स्वच्छ छवि र सामाजिक आधार’का रूपमा प्रस्तुत गरेको छ । कांग्रेस नेताहरूका अनुसार अघिल्लोपटक विभाजित मत यसपटक एकीकृत हुने उनीहरूको अपेक्षा छ ।
एमालेले ४० वर्षमुनिका युवा नेता अस्मिन घिमिरेलाई अघि सारेको छ । जेन–जी आन्दोलनको भावना बुझ्ने युवा पुस्ताको प्रतिनिधित्वको रूपमा आफू चुनावी मैदानमा रहेको उनले बताए । यस क्षेत्रमा नेकपाका प्रताप गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका जगदीश्वर अधिकारी पनि चुनावी प्रतिस्पर्धामा छन् ।
०७९ को निर्वाचनमा ४९ हजार २६१ मतसहित विजयी भएका लामिछानेले ०८० वैशाखमा सम्पन्न उपनिर्वाचनमा मतान्तर झनै बढाउँदै ५४ हजार १७६ मत पाएका थिए । ०७९ को निर्वाचनमा कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गर्दा ०८० को उपनिर्वाचनमा कांग्रेसकै जितनारायण श्रेष्ठ ११ हजार २१४ मतमा सीमित भएका थिए । एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका थिए ।
चितवन ३ मा रेनु र सोविताबिच कडा प्रतिस्पर्धा
चितवन ३ पनि यसपटक चर्चामा छ । यहाँको चुनावी प्रतिस्पर्धा अझ रोचक देखिने अनुमान गरिएको छ । यस क्षेत्रमा ६ स्वतन्त्रसहित १८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली कम्युनिस्ट पार्टीले भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई उम्मेदवार बनाएको छ । रास्वपाले अघिल्लो निर्वाचनमा काठमाडौं २ विजयी रास्वपाकी सोविता गौतमलाई प्रतिस्पर्धामा उतारेको छ । स्थानीय विकास र महानगर नेतृत्वको अनुभवलाई आधार बनाएर रेनुले आफूलाई मत मागिरहेकी छिन् । ‘युवा र शिक्षित अनुहार’का रूपमा सोविता चितवन ३ का मतदातामाझ प्रस्तुत भइरहेकी छिन् । स्थानीय राजनीतिक वृत्तमा दाहाल र गौतमबीचको प्रतिस्पर्धालाई ‘अनुभवविरुद्ध नयाँ पुस्ता’को भिडन्तका रूपमा व्याख्या गर्न थालिएको छ ।
यो क्षेत्रमा कांग्रेसबाट टेकप्रसाद गुरुङ र एमालेबाट शंकरराज थपलिया मैदानमा छन् । अघिल्लो निर्वाचनमा विजयी राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डे अन्तिम समयमा उम्मेदवार नबनेपछि राप्रपाले दीपक थापामगरलाई अवसर दिएको हो । ०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे विजयी भएका थिए । उनले ३४ हजार ३६२ मत ल्याउँदा तत्कालीन माओवादीका उम्मेदवार भोजराज अधिकारीले २४ हजार ६७१ र रास्वपाकी उम्मेदवार जिता बरालले १४ हजार ७७९ मत मात्रै पाएकी थिइन् ।
चितवन १ मा ढकाललाई कांग्रेस र एमालेको चुनौती
चितवन १ मा भने अन्य दुई निर्वाचन क्षेत्रको जस्तो चर्चा छैन । रास्वपाले ०७९ को निर्वाचनमा विजयी हरि ढकाललाई दोहो¥याएको छ । यो क्षेत्रमा कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटी, एमालेका दावा दोर्जे लामा, नेकपाका कृष्णराज पन्त र राप्रपाका बलराम शर्मा खनाल प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा तीनजना स्वतन्त्रसहित नौ उम्मेदवार रहे पनि प्रमुख दलहरूलाई नै मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ । अघिल्लो निर्वाचनमा रास्वपाका ढकालले एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरेका थिए ।
०७० को संविधानसभा निर्वाचन र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित पाण्डे ०७९ को चुनावमा भने ढकालसँग हारेका थिए । यो क्षेत्रमा तामाङ समुदायको उम्मेदवार उठाएर एमालेले जातीय मतका आधारमा जित निकाल्ने रणनीति बनाएको देखिन्छ ।कांग्रेसले यसपटक चितवन १ मा बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ । बुर्लाकोटी पुराना नेता हुन् । ०७० र ०७४ का निर्वाचनमा एमाले नेता पाण्डेसँग पराजित उनी ०७९ को निर्वाचनमा भने उम्मेदवार बनेका थिएनन् । बुर्लाकोटी यसपटक कांग्रेस पुनर्गठित भएकाले जित्ने आशामा छन् ।
चितवन १ बाट नेकपाले नयाँ उम्मेदवार कृष्णराज पन्तलाई चुनावी मैदानमा उतारेको छ । अर्थविद् पन्त यस क्षेत्रमा परिचित अनुहार हुन् । शिक्षित र युवा भएकै कारण प्रभाव जमाउन सक्ने विश्वासमा नेकपाले उनलाई उम्मेदवार बनाएको हो । रास्वपालाई काउन्टर दिन ठुला दलहरूले रणनीतिक उम्मेदवार मैदानमा पठाउँदा रास्वपाले पुरानैलाई दोहोर्याएको छ ।
जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार यसपटक २० हजार ६९० मतदाता थपिएका छन् । यहाँ कुल मतदाताको संख्या चार लाख ४२ हजार ८२ पुगेको छ । युवा मतदाताको संख्या बढेकाले चुनावी परिणाममा नयाँ पुस्ताको प्रभाव निर्णायक हुन सक्ने आकलन गरिएको छ । चितवनको निर्वाचनलाई यसपटक ‘प्रतिष्ठाको लडाइँ’का रूपमा पनि हेरिएको छ । ०७९ मा स्थापित नयाँ शक्ति रास्वपालाई आफ्नो प्रभाव कायम राख्नुपर्ने दबाब छ । कांग्रेस र एमाले भने संगठनात्मक शक्ति र पुरानो आधार पुनस्र्थापित गर्ने रणनीतिमा छन् ।
सुशासन र समृद्धिको बाटोमा लैजाने शक्तिका रूपमा चितवनमा जित्दै छौँ
विशाल कोइराला, सचिव, रास्वपा चितवन
अहिले हामी पार्टीका सभापतिसहित तीनवटै निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त छौँ । हामी पुगेको स्थानमा आममतदातामा निकै ठुलो उत्साह र उमंग देखिएको छ । ०७९ को निर्वाचनको तुलनामा यसपटक अझ फराकिलो मतान्तरले विजयी हुने संकेत देखिएका छन् । यसपटक रास्वपाले चितवनमा क्लिन स्विप गर्दै छ । जेन–जी आन्दोलनपछि परम्परागत राजनीतिक दलहरूको माझमा रास्वपालाई मतदाताले वैकल्पिक शक्तिका रूपमा स्वीकार गर्नुभएको छ । अहिलेसम्म अवसर नपाएको र केही गरेर देखाउन सक्ने नयाँ दलको रूपमा जनताले हामीलाई हेरेका छन् । र, यो व्यवस्थाभित्र रहेर देशलाई सुशासन र समृद्धिको बाटोमा लैजान सक्ने एक मात्र शक्ति रास्वपा हो भन्ने जनविश्वास छ ।
राष्ट्रियताको रक्षा गर्ने र देशलाई संकटबाट जोगाउने हाम्रो मुख्य एजेन्डा
कमल पाठक, अध्यक्ष, एमाले चितवन
एमाले संसदीय व्यवस्थामा लामो समयदेखि सक्रिय पार्टी हो । ०८४ मा हुनुपर्ने चुनाव विशिष्ट राजनीतिक परिस्थितिका कारण ०८२ मै सारिएको छ । यसको पछाडि केही रहस्य र षड्यन्त्र छ भन्ने हाम्रो बुझाइ छ । नयाँ शक्तिहरूलाई अगाडि ल्याएर राष्ट्रिय राजनीतिमा फरक खालको प्रभाव पार्न खोजिँदै छ । विकासको नाममा राष्ट्रियता र सार्वभौमसत्तालाई नै जोखिममा पार्ने गरी केही शक्ति सक्रिय छन् । एमालेले यसबारे जनतालाई सचेत गराइरहेको छ । गत निर्वाचनमा हामीले तीनवटै क्षेत्र गुमायौँ, तर अहिले परिस्थिति फेरिएको छ । हामी चितवनका तीनवटै निर्वाचन क्षेत्रमा एमालेको वर्चस्व फिर्ता गर्ने योजनाका साथ अगाडि बढेका छौँ । जनतालाई सत्य कुरा बुझाउने, राष्ट्रियताको रक्षा गर्ने र देशलाई संकटबाट जोगाउने हाम्रो मुख्य एजेन्डा हो ।
बदलिएको कांग्रेस र परिपक्व उम्मेदवारका कारण चितवनमा जित्छौँ
जितनारायण श्रेष्ठ, केन्द्रीय सदस्य, कांग्रेस
विगतमा गठबन्धनका कारण कांग्रेस मारमा परेका जिल्लामध्ये एउटा चितवन पनि हो । कसैसँग गठबन्धन गर्नुहुँदैन भनेर १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसीहरूले रुख चिह्नमै मतदान गर्ने गरी चुनावी मैदानमा छौँ । विशेष महाधिवेशनपछि ‘कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ’ भनेर आएका छौँ । ३ नम्बर क्षेत्रमा कांग्रेसीहरूले १२ वर्षपछि रुखमा मतदान गर्दै छन् । चितवनमा कांग्रेसले उठाएका उम्मेदवारहरू परिपक्व हुनुहुन्छ । चितवनको ढुंगामाटोले समेत चिनेको, सदैव जनताको सुख–दुःखमा साथ दिएको राजनीतिको अलावा सामाजिक काममा लागेर समाजमा विशेष स्थान बनाएका उम्मेदवारहरू हामीले अघि सारेका छौँ । चितवनका तीनवटै निर्वाचन क्षेत्र जित्छौँ भने विश्वाससहित अघि बढेका छौँ ।
भरतपुरमा भएको विकास,समृद्धिको मोडेल नै हाम्रो जित्ने आधार
रामचन्द्र अधिकारी, अध्यक्ष, नेकपा चितवन
हामीले चितवनका तीनवटै क्षेत्रमा चुनावी अभियानको पहिलो चरण, जनभेटघाट र आन्तरिक पार्टी कमिटीका बैठक सम्पन्न गरिसकेका छौँ । चितवन ३ हाम्रो सबैभन्दा बलियो क्षेत्र हो । नौ वर्षदेखि हाम्रो नेतृत्वमा भरतपुर महानगरपालिकामा भएको विकास, समृद्धि, सामाजिक न्याय र सुशासनको मोडेललाई जनताले रुचाएका छन् । रेनु दाहालको नेतृत्वमा भएको कामको चर्चा अहिले विश्वभर भइरहेको छ । यो हाम्रो मुख्य सम्पत्ति हो । सोही मोडेललाई हामी १ र २ नम्बर क्षेत्रमा पनि लैजाँदै छौँ । १ नम्बर क्षेत्रका उम्मेदवार अर्थशास्त्रमा पिएचडी गर्नुभएको विज्ञ हुनुहुन्छ । २ का उम्मेदवार लामो समयदेखि सामाजिक काममा सक्रिय, स्थानीय र इमानदार हुनुहुन्छ ।